PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संवैधानिक इजलास विवाद : नियमावली संशोधनका लागि सर्वोच्चको पूर्ण बैठक भोलि



कमलराज भट्ट

संवैधानिक इजलास विवाद : नियमावली संशोधनका लागि सर्वोच्चको पूर्ण बैठक भोलि

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक भोलि बस्ने भएको छ। 

सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि बैठक राख्ने जानकारी गराएका हुन्।

बार अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाव दिएको थियो। उक्त सुझावमा सहमत हुँदै प्रधान न्यायाधीश जबरा पूर्ण बैठक बोलाएर नियमावली संशोधन गर्न तयार भएका हुन्।

संवैधानिक इजलासका लागि प्रधान न्यायाधीश सहित १४ जनासम्मको रोस्टर तोकिएको छ। अहिले पुरूषोत्तम भण्डारी सेवानिवृत्त भएकाले १३ जना मात्रै छन्।

प्रधान न्यायाधीश जबराले रिक्त स्थानमा एक जना न्यायाधीशलाई रोस्टरमा ल्याउन न्याय परिषदको बैठक समेत बोलाउने जानकारी पनि भेटमा दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए। परिषद बैठकले इजलासमा रहने वकिल समेत निर्धारण गर्नसक्ने जबराले संकेत गरेका थिए। 

कसरी संशोधन हुन्छ नियमावली? 
सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यका अनुसार यसका लागि सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठक बस्छ। बैठकले नियमावलीमा केके संशोधन गर्ने हो टुंगो लगाएर पारित गर्छ। पूर्ण बैठकबाट पारित भएपछि नियमावली कार्यान्वयनमा आउँछ। सर्वोच्चले आफ्नो नियमावली आफैँ बनाउन सक्छ। ऐनका लागि भने संसदीय प्रक्रियामा जानुपर्छ। 

नियमावली संशोधन भए पनि वर्तमान इजलासले प्रारम्भीक सुनुवाई गर्नसक्छ। त्यसपछिमात्रै संशोधित नियमावली अनुसारको वरिष्ठताको आधारमा इजलास गठन हुनसक्छ।

त्यस्तै, प्रश्न उठेका न्यायाधीश तेजबहादुर केसी र वमकुमार श्रेष्ठले आफैँ नबस्ने घोषणा गरे भने नियमावली संशोधनपछि नयाँ इजलास गठन भएर अर्को साताबाट सुनुवाइ सुरू हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell