पाकिस्तानको चर्चित ऐतिहासिक ख्वानी बजारको गल्ली पहिले त आवासीय क्षेत्र थियो। अब त व्यापारिक केन्द्र बनिसकेको छ। पेशावर शहरको यस बजारमा एक भारतीय अभिनेताको घर छ।
मोहम्मद यूसुफ खानको जन्म सन् १९२२ को डिसेम्बर ११ मा त्यही घरमा भएको थियो। सन् १९३० मा परिवारसँग तत्कालीन बम्बई बसाइ सरेका उनी फर्किएनन्। पछि त उनको जन्मथलो र कर्मथलो नै फरक देश बन्यो।
राजनीति भन्दा पर रहेर सिनेमा क्षेत्रमा उदाएका मोहम्मल यूसुफ, दिलीप कुमारका नामले चिनिए।
सन् १९८८ मा दिलीप कुमार पाकिस्तान गएका थिए। त्यतिबेला उनले पेशावरमा रहेको त्यो पुरानो घरमा पुगे। त्यहाँ पुग्दा उनी नोस्टाल्जिक भएका थिए। बाल्यकालका किस्साहरू सम्झिएर सुनाएका पनि थिए।
पेशावरको त्यो साँघुरो गल्लीभन्दा पर अर्का भारतीय कलाकारको हवेली छ। बलिउडलाई कयौं सुपरस्टार दिने कपूर परिवारको एक पिँढी त्यहीँ हुर्किए। जुन सन् १९१८ देखि १९२२ को बिचमा बनाइएको हो। राज कपूर पनि त्यही हवेलीमा जन्मिएका हुन्। भारत पाकिस्तान छुट्टिएपछि भारत आएको थियो।
अब पाकिस्तान सरकारले पेशावरस्थित यी भारतीय अभिनेताहरूको पैतृक घरहरूलाई अफ्नो नियन्त्रणमा लिएको छ। ती घरहरूलाई जस्तो छ त्यस्तै अवस्थामा संरक्षण गर्ने बताइएको छ।
खैबर पख्तुनख्वाहको पुरातत्व र संग्रहालय विभागका निर्देशक डाक्टर अब्दुल समदले बीबीसीलाई बताए अनुसार दुवै हवेलीलाई सरकारले विभागलाई सुम्पिएको छ। हाल दुवै कलाकारको पैतृक घर सिल गरिएको छ।
अब जीर्णोद्धारको काम सुरु हुन्छ जसका लागि अनुमानित लागत तय गर्ने काम भइरहेको छ।
पुरातत्त्व विभागले सन् २०२० को सेप्टेम्बमा यस सम्बन्धमा पेशावरको आयुक्तलाई पत्र पठाएको थियो। जसमा ती घरलाई 'संरक्षित' घोषित गर्नका लागि सरकारले कब्जा गर्नुपर्ने जनाइएको थियो। तब सूचना जारी गर्दै सरकारले भन्यो – हाल बन्द रहेको दुई कलाकारको घरलाई संग्राहलय बनाइनेछ। जहाँ दिलीप कुमार र राज कपुरसँगै बलिउड स्टार शाहरुख खानसँ सम्बन्धित वस्तु संरक्षित गरिनेछ।
यस कदमले सांस्कृतिक पर्यटक बढाउने विभागको विश्वास छ।
दुवै भवनको धेरै भाग भत्किएका छन्। त्यहाँ बस्दै आएकाहरूले त्यसलाई भत्काएर प्लाजा बनेन कोसिस गरेका थिए तर प्रशासनले रोक लगायो।
अब सरकारले आफ्नो नियन्त्रणमा लिएपछि ती भवन भत्काइँदैन। जस्तो छ त्यस्तै अवस्थामा राखिन्छ र तीन अभिनेता र उनीहरूको परिवार सम्बन्धी सामाग्री, फिल्मको रेकर्ड र अन्य वस्तु राखिने बीबीसी हिन्दीमा जनाइएको छ।
हिंसाको चपेटामान पर्नुअघि पेशावर संस्कृति र कलाको केन्द्र थियो। पुन: त्यहाँको अवस्था सुध्रिँदै जाँदा सरकारले यहाँको परम्परा र संस्कृतिलाई पुनर्जीवित गर्ने अभियान सुरु गरेको छ। जस अन्तर्गत् सय वर्षभन्दा पूरानो सम्पदाहरू संरक्षित गर्दैछ।
पेशावरमा ऐतिहासिक महत्वका १८ सय संरचनाहरू छन्।
