PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रि-बजेट छलफल सकिएसँगै वाग्मती प्रदेश सभाको बैठक स्थगित



पहिलोपोस्ट

प्रि-बजेट छलफल सकिएसँगै वाग्मती प्रदेश सभाको बैठक स्थगित

हेटौँडा : वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि-बजेटको छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले प्रदेशसभाको बैठक स्थगित गरेकी हुन्।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात प्रि-बजेट प्रदेशसभामा पेश गरेका थिए।

महामारीको नियन्त्रणका लागि गरिएको निषेधज्ञाबाट प्रदेशका नागरिकहरुमा परेको असहज परिस्थितिप्रति प्रदेश सरकार सचेत रहेको र असहज परिस्थिको छिट्टै अन्त्य गर्न निरन्तर लागिरहेको उनले बताए। स्वास्थ्य शिक्षा वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गर्ने दिशातर्फ बजेट तथा कार्यक्रम लक्षित गरी विकासको अवधारणालाई बहुआयमिक बनाउने आगामी वर्षको बजेट निर्देशित हुने उनले बताए।

प्रदेश तथा समग्र मुलुकको मानव विकास रोजगारी सिर्जनालाई टेवा पुग्ने गरी प्रदेश भित्र उत्पादन साधन स्रोतको परिचालनमार्फत ग्रामीण अर्थ व्यवस्थालाई मजबुत बनाई आत्मनिर्भर वृद्धि गर्दै दिगो विकासलाई जोड दिने उनको भनाइ थियो।

‘कृषि व्यापार उद्योग पर्यटन लगायत तत्कालै रोजगार निर्माण हुनेगरि बजेट निर्माण गरिने छ,’ मन्त्री ढुंगेलले भने।

प्रदेश सरकारको शासकीय प्रणालीलाई नागरिकको चाहनाअनुसार दिगो विकास हासिल गर्ने रुपान्तरणकारी कार्यक्रम सञ्चालन गर्ने, शैक्षिक क्षेत्रको विकास र आधुनिकीकरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने, विदेश पलायनलाई रोक्न स्वरोजगारका कार्यक्रम ल्याउने, स्थानीय स्रोत साधनको प्रयोगबाट ग्रामीणस्तरको आर्थिक अवस्था सुधार्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए।

मन्त्री ढुंगेलले प्रदेशको आयस्रोत बढाउन राजस्वको दायरा वृद्धि गर्न नयाँ क्षेत्रको पहिचान गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने, फलफूल तथा तरकारी बीउबिजन सहकारीमार्फत व्यवस्थापन गर्ने, प्रदेशका सीमान्तकृत र निम्न वर्गलाई बासस्थान व्यवस्था र बाँझो जमिनमा खेती गर्न अनुदान दिने कुरालाई पनि प्राथमिकतामा राखेका छन्।

विधेयकमाथि डेढ दर्जन सांसदहरुले आफ्नो भनाइ राखेका थिए। सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले विधेयकको खुलेर आलोचना गरेका थिए। सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताको आलोचना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell