PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : मतदान शुरु, भर्चुअल माध्यमबाट आजै परिणाम सार्वजनिक हुने



पूजा पन्थी

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : मतदान शुरु, भर्चुअल माध्यमबाट आजै परिणाम सार्वजनिक हुने

बुटवल :लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान शुरु भएको छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो। मतदान ३ बजेसम्म जारी रहनेछ।

मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए।    
    
निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको भट्टराईले बताए।    
    
उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन्।     

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ। 
    
उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन्। आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो।    
    
यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो। निर्वाचन आयोगले आइतबार साँझ जसपाका यादव–भट्टराई समूहले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान गर्ने अधिकार दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।    
    
उनका अनुसार केन्द्रीय निर्वाचन आयोगले जसपाबाट मन्त्री बनेका चार सदस्यलाई पनि पूरक मतदाताको अधिकार दिएको हो। यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको नाम थिएन।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell