काठमाडौं : व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणालाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती रहेको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै यादवले यस्तो कदमले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने र नकारात्मक पर्यावरणीय असर पार्ने बताएका हुन्।
'बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्युनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' अध्यक्ष यादवले जारी गरेको वक्तव्यमा भनिएको छ।
यसले चुरे विनसा गर्ने, तराईज्ञ मधेशलाई मरुभूमिकरण गर्ने निश्चित रहेको बताउँदै तत्काल बन्द गरिनुपर्ने विज्ञप्तिमा भनिएको छ। अन्यथा मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न वाध्य हुनुपर्ने चेतावनी समेत उनले दिएका छन्।
