PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पैतीस वर्षीय डाक्टरको कोरोना संक्रमणबाट मृत्यु, लगाएका थिएनन् खोप



पूजा पन्थी

पैतीस वर्षीय डाक्टरको कोरोना संक्रमणबाट मृत्यु, लगाएका थिएनन् खोप

बुटवल : रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधवार राती मृत्यु भएको हो।

शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डाक्टर पशुपति रजौरियाको ३५ वर्षको उमेरमा कोभिडकै कारण मृत्यु भएको हो। भर्खरै विवाह गरेका डाक्टर र उनकी पत्नी दुवै कोभिडसँगै लडिरहेका थिए। उनकी श्रीमती डाक्टर हसिना वानुले कोभिड परास्त गरेपनि डा रजौरिया भने हारे। उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत हुन्। श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन्। उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो।

छोटो समयमै राम्रो पहिचान बनाइसकेका डाक्टर रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन्। निकै राम्रा र लगनशील डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताए। उनको घर कपिलवस्तुमा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

कोभिड १९ का कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्। उनीहरु मध्ये अधिकांशले संक्रमणलाई पराजित गरेका छन् । डा रजौरियाले कोभिड विरुद्धको खोप नलाएको अस्पतालको रेकर्ड शाखाले जनाएको छ। भर्खरै विवाह गरेका उनीहरु दुवै जनाले खोप लगाएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell