PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

माधव नेपाल पक्षीय दोस्रो पङ्तिका नेता फकाउने बालुवाटारको दाउ, आज पनि डाकियो स्थायी कमिटी बैठक



पहिलोपोस्ट

माधव नेपाल पक्षीय दोस्रो पङ्तिका नेता फकाउने बालुवाटारको दाउ, आज पनि डाकियो स्थायी कमिटी बैठक

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार पनि स्थायी कमिटीको बैठक बोलाएका छन्।

बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक ४ बजे बस्ने तय भएको छ। पार्टी एकतका बारेमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। ओली समूहका दोस्रो तहका नेताहरुले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भएको छलफलका बारेमा बैठकमा ब्रिफिङ गर्ने तयारी छ।

मंगलवार पनि एमलेको स्थायी कमिटीको बैठक बोलाएको थियो। उक्त बैठकले एकताका लागि अधिकतम लचक हुने निर्णय गरेको थियो।

ओली र नेपाल समूहका दोस्रो तहका नेताहरुले सोमवार राति याक एण्ड यति होटलमा छलफल गरेका थिए। अनौपचारिक रुपमा भएको छलफलमा पार्टी एकतालाई कायम राख्न २०७५ जेठ २ गते अघिको एमालेमा फर्कँने समझदारीकै आधारमा अघि बढ्ने सहमति भएको थियो। उक्त छलफल पछि मंगलवारको बैठकमा ओलीले नेपाल समूहका १२ जना नेतालाई कारवाही गर्ने विषयबाट पछि हटेका थिए। दोस्रो तहका नेताहरु बिच वार्ता भइरहेकैले आइतवार र सोमवारको स्थायी कमिटीको बैठक स्थगित भएको थियो।

ओली निकट नेताहरुका अनुसार पछिल्लो छलफलमा नेपाल लगायताका शीर्ष नेता एमालेमा नफर्किए पनि नेपाल समूहका दोस्रो तहका नेतालाई फर्काउने गरी वार्ता भइरहेको छ। 'माधव नेपाल र भीम रावल लगायतलाई त कारवाही नै छ। हाम्रो प्रयास त सकेसमै धेरैलाई फर्काउने भन्ने छ,' ओली निकट एक नेताले भने।

नेपाल निकट नेताले अब एमालेमै रहने अवस्था नरहेको बताइरहेको भए पनि नेपाल समूहका योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले अझै एकतको सम्भावना कायम रहेको बताइरहेका छन्।

एमालेको विवाद मिलाउन जेठ २ गते गठित कार्यदल हाल निष्क्रिय अवस्थामा रहेको छ। नेपाल समूहबाट भीम रावल र ओली समूहबाट सुवास नेम्बाङको नेतृत्वमा कार्यदल बनेको भए पनि रावललाई ओलीले पार्टीबाट निष्कासन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell