PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

केसी र श्रेष्ठले छाड्न मानेनन् संवैधानिक इजलास, थप छलफलका लागि सर्वोच्चका १२ न्यायाधीशको बैठक



पहिलोपोस्ट

केसी र श्रेष्ठले छाड्न मानेनन् संवैधानिक इजलास, थप छलफलका लागि सर्वोच्चका १२ न्यायाधीशको बैठक

काठमाडौं : सर्वोच्च अदालतका १२ जना न्यायाधीहरुको आज बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र वमबहादुर श्रेष्ठमाथि उठेको प्रश्नका बारेमा परामर्श बैठक बस्न लागेको हो।

आइतवार संवैधानिक इजलासमा १४६ जना सांसद निवेदक रहेको रिटमा बहस गर्न आएका वरिष्ठ अधिवक्ताहरुले नेकपा विभाजनको फैसला गरेका श्रेष्ठ र पुनरावलोकन अस्वीकार तथा पहिलो विघटन मुद्दा हेरिसकेका केसीको स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न माग गरेका थिए।

यसबारे निर्णय लिन आज इजलास स्थगित गरिएको छ। प्रश्न उठेपछि नैतिकताका आधारमा इजलास छोड्नुपर्ने आवाज उठेका बेला न्यायाधीशद्वय केसी र श्रेष्ठले बेन्च छोड्न अस्वीकार गरेपछि संवैधानिक इजलासको रोस्टरमा भएका १३ मध्ये (एक जना पुरुषोत्तम भण्डारी सेवानिवृत्त) १२ जना न्यायाधीशको परामर्श बैठक बस्न लागेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।

कोभिड महामारीबिच सेवा कटौतीका कारण घरमै रहेका न्यायाधीशहरु अदालतमा उपस्थित भएर बैठक गर्ने कि भर्चुअल विधिबाट गर्नेभन्ने टुंगो लागेको छैन। परामर्श बैठकपछि न्यायाधीशद्वय केसी र श्रेष्ठबारे धारणा दिने र त्यसैका आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आवश्यक निर्णय लिने बुझिएको छ।

सबै न्यायाधीश एकजुट भएर आए त्यो निर्णय प्रधानन्यायाधीशले कार्यान्वयन गर्नुपर्ने अवस्था आउने अधिवक्ताहरु बताउँछन्।

बेलुकासम्म परामर्श हुने र त्यहीँबाट मार्गप्रशस्त हुने स्रोतको भनाइ छ। प्रश्न उठेका न्यायाधीशले भने 'हामीले किन छोड्ने' भनेर जिकिर गरिरहेका छन्।

‘भोलि बेन्चभन्दा अगाडि केही न केही निकास आउँछ। उहाँहरुले आफै नबस्ने घोषणा पनि गर्न सक्नुहुन्छ वा सम्माननीयज्यूले सिधै पेशी तोकेर परिवर्तन गरेको वा यसैलाई निरन्तरता दिएको सूचना आउन सक्छ,’ स्रोतले भन्यो।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा परेको ३० वटा रिटमा सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ राखेर संवैधानिक इजलास गठन गरेका थिए। सुरुमा श्रेष्ठमाथि मात्रै प्रश्न उठेको थियो। पछि केसी र प्रधानन्यायाधीश राणामाथि प्रश्न उठ्यो। जबराकै नेतृत्वमा इजलास भएकाले केसीले पनि हट्नुपर्ने माग इजलासमा उठ्यो। प्रधानन्यायाधीश जबरालाई पनि विदामा बस्न वरिष्ठ अधिवक्ताहरुले सुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell