PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आफूमाथि नैतिकताको प्रश्न उठाएपछि सांसद मनबहादुर गुरुङको भनाइ रेकर्डबाट हटाउन सभामुखको आदेश



पहिलोपोस्ट

आफूमाथि नैतिकताको प्रश्न उठाएपछि सांसद मनबहादुर गुरुङको भनाइ रेकर्डबाट हटाउन सभामुखको आदेश

पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सांसद मनबहादुर गुरुङको भनाइ रेकर्डबाट हटाउन आदेश गरेका छन्।

बुधवार प्रदेशसभा बैठकमा सांसद मनबहादुर गुरुङले सभामुख अधिकारीमाथि नैतिकताको प्रश्न उठाएका थिए। सांसद गुरुङले बैशाख १५ गतेको घटना स्मरण गर्दै सभामुखको नैतिकतामा प्रश्न उठाएका हुन्।

‘हामीले बैशाखको १३ गते विशेष अधिवेशन बोलाएको हैन? केको लागि बोलाएको विशेष अधिवेशन माननीयज्यूहरु अविश्वासको प्रस्तावमा छलफल गर्नका लागि हैन?’, सांसद गुरुङले भने, ‘अविश्वास प्रस्तावमा १५ गते मतदान हुने भनेर कार्यसूचीमा आइसकेको कार्यक्रमलाई एकाएक सत्तापक्ष वा सरकारले सूचना टाँस गरेको हो? के यसमा नैतिकता छ भने कार्यव्यवस्थामा बस्नेहरु राजीनामा दिनुपर्दैन?’

गुरुङले यो प्रश्न उठाएपछि सभामुखले नियमावलीअनुसार बोल्न सांसद गुरुङलाई आग्रह गरेका थिए। गुरुङले आफ्नो भनाइ सकेपछि सभामुखले ‘यो बोली यहाँबाट हटाइने छ’ भन्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन आदेश गरेका हुन्।

बैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो। तर, सोही दिन जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएका थिए।

सांसद शाही सम्पर्कविहिन भएपछि जनमोर्चाकी सांसद पियारी थापाले शाहीबारे जानकारी नभएसम्म सदनको कारबाही रोक्न माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन्। त्यसदिन उक्त निवेदनलाई कारण देखाउँदै बैठक स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell