PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आ-आफ्नै रणनीतिमा महन्थ र उपेन्द्र : राजनीतिक खेलमा कसको दाउपेच के?



कमलराज भट्ट

आ-आफ्नै रणनीतिमा महन्थ र उपेन्द्र : राजनीतिक खेलमा कसको दाउपेच के?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच कारवाहीको दोहोरी चलेको छ। महन्थले संसदीय दलको बहुमतका आधारमा स्पष्टीकरणसहित उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेका छन् भने उपेन्द्रले कार्यकारिणीको बहुमतका आधारमा महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणसहित पार्टीबाट निष्कासन।

कारवाहीको सिलसिला चलिरहँदा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूह भने आ-आफ्नो बाटो लाग्नुपर्ने निष्कर्षमा छन्। यो समूहका नेता डम्बर खतिवडाका अनुसार सौहार्दपूर्ण वातावरणमा हात मिलाएर छुट्टिनुपर्ने धारणा बनिरहेको छ।

तर, महन्थ र उपेन्द्र कारवाहीको मैदानमा उत्रिसकेका छन्। यसले पार्टीलाई औपचारिक रुपमै विभाजनतर्फ अग्रसर गराएको छ। दुवैले निर्वाचन आयोगमा पत्र पठाएका छन्। आयोगले कुन पत्रलाई वैधानिकता दिन्छ अहिले भन्न सकिन्न। तर, अब महन्थ र उपेन्द्रको रणनीति के हुने भन्ने चाहिँ सबैमा चासो छ। दुवै पक्षले अब कसरी बढ्ने भन्ने प्रारम्भिक खाका समेत बनाइसकेका छन्।

महन्थ ठाकुरको रणनीति

सुरुमा कुरा गरौं ठाकुर समूहको। यस समूहमा पूर्व राजपाका शीर्ष नेताहरु छन्। पार्टीका ३२ मध्ये २० सांसद खुलेका छन्। संसदीय दलमा बहुमत छ। त्यही बहुमतका आधारमा राजेन्द्र महतोलाई दलको नेता पनि चुनिसकेको छ। यद्यपि, अर्को पक्षले महतोलाई मानेको छैन।

विगतमा कार्यकारिणी समितिमा समेत बहुमत भए पनि पूर्व राजपाका अध्यक्ष मण्डलका एक सदस्य महेन्द्रराय यादवले साथ छाड्दा महन्थ समूह अल्पमतमा परेको बताइन्छ। महेन्द्रसहित ३ सदस्य उपेन्द्रतिर लागेपछि पार्टीमा समीकरण बदलियो। अहिले कार्यकारिणीमा आफ्नो बहुमत पुर्‍याउन ठाकुर समूहले विभिन्न नेतासँग डिल गर्न खोजिरहेको छ। तिनैमध्येका एक हुन् अशोक राई। कार्यकारिणीमा अशोकसँग ३ देखि ५ जना रहेको बताइन्छ। उनसँगै छलफल भइरहेको महन्थ निकट नेता डा सुरेन्द्र झाले बताए।

‘उहाँसहित विभिन्न नेतासँग छलफल जारी छ। यो पार्टीभित्र आन्तरिक रुपमा यताउता भइरहन्छ,’ उनले भने, ‘हामीसँग २६ जना पुग्छ।’ झाले ५१ सदस्यीय कार्यकारिणीमा आफ्नो समूहमा २६ जना पुग्ने अवस्था आएको दाबी गरे।

नेताहरुका अनुसार कार्यकारिणीमा पनि बहुमत पुगे जसपालाई नै अगाडि बढाउने, उपेन्द्र र बाबुराम अलग हुन चाहे अलग हुनसक्ने, तर अन्य पार्टी पंक्तिलाई समेटेर अघि बढ्ने ठाकुरको रणनीति छ। यदि त्यसो हुन नसकेमा, कार्यकारिणीमा बहुमत पुग्न नसकेमा, राजपा ब्युँताउने विकल्प पनि तयार पारिएको राजेन्द्र महतो निकट एक नेताले बताए।

‘भएन भने राजपा ब्युँताएर पूर्व राजपाहरु अघि बढ्ने, उपेन्द्र र बाबुरामजीहरु आफ्नो हिसाबले अघि बढ्ने कुरा भएको छ,’ उनले भने।

हृदयेश त्रिपाठीसँग सहकार्य

पूर्व राजपा ब्युँताउने अवस्था आएमा स्वतन्त्र राजनीतिक समूहका नेता एवं स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीसँग सहकार्य गरेर अघि बढ्ने ठाकुरको रणनीति छ। विगतमा तमलोपा हुँदा ठाकुर र त्रिपाठी एउटै दलमा थिए। राजपा गठन हुँदा असन्तुष्टि जनाएर बाहिरिएका त्रिपाठी सूर्य चिन्हबाट चुनाव लडेर राष्ट्रिय राजनीतिमा स्वतन्त्र हैसियतमा एमालेसँग सहकार्य गरेका अघि बढे।

त्रिपाठीको समूहमा ब्रिखेशचन्द्र लाल पनि सांसद छन्। प्रदेशहरुमा पनि उनको समूहको उपस्थिति छ। मंगलवार ठाकुर, महतो र त्रिपाठीबीच सिंहदरबारमा पूर्व राजपा व्युँताएर जाने वा नयाँ दल बनाएर अघि बढ्ने भन्नेबारे छलफल भएको थियो। नेता सुरेन्द्र झाले सहकार्य गर्न त्रिपाठी सकारात्मक देखिएको बताए।

‘सैद्धान्तिक हिसाबले पनि हामी धेरै टाढा छैनौं। सम्वाद चलिरहेको छ। सकारात्मकतातिर गएको छ। सहकार्यको सम्भावनालाई नकार्न सकिँदैन,’ उनले भने।

लोकतान्त्रिक स्कुलिङबाट आएका अध्यक्ष ठाकुरले छापामार शैलीमा कारवाही नगर्ने, अल्पमत र बहुमतको खेल खेलेर कसैलाई पार्टीबाट निष्कासन नगर्ने रणनीति लिएको र कानुनी प्रक्रियामा जसपा गए पनि ठाकुरकै नेतृत्वमा अघि बढ्ने झाले दाबी गरे। आदिवासी, जनजाति, थारु, दलित, मधेशीको मुद्दा समाधान होस् भन्ने चाहना राखेर अघि बढेका ठाकुरलाई पार्टी पङ्क्तिले साथ दिने पनि यो समूहको ठम्याई छ। उनका अनुसार केहीलाई निष्कासन गर्ने र केही अराजकलाई अनुशासनको परिधिभित्र ल्याएर जसपा फुट्न नदिनेबारे पनि नेताहरु परामर्शमा छन्। यति हुँदाहुँदै पनि फुटिहालेमा ठाकुरकै नेतृत्वमा जसपा अघि बढ्ने उनको दाबी छ। सांसद प्रमोद साहले पार्टी नफुटोस्, मुद्दा पनि समाधान होस् भन्ने आफूहरुले चाहेको बताए। त्यसैकारण कारवाहीको प्रक्रियामा आफूहरु नगएको साहको भनाइ छ।

बाबुराम छोडेर एक हुने

ठाकुर समूहले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई छोडेर बाँकी एक हुने विकल्पमा पनि परामर्श सुरु गरेको छ। बाबुरामका कारण पार्टीमा सबै विवाद निम्तिएको ठाकुर समूहको निष्कर्ष छ। ‘सबै उत्पात मच्चाएकै बाबुरामजीले हो। उहाँको अभिष्ट पूरा नहुँदा यो सबै गरेको हो। मानसिक विचलन देखियो उहाँमा। दु:खको कुरा यसमा उपेन्द्रजी पनि मोहरा बन्नुभयो,’ ठाकुर समूहका एक शीर्ष नेताले भने, ‘उपेन्द्रजी र हामीहरु मिल्नुपर्छ भन्ने एउटा अनौपचारिक छलफल चलिरहेको छ।’

सरकारमा सहभागिता

मधेश मुद्दा सम्बोधनमा अग्रसरता लिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको ठाकुर समूह अब सरकारमा सहभागी हुने तयारीमा छन्। ठाकुर समूहबाट १० जना मन्त्री बन्दैछन्। ८ जना मन्त्री र दुई जना राज्यमन्त्री सहभागी हुनेछन्।

माओवादीबाट एमाले प्रवेश गरी मन्त्री भएका नेताहरुको पद रिक्त हुँदा खाली रहेका मन्त्रालय अब ठाकुर समूहले सम्हाल्न लागेको हो। यसका लागि प्रम ओलीसँग सहमति समेत भइसकेको छ। राजेन्द्र महतो नेतृत्वमा शीर्ष नेताहरु अनिल झा, शरतसिंह भण्डारी, राजकिशोर यादव, नेता प्रमोद साह लगायत मन्त्री बन्ने लाइनमा छन्।

त्यसैगरी, उपेन्द्र समूह छोडेर आएका उमाशंकर अरगरिया, विमल श्रीवास्तव लगायत पनि मन्त्री बन्दैछन्। सरकारमा गएर मधेश मुद्दालाई अझ सशक्त रुपमा समाधान गराउन भूमिका खेल्ने नेताहरुको दाबी छ। बाँकी रहेका झुठा मुद्दा फिर्ता र संविधान संशोधनको काम पनि अगाडि बढाउने पनि हुने बताएका छन्। २२४ जनामध्ये १४९ जनाको मुद्दा सरकारले फिर्ता लिइसकेको छ।

मंगलवारमात्रै थरुहट संघर्ष समितिसँग रेशम चौधरी र लक्ष्मण थारुलगायत राजबन्दी रिहा गर्न ६ बुँदे सम्झौता समेत भइसकेको र त्यसलाई पनि कार्यान्वयन गराउन आफूहरु सरकारमा जान लागेको नेताहरुको दाबी छ। लाल आयोगको प्रतिवेदन संक्षेपीकरणको काम चलिरहेको र त्यसलाई सार्वजनिक गर्न पनि सरकारमा भूमिका खेल्ने बताइएको छ। मध्यावधि निर्वाचनका लागि वातावरण बनाउने रणनीति पनि ठाकुर पक्षको सरकारमा जानका लागि आधार रहेको छ।

प्रदेश २ मा एमालेसँग मिलेर सरकार

ठाकुर समूहले यादव समूहबाट अलग हुने अवस्था आएमा प्रदेश २ सरकार पनि परिवर्तन गर्ने रणनीति लिएको छ। एक सांसदका अनुसार पार्टी विभाजनको औपचारिक घोषणालगत्तै प्रदेश २ को सरकार ढल्नेछ। एमालेसँग मिलेर ठाकुर पक्षको नेतृत्वमा नयाँ सरकार बन्नेछ।

अहिले यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकार छ। ठाकुर पक्षको नेतृत्वमा आएमा जितेन्द्र सोनल मुख्यमन्त्री हुन सक्छन्। एमालेसँग मिल्दा बहुमत पुग्ने ठाकुर समूहको दाबी छ।

‘अहिले यथास्थितिमै चल्छ। धेरै उथलपुथल भयो भने अप्रत्यासित घटना हुनसक्छ,’ उनले भने। ती सांसदका अनुसार ठाकुर समूहको २५ सीट छ भने ३९ सीट यादव समूहको छ।

के छ उपेन्द्र यादवको रणनीति?

महन्थ ठाकुर समूहले विभिन्न विकल्पमा रणनीति बनाए पनि उपेन्द्र समूह भने खासै खुलेको छैन। यस समूह आफूहरु वैधानिक भएको, बहुमतको निर्णयले चार नेतालाई कारवाही गरेको भन्दै जसपा आफ्नो विधि विधानमा अघि बढ्ने बताउँछन्। नेता इस्तियाक राईले महन्थ ठाकुरले चालेका कदम अवैधानिक भएको बताए।

‘जेठ ४ गते उपेन्द्र यादवसँग ७ बुँदे सहमति गरेर २ बजे चिया खान शीतल निवास जाने? सहमतिमा केपी ओलीलाई साथ नदिने, राष्ट्रिय सहमतिमा आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर त्यसको विपरीत गएर उहाँले कार्य गरेकाले पार्टीले विधानबमोजिम कारवाही गरेर निष्कासन गरेको हो,’ राईले भने।

महन्थले गोजीबाट निकालेर कपी पेस्ट गरेर पार्टी चलाएको उनको आरोप छ। अब अगाडि बढ्ने रणनीति के हो भन्ने प्रश्नमा राईले थपे, ‘रणनीति के हुन्छ। हामीले निष्कासन गरिसकेका छौं। राजनीतिक दल सम्बन्धी ऐन दफा ५१ को १,२,३ बमोजिम अध्यावधिक गर्न भनिसकेका छौं। हाम्रो विधान र दल सम्बन्धी ऐन हेर्ने हो निर्वाचन आयोगले। हामीले प्रक्रिया पुर्‍याएर दिएका छौं। अध्यावधिक गर्नुपर्छ।’

पहिलो प्रतिनिधिसभा विघटन हुँदा केपी ओली प्रतिगमनकारी हो त्यसको विरुद्धमा लाग्नुपर्छ भनेर पार्टीले निर्णय गरेको र जेठ ४ गते दुई अध्यक्षले ओलीको प्रतिपक्षमा बस्ने भनेर सहमति गरेकाले त्यहीँ निर्णय आफूहरुको रणनीति भएको उनको भनाइ छ।

‘हामी प्रतिगमनको मतियार बन्न सक्दैनौं। मधेस जनजाति आन्दोलनको उपलब्धीलाई रक्षा गर्ने, संघीयता गणतन्त्र बचाउनका निम्ति केपी ओलीलाई जसरी पनि पदच्युत गर्नैपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेका छौं। त्यहीँ हो हाम्रो रणनीति,’ राईले भने।

पार्टी भनेको आतेजाते एउटा रेलजस्तै भएको उनको भनाइ छ। ‘हाम्रो एजेण्डा, सिद्धान्तमा रहिरहन्छौं भने जनता रहिरहन्छ। मान्छे ट्रेनबाट झर्छ चढ्छ त्यो स्वभाविक प्रक्रिया हो। त्यस्ता व्यक्ति राखेर के काम भयो पार्टीमा,’ राईले भने।

पार्टी फुटाउने काम महन्थ ठाकुर र राजेन्द्र महतो अहिले होइन मधेस आन्दोलनदेखि नै आदत भएको राईको टिप्पणी छ। ‘हाम्रो नेता स्वाधिन छैनन्। परजीवी भएपछि के भन्ने?,’उनले प्रश्न गरे। आफूहरुले नेता निष्कासन गरेकाले पार्टी नफुटेको उनले दाबी गरे। ‘व्यक्ति गयो, पार्टी गएको छैन नि,’ उनले भने।

अहिले आफूहरुको रणनीति असंवैधानिक कदमलाई जसरी पनि परास्त गर्ने, संघीयता, गणतन्त्र, संविधान, समावेशिता, समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षतालाई जोगाउने प्रमुख उद्देश्य रहेको जानकारी दिँदै राईले त्यसका लागि जे पनि गरिने बताए।

‘संविधानमा केही असहमति भए पनि धेरै उपलब्धी छ। त्यसलाई रक्षा गर्नुछ। अहिलेका सरकार प्रमुखले दिनलाई रात र रातलाई दिन बनाउने प्रयास गरेका छन्। संविधानलाई समाप्त पार्न खोज्दैछन्। त्यो कदापी हामीलाई स्वीकार्य छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell