भियतनामले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एउटा शहरको शत प्रतिशत मानिसमा संक्रमण परीक्षण गर्ने भएको छ। त्यहाँको सरकारले हो चि मिह शहरका सबैको परीक्षणसँगै सामाजिक दूरीको नयाँ नीतिसमेत सार्वजनिक गरेको छ।
उक्त शहरमा एक सय २५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका १ करोड ३० लाख मानिस छन्। चार महिना लगातार दैनिक एक लाख मानिसमा परीक्षण गर्ने लक्ष्य राखेको बीबीसीमा उल्लेख छ।
भियतनाम संक्रमण नियन्त्रणमा सफल देखिएपनि केही साता यता त्यहाँ संक्रमणदर बढ्दो छ। यसै साता नयाँ र थप संक्रामक भेरियन्टको कोरोना भाइरस देखिएको जनाइएको थियो। भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरससँग मिल्दो छ जुन हावाबाट सहजै फैलन सक्ने चेतावनी दिइएको छ।
भियतनाममा ७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४७ जना संक्रमितको निधन भइसकेको छ।
