PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेटौंडाको आश्रममा फलफूल र तरकारी गोडमेलमा रमाउँदै छन् वृद्धवृद्धा



निशा गुरुङ

हेटौंडाको आश्रममा फलफूल र तरकारी गोडमेलमा रमाउँदै छन् वृद्धवृद्धा
तस्विर : मानवसेवा आश्रम

हेटौंडा : निषेधाज्ञाका कारण हेटौंडा करिब एक महिनादेखि ठप्प छ। बजार बन्द छ। नागरिकहरु घरभित्र थुनिएका छन्। हेटौंडा उपमहानगरपालिका वडा ९  धाप क्षेत्र पुरै बन्द हुँदा त्यही रहेको मानव सेवा आश्रममा भने बिहानै देखि चहलपहल हुन्छ। निषेधाज्ञा अघि पनि आश्रममा काम नहुने भने होइन। तर निषेधाज्ञामा त्यहाँ बस्दै आएका वृद्धवृद्धाहरुले आफ्नो लागि फलफूल र तरकारी खेती गर्न व्यस्त छन्।  

८५ वर्षीया फूलमाया मानव हरेक बिहान र बेलुकी आश्रमको बारीमा पुग्छिन्। उनीसँगै त्यहाँ बस्दै आएका अन्य वृद्धवृद्धाहरु पनि गोडमेल गर्न बारी पुग्छन्। आश्रमकी इन्द्रकुमारी मानव आश्रितहरुलाई बारीमा गोडमेल गर्न सहजीकरण गर्छिन्। आश्रममा आश्रित वृद्धवृद्धाहरुले फलफूलका विरुवा रोपेर आफैले गोडमेल गरेर विरुवा हुर्काएका थिए। उनीहरुकै परीश्रमको फल अहिले मानवसेवा आश्रमको बगैँचामा देख्न सकिन्छ।

बगैँचामा लटरम्मै आँप, लिच्चि, भुइँकट्टर, केरा र अम्बा फूलेका छन्। जसले त्यहाँको सुन्दरता त थपेको छ नै आश्रितहरुलाई समय उपयोग गर्ने साध्य पनि मिलेको छ। फलफूलसँगै आश्रितहरुले विभिन्न किसिमका तरकारीहरु पनि रोपेका छन्। १६ बिघा जग्गामा फैलिएको मानवसेवा आश्रमको करिब २० कठ्ठामा भवन छन् र अन्य सबै जग्गामा भने फलफूल र तरकारी खेती हुँदै आएको छ।

आश्रममा आश्रितहरु त्यत्तिकै बस्दा विभिन्न मानसिक तनाव हुने भएकाले  सक्नेलाई आश्रम भित्र फलफूल र तरकारी उत्पादनमा श्रम गरिरहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन्।

'बुवा आमालाई पनि तनावमुक्त भयो र अहिले बारीभरि फलफूल देख्दा आमा बुवा निकै खुशी हुनुभएको छ' उनले भने।

अभियन्ता होमनाथ पौडेलका अनुसार अहिले आश्रममा फलेका फलफूल र तरकारी आश्रममै रहेका वृद्धवृद्धाहरुलाई वितरण गरिँदै आएको छ। आफ्नै परिश्रमको फल खान पाउँदा उनीहरु  निकै हर्षित भएको उनी बताउँछन्।

आश्रममा अहिले करिब दुई सय जना आश्रित छन्। जसमा ७४  जना महिला र १२१ जना पुरुष रहेका छन्। ५ जना बालबालिका पनि आश्रममा छन्।

आश्रममा सडकमा आश्रि मानिसहरुलाई उद्धार गरेर ल्याउने गरिन्छ। सडकमा आश्रित भइ आश्रम ल्याइने अधिकांमा मानसिक रोग देख्ने गरिएको छ। आश्रममा रहेका १५० जनालाई नियमित रुपमा औषधि दिनुपर्छ। 

मानव सेवा आश्रमले नेपालभर सडक आश्रितहरुलाई उद्धार गरि उनीहरुको रेखदेख गर्दै आइरहेको छ। मानसिक सन्तुलन गुमाएका, वृद्ध वा शारीरिकरुपमा अशक्त भएर वा कुनै रोग उपचार गर्न नसकेर सडकमा पुगेका, अलपत्र अवस्थाका रहेकोहरुलाई आफूहरुले उद्धार गरि  स्याहार गर्ने गरेको बताउँछन् अध्यक्ष रामजी अधिकारी बताउँछन्।  उद्धार गरेर आश्रममा ल्याइएकाहरुको उपचार गर्ने र सम्भव भएसम्म परिवार खोजेर पारिवारिक पुनर्मिलन गराउने, परिवार नभेटिए आश्रममै सहारा दिने गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell