PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निषेधाज्ञाकै बिचमा तीन देशसँग फेरि जोडिँदै हवाई सेवा, के चार्टरको महँगो शुल्कबाट मिल्ला राहत?



वसन्तराज उप्रेती

निषेधाज्ञाकै बिचमा तीन देशसँग फेरि जोडिँदै हवाई सेवा, के चार्टरको महँगो शुल्कबाट मिल्ला राहत?

काठमाडौं : निषेधाज्ञाकै बिच तीन मुलुकको नेपालसँग हवाई सम्बन्ध पुन: स्थापित हुने भएको छ। चीन, कतार र टर्कीसँग दुईतर्फी नियमति उडान हुन लागेको हो। 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतबाहेकका अन्तर्राष्ट्रिय उडान रोकेको सरकारले पछिल्लो पटक तीन मुलुकमा मंगलबारदेखि पुनः उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। नियमित उडान बन्द भएपछि चार्टर उडान भइरहेका थिए। त्यसमा ट्राभल एजेन्सीले यात्रुबाट भाडामा मनोमानी गरेको गुनासो बढेपछि सरकारले तीन मुलुकका लागि उडान खोल्ने निर्णय गरेको हो। 

'यतिखेर चीन, टर्की, कतार लगायतका वायुसेवा कम्पनीलाई साताको एउटा उडान सञ्चालनका लागि सेड्युलिङको काम भइरहेको छ,' नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने। उनका अनुसार टर्कीको वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले साताको एउटा उडान बिहीवार गर्ने तालिका पाएको छ। यस कम्पनीले आगामी बिहीवारदेखि नियमित उडान सुरु गर्न लागेको छ।

यसैगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रका वायुसेवा कम्पनी हिमालय एयरलाइन्स, कतार एयरवेज र चीनको वायुसेवा कम्पनीको उडान तालिका भने तयार हुने क्रममा रहेको प्रवक्ता क्षेत्रीले बताएका छन्। 

उनका अनुसार तीन गन्तव्यमा उडान सुरु भएसँगै नेवानिले दोहा, हिमालयले चीन, कतार एयरवेजले दोहा-काठमाडौं, चीनको एउटा वायुसेवा कम्पनीले चीन-नेपाल, टर्किस एयरलाइन्सले इस्तानबुल-काठमाडौं साताको एक/एक उडान गर्नेछन्। 

'चीनले एउटा वायुसेवा कम्पनीमार्फत् दुईतर्फी उडान गर्ने पत्राचार गरेको छ। यो अवस्थामा उडानमा कडीकडाउ गरिए पनि चीन सरकारले अब हुने नियमित उडानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै साताको एउटा उडान गर्ने जनाएको छ। तर, उडान गर्ने मिति र तालिकाबारे खबर आउन बाँकी नै छ,' प्रवक्ता क्षेत्रीले भने।

नेपाल-भारत भने एयर बबल सम्झौताअन्तर्गत साताको एउटा/एउटा सञ्चालनमा छ। कोभिड-१९ दोस्रो लहर सुरु भएसँगै सरकारले जेठ १७ गतेसम्मका लागि नियमित अन्तर्राष्ट्रिय उडान बन्द  गर्ने घोषणा गरेको थियो। यो अवधिमा विभिन्न मुलुकका वायुसेवा कम्पनी कुटनीतिक पहलमा कार्गो, यात्रु चार्टर, एयर एम्बुलेन्स लगायतका उडान सञ्चालन गर्दै आएका छन्। 

माग आएको  अवस्थामा खाडी मुलुकमा गएका नेपालीलाई उद्धार, उडानमार्फत् स्वदेश फर्काउन सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए। पहिलेको तुलनामा खाडी मुलुकमा गएका नेपालीहरु विदेशमा सुरक्षित रहेका कारण तत्काल उद्धार उडानको माग नआएको उनले जानकारी दिए।

'यो  अवस्थामा उहाँहरु यहाँभन्दा उतै सुरक्षित हुनुभएको देखिएको छ। उतै भेन्टिलेटर, अक्सिजनको सेवा पाइरहनुभएको जानकारी आएको छ,' उनले भने, 'यदि उता हुनुभएका नेपाली नागरिकबाट उद्धार उडानको प्रस्ताव आएको अवस्थामा सरकार तयार छ।' 

हाल खुला गरिएका तीन मुलुकसँगै मलेसिया र दुबईमा दुईतर्फी नियमित उडान गर्ने  प्रस्ताव पठाए पनि यी मुलुकमा  बन्दाबन्दी र उडान बन्द गरिएका कारण नियमित उडान पुनः सुरु गर्न  नसकिएको उनले बताए। 

आन्तरिक तर्फको हवाई उडान कहिलेदेखि खुला गर्ने भन्नेमा सरकारले निर्णय गरेको छैन। आन्तरिकतर्फ नियमित उडान छिट्टै सञ्चालनमा ल्याउने सम्भावना नरहेको सचिव कोइरालाले बताए। 'कोरोना दोस्रो लहरको संक्रमण मुलुकको अधिकांश क्षेत्रमा फैलिएका कारण तत्काल आन्तरिक उडान सुरु गर्ने सम्भव छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell