इथियोपियाको राजधानी अदिस अबाबामा अमेरिका विरोधी प्रदर्शन भएको छ। उक्त र्यालीमा दश हजार भन्दा बढी मानिसको सहभागिता रहेको बीबीसीमा जनाइएको छ। त्यहाँको उत्तरी क्षेत्रको टिग्रेमा भएको द्वन्द्वलाई लिएर राष्ट्रपति जो बाइडेनको नीतिको निन्दा गर्न उक्त प्रदर्शन भइरहेको हो।
बाइडेनले सात महिना लामो युद्ध विरामको लागि आह्वान गरेका थिए।
जुलुसमा मानिसहरूले अमेरिकाको आलोचना गर्दै नारा लगाए, प्लेकार्ड बोके। रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र चीनका राष्ट्रपति सी जिनपिंगको पक्षमा नारा लगाए।
इथियोपियाली सरकार टिग्रेको द्वन्द्वका कारण दवाबमा आएको छ। किनकि युद्धका कारण हजारौं मानिस मारिएका छन् भने २० लाख मानिस बिस्थापित भएका छन्।
गत नोभेम्बरमा इथोपियाका प्रधानमन्त्री अबी अहमदले संघीय सेनाका आधारहरू ओगटे। लगत्तै टिग्रेको पूर्व सत्तारुढ दल टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) माथि आक्रमण गर्ने आदेश दिँदा द्वन्द्व सुरु भएको हो।
अबीले त्यसको एक महिना पछि टिग्रेको राजधानी मेकेलले कब्जा गरेपछि द्वन्द्व अन्त्यको घोषणा गरे। तर, इथियोपियाली सेना र छिमेकी इरिट्रियाबाट आएका व्यक्तिहरू अझै टीपीएलएफविरुद्ध लडिरहेका छन्।
मानवअधिकारवादी समूहले द्वन्द्वका दुबै पक्षलाई सामूहिक हत्या र बलात्कार लगायतका नागरिकविरुद्ध अपराधको आरोप लगाएको छ।
गत साता बाइडेनले टाइग्रेमा जारी ‘व्यापक हिंसा’ लगायत ‘बृहत् मानवअधिकार उल्लङ्घन’को अन्त्यको माग गरे। उनले त्यहाँ अनिकालको सम्भावना रहेको चेतावनी दिएका थिए। त्यसैले उनीविरुद्ध प्रदर्शन भएको हो।
