PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कैलालीमा पहिलोपटक ‘म्यूकरमाइकोसिस’ संक्रमितको मृत्यु



एम बम

कैलालीमा पहिलोपटक ‘म्यूकरमाइकोसिस’ संक्रमितको मृत्यु

कैलाली : कैलालीमा एक जना म्यूकरमाइकोसिस अर्थात् कालो ढुसी संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। श्रेष्ठले ती पुरुषले पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताए। यसअघि यस्तो लक्षणका कुनै पनि संक्रमित अस्पतालमा फेला नपरेका भए पनि पहिलो पटक उनमा देखिएको र मृत्यु भएको श्रेष्ठले बताए।

मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर, डाक्टर निशान भट्टराई र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको थियो। मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सकहरूले बताएका छन्।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनमा बुधवार कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएको बताउँदै कमरले आईसीयूमा राखेर उनको उपचार थालिए पनि बचाउन नसकिएको बताए।

उपचारमा संलग्न अर्का चिकित्सक डा अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो। तर उनको रिपोर्ट नेगेटिभ आयो। उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि कालो ढुसीको संक्रमण पुष्टि भएका उनमा एम्फोटेरिसेन बीनामको औषधि प्रयोग गरिएको चिकित्सकले बताएका छन्।

कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने बताउँदै उनले शरीरको जुनसुकै अङ्गमा समेत यसले असर गर्न सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell