PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चौतर्फी दबाबबीच अब के गर्लान् माधव नेपाल?



प्रकाश भण्डारी

चौतर्फी दबाबबीच अब के गर्लान् माधव नेपाल?
फाइल फोटो

काठमाडौं: नेकपा (एमाले) मै रहने कि नयाँ पार्टी बनाउने? भन्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। बिहीबार भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल समूहका ४८ जना केन्द्रीय सदस्यले नेपाललाई सुझाव दिएका थिए। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते अघिको एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता नदिएको भन्दै नेपाल समूहले अबको रणनीतिबारे बिहीबार छलफल गरेको हो। बैठकलाई वरिष्ठ नेता नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए भने नेपाल समूहबाट हाल ओली समूहका नेताहरूसँग संवादमा रहेका नेताहरूले पछिल्लो वार्ताबारे ब्रिफिङ गरेका थिए। सबै केन्द्रीय सदस्यले धारणा राखी नसकेकाले भोलि बाँकी सदस्यले धारणा राखेपछि बैठक सकिने छ। बैठकले नेपाल समूहका अबको रणनीतिका बारेमा महत्त्वपूर्ण निर्णय गर्ने नेपाल समूहका नेताहरूले बताएका छन्।

नेपाललाई मिश्रित सुझाव

नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले मुख्गरी दुई खालका सुझाव दिएका छन्। ओलीलाई मनाएर एमाले एकता बलियो बनाउनुपर्ने सुझाव एकथरी नेताहरूले दिएका थिए भने अर्कोथरी नेताहरूले अब परिस्थिति निकै अगाडि बढिसकेकाले नयाँ पार्टी गठनको विकल्प नभएको बताएका छन्। कतिपय केन्द्रीय कमिटी सदस्यहरूले भने ओलीले वार्ताका नाममा झुक्काइरहेकाले वार्ताको औचित्य नै नभएको धारणा राखेका थिए। केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीले आफ्ना माग पूरा गरेमा एमालेमै नभए नयाँ पार्टी गठनका लागि ढिला नगर्न सुझाव दिएको बताए।

'२०७५ जेठ २ को कमिटीलाई मान्यता दिएर। प्रतिनिधि सभा विघटनको निर्णयलाई फिर्ता लिएमा एमालेमै एकता गर्नुपर्छ नभए चाँडै नयाँ पार्टी गठनतिर  लाग्नुपर्छ भन्ने म र धेरैजसो केन्द्रीय सदस्यको धारणा छ,' उनले भने।

सहकार्यमै वार्ता

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता टोलीका नेता भीम रावललाई कारबाही गरेर अरू नेतामार्फत संवाद गर्नुले शंका उत्पन्न भएको भन्दै केन्द्रीय सदस्यहरूले दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टको भूमिकामाथि प्रश्न उठाएका थिए।

'वार्तामा गएका साथीहरू सरसल्लाहमै गएको हो भने त्यसलाई हाम्रो टिमकै कुरा हो भन्नुपर्‍यो। केपी ओलीले मान्ने स्थिति हो भने वार्ता छिटो गर्ने, हैन हुँदैन भने ढिला नगर्न र विकल्पहरू सोच्ने भन्ने मैले सुझाव दिएको छु,' उनले भने।

नेपालले आफू र खनालसँगको समझदारीमै वार्ता भएको भन्दै शंका नगर्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको मानन्धरले बताए। 'हाम्रो कुरा भएरै वार्ता भएको हो। अनौपचारिक भए पनि शंक गर्नु पर्दैन भनेर नेपालले भन्नुभएको छ,' उनले भने। एमाले विवाद समाधानका लागि गठित ओली-नेपाल समूहको ५/५ सदस्यीय वार्ता टोली हाल निष्क्रिय अवस्थामा छ।

वार्ताबारे सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ब्रिफिङ गरेका थिए। उनीहरूले ओली समूहसँगको वार्ता सकारात्मक भए पनि औपचारिक निर्णयका लागि ओलीमा भर पर्ने बताएको केन्द्रीय सदस्य जयन्ती राईले जानकारी दिइन। 'वार्ता जति गरे पनि ओलीले एक पछि अर्को गल्ती गरिहरेकाले वार्ता  सकारात्मक भए पनि उपलब्धि भएन। फेरि पनि ओलीको व्यवहारमा भर पर्ने संवादमा रहेका कमरेडहरूले बताउनुभयो,' वार्तामा संलग्न नेताहरूको भनाई उद्धृत गर्दै राईले भनिन्।

वार्तामा आ-आफ्ना सर्त

ओली र नेपाल समूहका नेताहरूबीच भइरहेको संवादमा दुबै समूहले आ-आफ्नै अडान राखेका छन्। उक्त अडानबारे नेपाल समूहका नेताहरूले केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए। नेपाल समूहका दोस्रो तहका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमालले नेपाल समूहले प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबाट पछि हटनुपर्ने सर्त राखेका छन्। यस्तै, नेपाल समूहका नेताहरूले भने ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गलत भएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेको मानन्धरले बताए।

'देश, काल र परिस्थिति अनुसार प्रतिनिधिसभा विघटन गलत भयो भनेर हाम्रो तर्फका साथीहरूले सर्त राख्नुभएको बैठकमा जानकारी दिनुभयो,' उनले भने।

के गर्छन् माधव नेपाल?

नेपालले बिहीबारको बैठकमा ओलीले वार्ताको कार्ड खेलेको धारणा राखेका थिए। उनले अन्तिमसम्म पनि वार्ताको प्रयास हुनु सकारात्मक भएको बताएको मानन्धरले बताए। 'अन्तिमसम्म पनि वार्ता हुनु सकारात्मक छ। ओलीले हाम्रा माग समाधान गर्छन् भने एकताका लागि हामी तयार हुनुपर्छ। तर ओलीका गतिविधि हेर्दा उनी त्यतातिर जाने सम्भावना कम छ, 'नेपाललाई उद्धृत गर्दै मानन्धरले भने।

नेपालले वार्ता र नयाँ पार्टी गठनको तयारी सँग-सँगै गर्नुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्य राईले नेपालले दुबै विकल्प खुला रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेको बताइन। 'वार्ता र नयाँ पार्टीको कुरा सँगै लैजाऊ भन्नुभएको छ। तर ओलीले एक पछि अर्को च्यालेन्ज गरिरहनुभएको छ। त्यसैले वार्तातर्फ धेरै सकारात्मक हुन सकिँदैन भन्नुभयो,' राईले भनिन्।

बैठकमा सहभागी एक अर्का केन्द्रीय कमिटी सदस्यका अनुसार नेपालले अब निर्णयको बेला आएको बताएका थिए। उनले अब अन्तिम समय आएको र केही समयमै निर्णयमा पुग्ने बताएका थिए। 'अब करिब करिब अन्तिम समय आइसक्यो। केही समयमै निर्णय हुन्छ,' नेपालको धारण उल्लेख गर्दै ती केन्द्रीय सदस्यले भने।

जनवर्गीय संगठनहरुले नयाँ पार्टी गठनका लागि ढिला नगर्न नेपाललाई दबाब दिइरहेका बेला नेपालले छलफल थालेका हुन्। ओली समूहले नेपालले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्देशन दिएको थियो। ओलीको उक्त आदेशलाई उल्लङ्घन गर्दै नेपाल समूहको बैठक बसेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell