PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकप छनोटको खेल खेल्न नेपाली टोली कुवेतमा : अरु देशको तुलनामा नेपाली टोली कति बलियो? यस्तो छ मिश्रको विश्लेषण



मुकुन्द घिमिरे

विश्वकप छनोटको खेल खेल्न नेपाली टोली कुवेतमा : अरु देशको तुलनामा नेपाली टोली कति बलियो? यस्तो छ मिश्रको विश्लेषण

विश्वकप क्वालिफायर्स अन्तर्गतका खेलहरु खेल्न नेपाली टोली कुवेतमा पुगेको छ। कुवेत पुग्नुअघि नेपालले शनिवार एसियाको बलिया टिममध्येको इराकसँग प्रतिस्पर्धा गर्‍यो। उक्त मैत्रीपूर्ण खेलमा नेपालले ६-२ गोलअन्तरको फराकिलो हार त ब्यहोर्‍यो तर पाठ पनि त्यतिकै सिक्ने अवसर मिल्यो।

इराकविरुद्धको खेलमा गोल गरेका मनिष डाँगीको शब्दमा भन्ने हो भने: रिजल्ट राम्रो नभए पनि धेरै कुरा सिक्न पाएजस्तो भयो। यो एउटा राम्रो अनुभव भएको छ।

अब नेपाललाई विश्वकप क्वालिफायर्सको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ। यद्यपि यी खेलहरुमा नेपालको प्रदर्शनलाई लिएर इराकसँगको खेलबाट केही अनुमानहरु भने पक्कै लगाउन सकिन्छ। इराकसँगको मैत्रीपूर्ण खेल यस अर्थमा पनि महत्वपूर्ण थियो कि यो प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिमा खेलिएको पहिलो खेल हो। जसमा भलै नेपालले हार ब्यहोर्‍यो तर वाहीवाही पनि त्यतिकै पायो।

छोटो समयमा टिम फर्मेसन गरेर फरक वातावरण भएको ठाउँमा गएर बलियो घरेलु टोलीलाई चुनौती दिनु सहज पक्कै थिएन। त्यसैले त प्रशिक्षक अलमुताइरीले इराकसँगको खेलपछि भने: मात्र ११/१२ दिनको अभ्यास पछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ।

हुन पनि यति छोटो समयमै प्रशिक्षकमाथि जजमेन्ट गर्नु हतारो नै हुन्छ। अझ उनले त खेलाडीलाई राम्रो मोटिभेसन दिइरहेको छन्, भिजनमा स्पस्ट छन्, त्यसैले त फुटबल फ्यानको नजरमा प्रिय बनेका छन्।

प्रशिक्षक अलमुताइरीले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता जोड दिँदै आएको एउटा पक्ष पक्ष हो अट्याकिङ फुटबल खेल्ने। हुन पनि डिफेन्सिभ फुटबल खेलेर जित आफ्नो पक्षमा आउँदैन। जुन कुरा विश्वकप छनोट अन्तर्गतका यसअघिका खेलहरुले पनि देखाइसकेका छन्। चाइनिज ताइपेइमाथि दुई गोलअन्तरले जित्नुबाहेक अन्य टिमसँग नेपालले गोल फर्काउन सकेन। भलै ठूलो गोलअन्तरले पराजय ब्यहोर्‍यो। यसको अझ ताजा उदाहरण हो थ्री नेसन्स कप। नेपालमै चैत महिनामा सम्पन्न थ्री नेसन्स कपमै पनि नेपालले गोल गर्न फाइनल सम्म कुर्नुपर्‍यो। उस्तै अवस्था बंगलादेश र कीर्गिस्तानको पनि रहेको थियो। त्यसैले त त्यतिबेला बंगलादेशका प्रशिक्षक जेमी डेले यो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्दै भने: अट्याकिङको समस्या नेपाल र बंगलादेश मात्र होइन दक्षिण एसियाकै हो।

यसैबीच विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले इराकविरुद्ध दुई गोल फर्कायो। २-१ ले खेलको कुनै बेला नेपालले अग्रता बनाएको अवस्थासमेत बनेको थियो। यद्यपि त्यो अवस्थालाई लामो समय जोगाउन भने सकेन। नेपालको खेल पुरै फेरिएको भनेर चर्चा पनि धेरै भयो। यद्यपि फुटबल विश्लेषक सञ्जिब मिश्र त्यसलाई स्वीकार्न चाहँदैनन्।

‘गेम त खासै फरक होइन। फर्मेसन पनि आफूभन्दा धेरै बलियो टीमसँग खेल्दा पुरै म्याच डिफेन्ड गर्नुपर्छ भने खास फर्मेसनको अर्थ रहँदैन।’ विश्लेषक मिश्रले भने, ‘फर्मेसन भन्दा पनि नयाँ प्रशिक्षकले प्लेयरलगायत नेपाललाई नै फुटबलमा जागरुक गर्ने एउटा मोटिभेट गर्ने काम चाहीँ छोटो समयमै गरेको छ। त्यो उत्साहले पनि खेलाडीले पोजेटिभ्ली खेलेको छ।’

यद्यपि अहिले चर्चा भएजस्तो युवा र नयाँ अनुहारहरुले मौका अवसर पाएको भन्ने कुरामा भने मिश्रले सहमत छैनन्।  

विश्लेषक मिश्र‘कोचले भनिरहेको छन् मैले युवा खेलाडीहरुलाई मौका दिएको छू भनेर त्यो चाहीँ होइन मैले देखेको चाहीँ,’ उनी भन्छन्, ‘यी त सबै पुरानै खेलाडी हुन् नि। डेभ्यु त ६ जना नयाँ राखेको खेलाडीमा विशाल सुनार यू १९ खेलेर आइसकेको खेलाडी हो। मनिष डाँगीले पनि उमेर समूहमा खेलिसकेको हो। कमल थापा पनि विमल घर्ती मगर र अन्जन विष्टकै ब्याचको मिडफिल्डर हो। नदेखिरहेकोमात्र हो। अब गौतम श्रेष्ठ जाउलाखेलबाट अघिल्लो वर्ष राम्रै खेलेको खेलाडी हो। नयाँ भनेको आयुस घलान हो। उसले बी मा खुमलटारबाट राम्रै खेलेको खेलाडी हो। अरु त कालिनको लाइनअप भन्दा फरक छैन। अब सन्तोष तामाङलगायतका खेलाडी त राष्ट्रिय टिममा आउने जाने भइरहेकै हो। पुजन पनि राष्ट्रिय टोलीमा आइसकेको खेलाडी हो। एरिक विष्ट बालगोपालकै पालामा आईसकेको हो। यसो हुँदा युवा टोली नै भन्ने चाहीँ होइन।’

अहिले टिममा मोटिभेट गर्नमा अलमुताइरीको योगदान महत्वपूर्ण रहेको उनले देखेका छन्।

‘अलमुताइरीले वान टिम वान नेपाल भनेर खेलाडीलगायत सारा फुटबल प्रेमीलाई जागरुक बनाएर मोटिभेट गरेर प्लेयरलाई थप उर्जा दिएको चाहिँ पक्कै हो,’ उनले भने, ‘हिजोको खेलमा मैले देखेको दबावै भए पनि दुई गोल फर्काएर जुन अग्रता लियो नि त्यो नेपाली फुटबलका लागि सबैभन्दा ठूलो उपलब्धि म त्यो ठान्छु। इराकजस्तो देशलाई आफू एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गरेर अग्रता लियो त्यो नेपाली फुटबलका लागि ठूलो कुरा हो। तर नेपाली टोलीले त्यसलाई होल्ड गर्न या सम्हालेर राख्न सकेन। तीन हुने अवस्था पनि आएको थियो। तीन भएको भए सायद हामी हार्दैन थियौं होला।’

त्यस्तै इराकसँगको खेलमा देखिएको अर्को कमजोरी हो डिफेन्सलाइनमा। डिफेन्स र गोलकिपरबीच समझदारी नहुँदा नेपालले यसको मूल्य चुकाउनु परेको थियो। डिफेन्सको सन्दर्भमा नेपाली २३ सदस्यीय टोलीमै डिफेन्डरको कमी महसुस गरेका रहेछन् उनले।

‘अहिले गएको टोलीमा डिफेन्सको कमी भएको चाहीँ देखिन्छ। यहाँबाट लैजाँदा रोहित मिडफिल्ड भनेको थियो त्यहाँ सेन्टरब्याक खेलाउनु परेको छ,’ उनले थपे।

विश्वकप छनोटको कुरा

नेपालले अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्दैछ कुवेतमा। र, नेपालको पहिलो प्रतिद्वन्द्वी हो चाइनिज ताइपेइ। यसअघि उसैको घरेलु मैदानमा हराएको नेपालले यसपटक जितको लक्ष्य पक्कै राखेको छ। विश्लेषक मिश्र इराकसँग जतिको पेश कायम राख्ने हो भने ताइपेइमाथि जित निकाल्न सकिने विश्लेषण गर्छन्।

‘अब चाइनिज ताइपेइसँग त डू अर डाइको म्याच छ पोइन्ट कलेक्ट गर्नका लागि। इराकसँगको मैत्रीपूर्ण खेल थियो। फ्रेन्डलीमा सब्सिच्युड लगायतको जुन सुविधाहरु पाइरहेको हुन्छ क्वालिफायर्समा त्यो हुँदैन,’ उनी भन्छन्, ‘हाम्रो टीमको मुख्य समस्या भनेको म्याच कन्सिस्टेन्सी नहुने हो। हामी ठूलो टीमसँग खेल्दा जहिल्यै दबावमा खेल्ने गर्थ्यौं हिजोको खेलमा हामीले केही हदसम्म खुलेर खेल्न खोजेका थियौं। डिफेन्सिभ खेले पनि अपोनेन्ट पोलमा पेस खेलेको थियौं। राम्रो पासहरु निकाल्ने प्रयास भएको थियो।’

उनको तात्पर्य हो : नेपालले यसरी नै पोजेटिभ भएर खेल्नुपर्ने हुन्छ चाइनिज ताइपेइसँग। अझ यो भन्दा बढी खुलेर खेल्नुपर्छ। आफ्नो गेम खेल्नुपर्छ। जित्ने गरी क्रिएटीभ खेल्नुपर्छ।

‘इराकसँगको जस्तो पेसमा खेल्ने हो भने पनि ताइपेइलाई जित्छौं जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हिजोको जस्तो गल्तीहरु चाही करेक्सन हुनुपर्छ। नहुनुपर्ने डिफेन्सिभ एररहरु भएको छ। त्यसको कारण विपक्षीले गोल गरेको छ। त्यस्तो गल्तीहरु चाहीँ हुन दिनुहुँदैन।’

नेपालले गृहमैदानमा खेल्नुपर्ने खेलहरु न्युट्रल मैदानमा खेल्नु परिरहेको छ। जसको कारण हो कोरोना महामारी। कोभिड बढेपछि एएफसीले विश्वकप क्वालिफायर्सका खेलहरु न्युट्रल भेन्युमा खेलाउने निर्णय गरेपछि घरेलु मैदानमा खेल्ने अवसरबाट नेपाल बन्चित हुनुपर्यो। यसको ठूलो मारमा नेपाल परेको छ। किनभने कुवेतको वातावरण नेपालको वातावरणसँग मेल खाँदैन। अझ भनौ वातावरणको हिसाबले खाडीको न्युट्रल भेन्युमा नेपाल, अस्ट्रेलिया र चाइनिज ताइपेइलाई कठिन हुनेछ भने लगभग उस्तै वातावरण भएको जोर्डनले भने यसको फाइदा उठाउन सक्नेछ।

‘भेन्युको हिसाबले कुवेतमा खेल्नु नेपाल, अस्ट्रेलिया र चाइनिज ताइपेइको लागि एउटै हो। जोर्डनलाई यसमा अलि फाइदाचाहिँ हुन्छ,’ मिश्रले भने, ‘अरबको देशलाई त्यहाँ खेल्दा अलि फाइदा हुन्छ। यहाँ खेल्न पाइएको भए हामीलाई फाइदा हुन्थ्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell