PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए ढल्नेछ प्रदेश २ सरकार, वैकल्पिक गठबन्धनमा उपेन्द्र पक्ष बलियो



राधेश्याम पटेल

महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए ढल्नेछ प्रदेश २ सरकार, वैकल्पिक गठबन्धनमा उपेन्द्र पक्ष बलियो

वीरगंजः जनता समाजवादी पार्टी एकता भएको एक वर्षपछि फुटको संघारमा पुगेको छ। पार्टीको एक पक्ष संघीय सरकारमा सहभागिता जनाउने तयारीमा र अर्को पक्ष विपक्षी गठनबन्धनमा उभिएसँगै जसपा फुटको संघारमा पुगेको हो।

प्रधानमन्त्री केपी ओली सरकार ढाल्ने र जोगाउन खेलमा दुई समूह लाग्दा पार्टी फुटको संघारमा पुगेको हो।

मधेसका मुद्दा सम्बोधनमा सकारात्मक रहेको भन्दै अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्ष ओली नेतृत्वको सरकारमा जाने तयारी गरिरहेको छ। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने विपक्षी गठबन्धन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को खेमामा छन्। प्रतिनिधिसभा पुनर्स्थनपना र ओली सरकारको विकल्पको खोजीमा चार दल गठबन्धनमा छन्।

नेताहरु दुई धारमा विभाजित हुँदा एकीकरण भएको एक वर्षपछि नै पार्टी फुटको दिशामा अघि बढेको छ। फुटको पूर्वसन्ध्यामा दुबै समूहबीच एक-अर्कालाई कारबाहीको लहर समेत चलेको छ।

जसपाको ठाकुर-महतो पक्ष आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ। यद्यपि निर्णय भने गरिसकेको छैन। एमाले र जसपाको ठाकुर पक्षबीच आठ मन्त्री र दुई राज्यमन्त्री समेत सरकारमा सहभागी हुनेगरि पछिल्ला दिनमा परामर्श चलिरहेको नेताहरु बताउँछन्।

जसपाबाट राजेन्द्र महतोसँगै, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, उमशंकर अरगरिया, एकबाल मियाँ, चन्दा चौधरीलगायत मन्त्री बन्ने चर्चामा छन्।

केन्द्रको झगडा, प्रदेशमा असर

संघीय सरकारमा महन्थ ठाकुर पक्ष समावेश भएमा जसपा फुटने निश्चित छ। जसको असर प्रदेश २ को संयुक्त सरकार पनि पर्ने जसपाका नेताहरु बताउँछन्। ठाकुर पक्ष केन्द्र सरकारमा सहभागी भए पार्टी फुट्ने उनीहरुको भनाई छ।

जसपाका एक केन्द्रीय सदस्य ओली सरकारमा ठाकुर पक्ष सहभागी भए पार्टीको फुट निश्चित रहेको बताउँछन्। पार्टी फुट भएमा प्रदेश २ को सबैभन्दा ठूलो दल उपेन्द्र यादव नेतृत्वको पूर्व संघीय समाजवादी पक्षले सरकार बनाउने ती नेता बताउँछन्। पूर्व राजपाका प्रदेश सांसदहरुलाई अलग गरेर विपक्षी गठबन्धनका पार्टीसँग सहकार्य हुने सक्ने उनको दाबी छ।

प्रदेश २ का १०७ प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका ३ जना बर्खास्त भइसकेका छन्। तत्काल कायम रहेको १०४ जनामा पूर्व संघीय समाजवादी पार्टीका ३०, पूर्व राजपाका २५, एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादीका ८, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजावदी पार्टीका १ सदस्‍य छन्।

हाल तत्कालीन समाजावदी र राजपाको सरकार छ। जसपा विभाजन भएको अवस्थामा समाजावदी र राजपा दुबैले सरकार बनाउन कसरत गर्न सक्ने देखिन्छ। जसमा बलियो अधार उपेन्द्र पक्षको तत्कालीन समाजवादी पक्षको देखिन्छ।

उपेन्द्रको समाजवादीका २९, नेपाली कांग्रेसका १९ र माओवादीका ८ गरी कुल ५६ सांसद हुन्छन्। यसरी विपक्षी गठबन्धनले संयुक्त सरकार बनाउन सक्छन्। अर्को विकल्प भनेको राजपाको २५, एमालेको २१ गरी ४६ सांसद हुन्छन्। यसमा स्वतन्त्र र  नेपाल संघीय समाजावदीको समर्थन लिए पनि ४८ मात्र सांसद पुग्नेछन्। तर बुहमतको कम्तीमा ५३ सांसद चाहिन्छ। माओवादी वा कांग्रेसले समर्थन गरेमा मात्र पूर्व जसपा पक्षले सरकार बनाउन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell