काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह तयार भएपछि प्रदेश नम्बर २ को सत्तामा हुनसक्ने हेरफेरलाई लिएर अर्का अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको छ।
अध्यक्ष यादव आज जनकपुर गएका छन्। जनकपुर जानुअघि उनले नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिसँग छलफल गरेका छन्। बिहान दुई नेता बिच डेढ घन्टा छलफल भएको थियो। छलफलमा यादवले प्रदेश २ सरकारमा सहभागी हुन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
संघीय सरकारमा महन्थ ठाकुर पक्ष सहभागी हुने भएपछि जनता समाजवादी पार्टी विभाजन हुने निश्चित छ। त्यसको सोझो असर प्रदेश २ मा पनि पर्ने छ। त्यसैका लागि रणनीति बनाउन दुई नेता बिच छलफल भएको हो।
उप सभापति निधिको निवासमा भएको छलफलमा यादवले प्रदेश सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरेका हुन्। उनको आग्रहको जवाफ दिँदै निधिले केन्द्रको समीकरणअनुसार नै 'फलो' गर्नुपर्ने बताएका थिए। साथै, निधिले प्रदेश २ मा लगातार ३ वर्ष जनता समाजवादीको नेतृत्वमा सरकार रहेकाले अब कांग्रेसको नेतृत्वमा पुनर्गठन गर्नुपर्ने बताएका थिए।
यादवले भने पहिलो प्राथमिकतामा कांग्रेस मन्त्रिपरिषदमा समावेश हुनुपर्ने तर्क अघि सारेका छन्। उनले त्यसपछि नेतृत्व फेरबदलको विषयमा छलफल गर्न सकिने बताएका थिए।
संघीय सरकारमा हुने फेरबदलसँगै प्रदेश २ मा ठाकुर पक्षीय सांसदहरुलाई पन्छाउँदै कांग्रेससँगको समीकरणमा उत्रिने उपेन्द्र यादवको रणनीति छ। त्यसैले पनि दुई शीर्ष नेता बिचको छलफललाई महत्वका साथ हेरिएको हो।
निधिले केन्द्रको समीकरणलाई पछ्याउँदै प्रदेश २ संसदमा नेपाली कांग्रेस संसदीय दलका नेता रामशरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने शर्त अघि सारेका छन्। साथै, उनले प्रदेशको नामाकरण लगायतका विषयमा पनि छलफल अगाडि बढाएर जाने बताएका थिए।
प्रदेश २ का १०७ प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका ३ जना बर्खास्त भइसकेका छन्। तत्काल कायम रहेको १०४ जनामा पूर्व संघीय समाजवादी पार्टीका ३०, पूर्व राजपाका २५, एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादीका ८, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजावदी पार्टीका १ सदस्य छन्।
पूर्व संघीय समाजवादीका २९, नेपाली कांग्रेसका १९ र माओवादीका ८ गरी कूल ५६ सांसद हुन्छन्। यस्तो समीकरण बनाउन सकेमा प्रदेश २ मा हुनसक्ने 'प्रधान मन्त्री ओलीको रणनीतिक आक्रमण' निस्तेज हुनेछ। जसरी कर्णाली र सुदूर पश्चिम प्रदेशमा नेकपा एमालेको ओली पक्ष असफल भएको थियो, त्यो प्रदेश २ पनि दोहरिन सक्छ।
शीर्ष नेता बिच छलफलपछि उपेन्द्र यादव जनकपुर हिँडेका छन्। उनको यात्रालाई अहिलेको अवस्थामा महत्वका रणनीतिक यात्राका रुपमा हेरिएको छ। त्यहाँ उनले केन्द्रको समीकरण अनुसार कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछन्।
