काठमाडौं : सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नम्बर ६ का ५३ वर्षीय रत्नबहादुर तामाङलाई केही दिनअघि कोरोनाका लक्षणहरु देखिए। त्यसपछि वडामार्फत कोरोना परीक्षण गर्यो। नभन्दै तामाङलाई कोरोना पोजेटिभ पुष्टि भयो।
गाउँको रत्न राज्य माविमा बनाइएको आइसोलेसनमा भर्ना भए जेठ १७ गते। संक्रमण भएको १४ दिनसम्म सुरक्षित बस्नुपर्ने स्वास्थ्य मापदण्ड छ। त्यसैले पनि तामाङले कम्तीमा पनि १० दिन आइसोलेसनमा नै बिताउनुपर्ने थियो।
तर आइसोलेसनमा आएको दुई दिन नवित्दै उनी घर जान्छु भन्न थाले। आइसोलेसनका व्यवस्थापकले उनलाई घर जान दिएनन्। बुधवार राति उनी खाना खाएपछि आइसोलेसनको तेस्रो तलातिर उक्लिए। स्वास्थ्यकर्मीले र अन्यले रोक्दारोक्दै पनि तेस्रो तलामा गएर मर्ने धम्की दिन थालेको आइसोलेसका व्यवस्थापक रामबाबु नेपालले बताए।
'उहाँले घर जाने भन्नु भएको थियो। उहाँ संक्रमण हुँदाहुँदै घर पठाउने कुरै भएन। राति स्ट्रान्ड नै लिएर अस्पतालको तेस्रो तलमा चढ्नु भयो। हामीले रोक्दारोक्दै फलामको स्ट्रान्डले झ्यालको सिसा फोरेर हाम फाल्नु भयो,' व्यवस्थापक नेपालले भने।
राति साढे १ बजेतिर हाम फालेका तामाङको उपचारको क्रममा नै करिब ३ बजेतिर मृत्यु भएको खबर आयो। तामाङले किन आत्महत्या गरे भन्ने पनि रहस्यमा नै रह्यो। आइसोलेसनमा खटिएका केही स्वास्थ्यकर्मीले डिप्रेसन हुन सक्ने आँकलनमात्र गरे तर स्वतन्त्र पुष्टि कहीकतै हुन सकेको छैन।
तामाङमात्र होइनन् पछिल्लो समय आइसोलेसनमा बसेका मानिसले आत्महत्या गर्ने दर बढेको छ। यसरी आत्महत्या गर्नेमा युवादेखि वृद्धसमेत रहेका छन्। उनीहरुले किन आत्महत्या गरे भने खुल्न सक्दैन। तर अहिलेको परिस्थिति र डिप्रेसन नै मुख्य कारण भएको चिकित्सकहरु बताउँछन्।
चितवन माडी नगरपालिका ३ बस्ने ३५ वर्षीय गोविन्द साहले गत वैशाख २३ गते मृत अवस्थामा फेला परे। साह आफ्नै घरको सुत्ने कोठामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
साह भारतबाट वैशाख १५ गते भारतबाट चितवन आएका थिए। चितवन आएपछि उनले २२ गते बघौडा अस्पतालमा कोरोना परीक्षण गराएका थिए। उनको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए।
कोरोना पोजेटिभ देखिएपछि उनी छुट्टै घरमा बस्दै आएका थिए। उनका परिवार भने केही पर रहेको घरमा बस्दै आएका थिए।
'उहाँ घर नजिकै रहेको एउटा सानो घरमा बस्दै आउनु भएको थियो। किन उहाँले आत्महत्या गर्नु भयो भन्ने थाहा नै पाइएन। पोजेटिभ देखिएपछि उहाँको स्वास्थ्यमा कुनै समस्या थिएन,' माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतोले भनिन्।
उनी आफन्त भेटघाटको लागि भारत गएका थिए। भारतमा आफन्त भएकाले पनि साह भारत आउजाउ गर्ने गरेको खुलेको छ। उनको आत्महत्याको कारण खुलिसकेको छैन।
आइसोलेसनमा बसेकामात्र होइन अन्य मानिसले पनि आत्महत्या गरेको घटना पछिल्लो समय बढी नै सुनिन थालेको छ। जेठ ४ गते प्युठानमा तीन जना एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परे।
प्युठान नगरपालिका १ स्थित रातेमाटा सामुदायिक वनभित्र पासो लगाएर झुन्डिएको अवस्थामा तीन जनाको शव फेलाको थियो। प्युठान नगरपालिका २ बस्ने २६ वर्षीया गायत्री सुनवार, ६ वर्षीया बालिका प्रकृति सुनुवार र १ वर्षीय बालक सुशान्त सुनुवारको शव फेला हो।
मृत फेला परेका दुई बालक-बालिका भने गायत्रीका छोरी र छोरा हुन्। छोरा छोरीको घाँटीमा सलमा पासो र आमा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको हो।
उनी सासु ससुरासँग बन्दै आएकी थिइन्। सोमवार उनी माइत जान भन्दै घरबाट निस्किएको परिवारले प्रहरीलाई जानकारी दिएको छ। पछिल्लो समय देशभर आत्महत्या गर्नेको संख्या बढेर गएको छ।
१० महिनामा ५ हजारले गरे आत्महत्या
चालु आर्थिक वर्षको १० महिनामा देशभरबाट ५ हजार ६ सय ७३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ। सबैभन्दा धेरै मानिसले झुन्डिएर आत्महत्या गरेका छन्। ४ हजार ५ सय ३५ जना मानिसले झुन्डिएर आत्महत्या गरेका हुन्। विष खाएर आत्महत्या रोज्न मानिसको सङख्या १ हजार ४२ रहेको छ। हामफालेर आगो लगाएर र डुबेरसमेत मानिसले आत्महत्या गरेका छन्।
यसरी आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष रहेका छन्। यो अवधिका ३ हजार १ सय ३३ जना पुरुष, १ हजार ९ सय ३२ जना महिला, २ सय ३९ बालक र ३ सय ६९ बालिका रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।
प्रहरीको तथ्याङकअनुसार १० महिनामा सबैभन्दा धेरै १ हजार १ सय ८६ जनाले प्रदेश नम्बर १ मा आत्महत्याका घटना भएका छन्। उपत्यकाभित्र ४ सय ३० जनाले आत्मह्त्या गरे। त्यस्तै प्रदेश नम्बर २ मा ७ सय ३४, बागमती प्रदेशमा ८ सय ४१ जना, गण्डकी प्रदेशमा ५ सय ३८, लुम्बिनी प्रदेशमा १ हजार ९२ जना, कर्णाली प्रदेशमा २ सय ९२, सुदुरपश्चिममा ५ सय ६० जनाले आत्महत्या गरेका छन्।
गएको बैशाख महिनामा मात्र ५ सय ५२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवारले जानकारी दिए। गएको चैत महिनमा ५ सय ८३ जनाले आत्महत्या गरेका थिए। त्यस्तै साउन महिनामा ७ सय ९, भदैमा ६ सय १२ जना, असोजमा ५ सय ६२, कातिकमा ५ सय ४३, मंसिरमा ५ सय ४१, पुस महिनामा ५ सय ८ जना, माघमा ५ सय १८ र फागुनमा ५ सय ५ जनाले आत्महत्या गरेको देखिएको छ।
आर्थिक वर्ष ०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिकवर्ष ०७४/७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो र ५ हजार ३ सय १७ पुगेको थियो।
