बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जघन्य अपराध मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दाका ३, जवरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरु एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिक-११ निवासी ५३ वर्षीय रुपा बुढाथोकी भन्ने धन बहादुर बुढाथोकीलाई पक्राउ गरिएको छ। यस्तै, कर्तव्य ज्यान मुद्दामै १४ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका-१६ बस्ने कन्हैया कुँवर जोगी पनि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ३ महिना कैद सजाए भएका रुपन्देहीको गैडहवा-८ बस्ने बलु सुनार भन्ने वलबिर कुमार सुनारलाई पनि प्रकाउ गरिएको कार्यालयले जनाएको छ।
जवरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका-१६ बस्ने राजन चौधरी भन्ने वेनीराम कुँवर जोगीलाई पक्राउ गरिएको हो। यस्तै, अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाए भएका तिलोत्तमा नगरपालिका-२ का बावुराम बिकलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ बैशाख १ गतेदेखि सञ्चालित ‘फरार प्रतिवादीविरुद्धको अप्रेशन’ कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हाल सम्म १६ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ। पक्राउ परेका सबैलाई अदालत पठाईएको छ।
