PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

छातीमा 'स्माइली' टासेर नेपाल बन्दलाई सधैका लागि 'बन्द' गर्न उदाएका उज्वल अस्ताए



पहिलोपोस्ट

छातीमा 'स्माइली' टासेर नेपाल बन्दलाई सधैका लागि 'बन्द' गर्न उदाएका उज्वल अस्ताए

काठमाडौं :  विवेकशील नेपाली दलका संस्थापक एवम् विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ। आज ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उनको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए। कोरोना संक्रमण देखिएका थापाको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।

'स्माइली' चिह्न सहित नेपाल बन्द विरुद्ध अभियानका रुपमा उनको नेतृत्वमा जोडिएको विवेकशील समूह पछि राजनीतिक दलको रुपमा स्थापित भएको थियो। नेपाल बन्दविरुद्ध जुलुस निकाल्दै हिँड्ने उनको नेतृत्वले लैंगिक हिंसाविरुद्ध 'अकुपाइ बालुवाटार' लगायतका अभियानलाई बलियो गरी स्थापित गरेको थियो। २०७२ सालको भूकम्प होस् या तराईको बाढी, उनको नेतृत्वमा विवेकशीलहरु सधैं सहयोगका लागि उत्रिहाल्थे। मेडिकल शिक्षामा भएको व्यापारीकरण र त्यसका विरुद्ध प्राध्यापक डाक्टर गोविन्द केसीले छेडेको अभियानमा सुरु देखि नै थापा जोडिएका थिए।

कोभिड १९ का कारण थलिएपछि उनलाई सुरुमा सरकारी अस्पतालमा नै उपचारका लागि लगिएको थियो। तर, पछि उनको अवस्था थप जटिल बनेपछि निजी अस्पताल पुर्‍याइएको थियो।

युवापुस्तालाई राजनीतिसँग गाँसिन उनले महत्वपूर्ण योगदान दिएका थिए। मुलुकको परिवर्तनका लागि युवा पुस्ता राजनीतिमा होमिनुपर्ने अवधारणासहित उनको 'स्माइली इमोजी' सहितको समूह सक्रिय रहेको थियो। लैंगिक हिंसाका अलावा, दलित, जनजाति, मधेश लगायतका मुद्दामा चर्को आवाज उठाउँदै उनी राजनीतिमा होमिएका थिए।

नेपालमै रहेका तन्नेरी पुस्ता र अध्ययनका लागि विदेशिएका नेपाली समूदायबिच विवेकशील पार्टीलाई परम्परागत राजनीतिक दलभन्दा अलग देखाउन उनी सक्रिर रहे। पद लोलुपता तथा सधैं कुर्सीमा टासिन चाहने नेपालका ठूला राजनीतिक दलहरुले अपनाउन नसकेको व्यवहार उनले देखाउँदै आफू पार्टी अध्यक्षबाट हटेर आफूभन्दा कम उमेरका युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेका थिए।

शक्ति र पदका खातिर जे सुकै पनि गर्न तयार हुने राजनीतिक दलको नेतृत्वका लागि सानै समूहमा रहे पनि विवेकशील प्रभावशाली पार्टी बन्दै थियो। पछि युवाहरुको यो दल पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकृत भयो। एकीकरण पछि फेरि विभाजित भयो र पुन: एकीकरणमा गयो। यद्यपि, विवेकशीलसँग जोडिएका युवाहरु 'स्माइली' इमोजीसँग जसरी नजिकिएका थिए मिश्र नेतृत्वको साझासँग जोडिएपछि केही नेता त्यसबाट बाहिरिए पनि।

उनको अवस्था जटिल बन्दै जाँदा उनीप्रतिको विश्वास र प्रेम नेपाली समाजमा अभुतपूर्व रुपमा देखिएको थियो। कुनै पनि राजनीतिक दलका नेताको उपचारका लागि नभएको रकम संकलन जनस्तरबाट भयो। उनको उपचारका लागि चाहिएको रकमबारे सोसल मिडियाबाट उठाउन आह्वान भएको २४ घन्टामा आवश्यकभन्दा दोब्बर रकम उठेको थियो। उनीप्रति सहानुभूति र सहयोग गर्नेहरु अत्याधिक देखिए।

उपचारका लागि विदेशी अस्पताल धाउने र सरकारी खजानाबाट त्यसको परिपूर्ति गर्ने राजनीतिक नेतृत्वसामु उनको उपचारमा जनस्तरको लगानी अकल्पनीय देखियो। त्यतिमात्र होइन मेडिकल शिक्षामा विवादित लगानीकर्ता दुर्गा प्रसाईले थापाको उपचार खर्च आफैँ गर्ने घोषणा गरेका थिए। तर, जसका विरुद्ध उनी आन्दोलनमा उत्रिएका थिए तिनको खर्चमा उपचार गराउन थापाको परिवार र सहयोगी तयार भएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचार होस् या अन्य शीर्ष तहका नेताहरुको कि त्यो सरकारी खर्चमा भयो कि कुनै अज्ञात 'इन्ट्रेस्ट ग्रुप' वा व्यक्तिको लगानीमा। जसले नेताहरुको उपचार खर्च कसले र किन गर्‍यो कहिल्यै खुलाउन चाहेनन्। तर, विवेकशीलका यी 'स्माइली' नेताको उपचारमा न राज्यको ढुकिटी कुर्न पर्‍यो न 'विवादित' व्यक्तिहरुकै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell