कोपा अमेरिका २०२१ ब्राजिलमा आयोजना हुने भएको छ। प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ता अघि आयोजकको जिम्मेवारीबाट अर्जेन्टिनालाई हटाएर ब्राजिललाई दिइएको हो।
दक्षिण अमेरिकी फुटबल फेडेरेसनले ‘वर्तामान घटनाक्रम’ को कारण देखाउँदै अर्जेन्टिनामा प्रतियोगिता नहुने जनाएको थियो। यसअघि सहआयोजक रहने भनिएको कोलम्बियालाई पनि त्यहाँ चर्किएको सरकार विरोधी आन्दोलन र बड्दो संक्रमणको कारण देखाउँदै सबै खेल अर्जेन्टिनामा गराइने फेडेरेसनले तयारी गरेको थियो। तर पछिल्लो समय अर्जेन्टिनामा पनि कोभिडको दोस्रो लहरले लकडाउनको स्थिति सिर्जना भएपछि प्रतियोगिता ब्राजिलमा सारिएको हो।
१३ जुनबाट सुरु हुने प्रतियोगिताका लागि स्टेडियमहरुको घोषणा भने गरिएको छैन।
‘फेडेरेसन राष्ट्रपति जैर बोल्सोनरो उनको टिम साथै ब्राजिल फुटबल फेडेरेसनलाई सुरक्षित तरिकाले खेलकुद प्रतियोगिताको आयोजनाका लागि ढोका खोलेकोमा धन्यवाद दिन चाहन्छ। दक्षिण अमेरिका यहाँका स्टारहरुसँग ब्राजिलमा चम्कने छ।’ फेडेरेसनको ट्वीटमा भनिएको छ।
