काठमाडौं : नेपाल र चाइनिज ताइपेइबिच भोलि बेलुकी विश्वकप क्वालिफायर्स अन्तर्गतको खेल हुँदैछन्। जबेर अल अहमेद स्टेडियममा हुने खेलको पूर्वसन्ध्यामा दुवै टिमका प्रशिक्षकले कुवेतको मौसमलाई लिएर चिन्ता व्यक्त गरेका छन्।
इराकमा अभ्यास खेल खेलेर कुवेत पुगेको नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतको मौमसमा खेल्नु कठिन हुने बताए।
‘कुवेतको मौसममा खेल्न हामीलाई सहज हुनेछैन,’ नेपाली टिमका कुवेती प्रशिक्षक अलमुताइरीले भने, ‘हामी चौथो स्थान सुरक्षित गर्न चाहन्छौं ताकी एएफसी एसियन कप क्वालिफायर्समा मौका बनिरहोस। र, त्यसका लागि भोलिको खेल जित्नैपर्ने हुन्छ।’
उनले नेपाली टोलीले धेरैवटा मैत्रीपूर्ण खेलहरु नखेलेकाले कठिन हुनसक्ने बताएका हुन्।
‘हामीले धेरै मैत्रीपूर्ण खेलहरु खेलेका छैनौं। हामीसँग युवा तर ट्यालेन्टेड खेलाडीको टिम छ। तर उनीहरुलाई प्रेसर दिने अवस्था छैन,’ अलमुताइरीले भनेका छन्।
उता, कोभिड १९ महामारीका कारण विदेशमा रहेका खेलाडी बिनै वर्ल्ड कप क्वालिफायर्स खेल्न आइपुगेको ताइपेइका प्रशिक्षक भोम का-नहुमले पनि कुवेतको मौसम सबैभन्दा चुनौतीपूर्ण हुने बताए।
‘हामीलाई यहाँको मौसमसँग घुलमिल हुन कठिनाइ भइरहेको छ। त्यसैले हाम्रो सबैभन्दा ठूलो चुनौती यहाँको मौसम हो,’ उनले भने, ‘देशबाहिर रहेका हाम्रा मुख्य खेलाडीहरु कोभिड महामारीका कारण टिममा आउन सकेनन्। मलाई विश्वास छ नयाँ खेलाडीहरुले यो अवसरको सदुपयोग गर्नेछन् र आफूलाई प्रमाणित गर्नेछन्।
नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह बी चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै 'अवे' खेल खेलिसकेको नेपालले अब 'होम गेम'का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो।
नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। कोभिडका कारण एएफसीले होम गेम न्युट्रल भेन्युमा खेलाउने भनेपछि नेपाल कुवेत पुगेको हो। नेपालसँगै अन्य प्रतिस्पर्धी पनि कुवेतमै पुगेका छन्।
समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।
विश्वकप छनोट अन्तर्गतका यसअघिको समूह बी मा नेपालले जित निकालेको एकमात्र टोली हो चाइनिज ताइपेइ। फिफा वरीयतामा १४१ औं स्थानमा रहेको ताइपेइलाई नेपालले यसअघिको खेलमा उसकै घरेलु मैदानमा २-० ले हराएको थियो।
विश्वकप क्लालिफायर्सका खेलबाहेक ताइपेइले कोभिड महामारीपछि अन्य कुनै प्रतियोगिता या मैत्रीपूर्ण खेल खेलेको छैन। पछिल्लो खेलमा जोर्डनसँग ५-० को पराजय ब्यहोरेको ताइपेइले त्यसअघि कुवेतसँग ९-० र अस्ट्रेलियासँग ७-१ को फराकिलो हार ब्यहोरेको थियो।
समूह बी मा ताइपेइले ५ खेल खेलेर जित निकाल्न सकेको छैन। त्यसैले विश्वकप छनोटको समूह बी मा ताइपेइ अण्डर डग टिमको रुपमा देखिन्छ।
यता नेपालले विश्वकप क्वालिफायर्सपछि नेपाल, बंगलादेश र कीर्गिस्तान यू २३ सम्मिलित थ्री नेशन्स कप खेलेर च्याम्पियन समेत बनेको थियो। त्यस्तै विश्वकप क्वालिफायर्सकै तयारीमा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेलको थियो। उक्त खेलमा नेपाली टोली ६-२ गोलअन्तरले पराजित भएको थियो।
नेपाल र चाइनिज ताइपेइबीच बिहीबार बेलुकी ९:४५ मा खेल सुरु हुनेछ।
