PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल समूहको निष्कर्ष : 'ओलीले वार्ताका नाममा झुलाए, नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ'



प्रकाश भण्डारी

नेपाल समूहको निष्कर्ष : 'ओलीले वार्ताका नाममा झुलाए, नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ'

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नयाँ पार्टीको बारेमा छलफल गरेका छन्।

केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नयाँ पार्टी बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले नयाँ पार्टी बनाउने विकल्पलाई पनि अघि बढाउनुपर्ने विषयमा नेताहरुले धारणा राखेको बताए। 'नयाँ पार्टी बनाउने विकल्पका रुपमा जानुपर्छ भन्ने कुरा आएको छ। हामीले उठाएका कुराको वास्ता गरिएन भने नयाँ पार्टी बनाएर अघि बढनुपर्छ भनेका छन् धेरैले,' उनले भने।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको अनौपचारिक छलफलका बारेमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ब्रिफिङ गरेका थिए। उनले ओली समूहले वार्ताका नामममा अलमल्याएको जानकारी गराए।

नयाँ पार्टी र वार्ताको विषय सँगसँगै अघि बढाउनुपर्ने पाण्डेले बताएका थिए। यस्तै झलनाथ खनालले नयाँ पार्टी बनाउन ढिलो गर्न नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए। 'नयाँ पार्टी बनाउन अब कति पनि ढिला गर्न हुन्न भन्नेबारेमा उहाँले आफ्नो धारणा राख्नुभएको छ,' खनाललाई उदृत गर्दै ती केन्द्रीय कमिटी सदस्यले भने।

यस्तै नेपालले पनि बैठकलाई सम्बोधन गरेका छन्। उनले अनौपचारिक रुपमा वार्ता गर्नु सकारात्मक भए पनि ओलीले वार्ताका नाममा झुलाएकाले अगाडि बढ्नुको विकल्प नभएको धारणा राखेका छन्। 'अनौपचारिक छलफल गर्नु ठिकै हो। तर वार्ताका नामममा समय व्यतित गर्ने काम भयो। अब अगाडि बढ्नुको विकल्प छैन्,' नेपाललाई उदृत गर्दै एक नेताले भने।

कतिपय केन्द्रीय कमिटी सदस्यहरुले नेकपा एमालेलाई २०७५ जेठमा फर्काएर नवौं महाधिवेशनको नीति सिद्धान्त अनुसार अघि बढ्न सहमति भएमा नेकपा एमालेलाई एकतावद्ध बनाएर जानुपर्ने धारणा राखेका छन्। तर, फागुन २३ गते यता भएका सबै राजनीतिक निर्णयको गम्भीर समीक्षा हुनुपर्ने नेपाल समूहका नेताहरुको धारणा छ।

नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुले ओली समूहसँग संवाद गरिरहेका छन्। उक्त संवादमा रहेका घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरुले आफ्नो बारेमा ओली समूहले गलत प्रचार गरेको बताएका छन्। नेपाल समूहका नेताहरुले ओली निकट नेताहरुसँग संवाद गर्न थालेपछि नेपाल समूहमा विभाजन आउन लागेको चर्चा चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell