PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मधेसको माग पुरा गराउने हामी प्रतिगमनकारी भयौं, उपेन्द्रजीहरु अग्रगमनकारी : लक्ष्मणलाल कर्ण



राधेश्याम पटेल

मधेसको माग पुरा गराउने हामी प्रतिगमनकारी भयौं, उपेन्द्रजीहरु अग्रगमनकारी : लक्ष्मणलाल कर्ण

वीरगंज : जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसको माग पुरा गराउने दिशमा आफुहरु अघि बढ्दा प्रतिगमनकारीको बिल्ला पाएको प्रतिक्रिया दिएका छन्। फुटको संघारमा पुगेको जसपकाको महन्थ ठाकुर पक्षधर नेतासमेत रहेका नेता कर्णले फोन सम्पर्कमा यस्तो प्रतिक्रिया दिएका हुन्।

कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक वार्ता भए पनि मधेशको मागमा कुनै ठोस निर्णयमा नपुगेको कर्णको दाबी थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्बोधनमा अग्रमणकारी कदम चालेकोसमेत तर्क गरे।

‘६ महिना आन्दोलन गयौं, केही उपलब्धि हासिल भयो, केही बाँकी थियो, त्यो सबै पुरा गराउन आफुहरु सरकारसँग निरन्तर संवाद र सहकार्यको रणनीतिमा पुगेपछि प्रतिगमनकारी भनिदैछ,’ उनले भने, ‘देउवाजी,प्रचण्डजीलगायत धेरैसँग वार्ता र छलफल भयो, मधेसको मागबारे उहाँहरु केही ठोस निर्णयमा पुग्न सक्नुभएन, अनि उहाँहरु चाही अग्रगमनकारी हुनु भयो।’

उनले विपक्षी गठनबन्धनमा नबसेपछि उपेन्द्र यादव चिडिएको पनि आरोप लगाए। ‘देउवा–प्रचण्डजीसँग नगएपछि उहाँ बिच्किनु भएको हो, बाँकी सबै कुरा जनतालाई थाहा छ,’ कर्णको आरोप थियो। उनले विगतको पटकपटकको मधेस थरुहट आन्दोलनले निर्दिष्ट गरेको मुद्दामाथि हालको सरकार लचिलो भएकोले केन्द्र सरकारलाई सघाउने निर्णयमा आफुहरु पुगेको पनि उनले स्पष्ट पारे। ‘हामीहरुलाई थाहा छ, कहाँबाट मधेसको माग पुरा हुन्छ, त्यसकारण अघि बढेका हौं,’ उनले भने, ‘विगतको विभिन्न आन्दोलनको क्रममा थुनामा रहेका तथा सरकारवादी मुद्दाका करिब १४० जनाभन्दा बढी जनाको मुद्दा फिर्ता भइसकेको छ, रेशम चौधरीलाई पनि छुटाउने पहल भइरहेको, अर्को संविधान संशोधनको लागि सरकारले मेरै संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि गठन गरिसकेको अवस्थामा हामीले के गल्ती गरेको छौ, कसरी प्रतिगमनकारी भयौं, यो प्रश्न उहाँहरुलाई मज्जाले थाहा छ।’

जसपाको विवाद बढ्दै जाँदा अहिले महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एकले अर्कोलाई बहुमत कार्यकारिणी सदस्यको दम्भमा निस्काशन गरेको जनाएको छ। पार्टी फुट्दा मधेसको मुद्दा र प्रदेश २ सरकार परिवर्तनमा पनि असर पुग्ने आँकलन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell