काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।
बालुवाटारमा बिहीवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो।
यसअघि आइतवार र सोमवार पनि बैठक स्थगित गरिएको थियो भने मंगलवार बसेको बैठकले एमाले विवाद समाधानका लागि लचिलो हुने निर्णय गरेको थियो। बुधवार बोलाइएको बैठक बिहीवार सम्मका लागि सारिएको भए पनि आज फेरि बैठक स्थगित भएको छ।
'अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको छ,' तामाङले भने।
ओली र माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरु विवाद समाधानका लागि संवादमा जुटेपछि स्थायी कमिटीको बैठक स्थगित हुदै आएको छ।
हाल वरिष्ठ नेता नेपाल समूह भने केन्द्रीय कमिटीको भर्चुअल बैठकमा जुटेको छ। नेपाल समूहका दोस्रो तहका नेताहरु पनि बैठकमा सहभागी छन्।नेपाल समूहको आजको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने ओलीले निर्देशन जारी गरेका थिए।
एमाले नेताहरुका अनुसार अझै पार्टी एकताको सम्भावना रहेकाले ओलीले स्थायी कमिटीको स्थगित गर्दै आएका छन्।
