PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक महिनाअघि नै 'हामी नेपाल' समूहले बनाएको वीर अस्पतालको आइसोलेसन आजबाट सुरु

एक महिनाअघि नै 'हामी नेपाल' समूहले बनाएको वीर अस्पतालको आइसोलेसन आजबाट सुरु

समर्थ रञ्जित/पहिलोपोस्ट


वीर अस्पतालको नयाँ भवनमा कोभिड-१९ संक्रमितका लागि आइसोलेसन वार्ड सञ्चालनमा आएको छ। एक सय ७० शय्यासहितको वार्डमा मंगलवारदेखि सेवा सुरु भएको हो।

एक महिना अघि नै तयार भएको वार्डलाई वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डाक्टर जागेश्वर गौतमको पहलमा सञ्चालनमा ल्याइएको हो। गौतम वीरमा नियुक्त भएको एक साता मात्र भयो।

वार्डको औपचारिक सुरुवात गर्दै उनले भने, 'सबै तयारी पहिले नै भइसकेको थियो। सञ्चालनमा ल्याउन स-साना आवश्यकता पूरा हुनु थियो। ती सबै प्राविधिक एवं अन्य सामाग्री व्यवस्थापनपछि यहाँ उपचार सम्भव भयो।' 

नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै सरकारले वीरको नयाँ भवनलाई आइसोलेसन वार्ड बनाउने प्रस्ताव गरेको थियो। तर, त्यतिबेला भवनमा शय्यादेखि आवश्यक कुनै सामाग्री उपलब्ध नभएको सार्वजनिक भयो।

हरेक वर्गका मानिसको पहुँच हुने र पैसा नभएकाहरू पनि जीवन पाएर फर्कुन् भन्ने उद्देश्य लिएर युवाहरूको समूह 'हामी नेपाल'ले उक्त भवनलाई संक्रमितको उपचार केन्द्र बनाउन मद्दत गरे। अस्पतालका निमित्‍त निर्देशक डाक्टर शान्ता सापकोटासँगको समन्वयमा अस्पतालले थोत्रिएर फालेको शय्याहरू उनीहरूले स्टोरबाट उठाए। रित्ता कोठासम्म पुर्‍याए। रङ लगाए, सरसफाइ गरे, तन्ना हाले। 

अस्पताललाई केही शय्या स्वास्थ्य मन्त्रालयले पनि उपलब्ध गरायो। पचास शय्या हामी नेपाल समूहले थप्यो।

त्यतिबेला अस्पतालले अक्सिजन र जनशक्ति अभाव देखाउँदै संक्रमितको उपचार सुरु भएन।

'सेवा सुरु नहुनुको कारण प्रक्रिया, सिस्टम, अभाव केही होइन रहेछ। कारण त मन रहेछ। गर्ने मन भए त यति छिटो सबैकुराको व्यवस्था हुँदो रहेछ त,' हामी नेपाल समूहको नेतृत्व गरिरहेका सुदन गुरुङले भने। आफूहरूको पहलमा तयार भएको एउटा वार्ड बल्ल पूर्ण भएको बताउँछन् उनी। 'पैसा हुने, नहुने हरेक नागरिकको स्वास्थ्य सेवामा उचित पहुँच हुनुपर्छ भन्ने हाम्रो धारणा हो। वीरमा हरेक वर्गको मानिस आउने भएकाले यो वार्ड अत्यावश्यक थियो,' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell