PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना नियन्त्रणमा 'असफल' मानिएका ब्राजिलका राष्ट्रपतिको 'कोपा अमेरिका' खेलाउने योजना, अदालतले सोध्यो कारण



पहिलोपोस्ट

कोरोना नियन्त्रणमा 'असफल' मानिएका ब्राजिलका राष्ट्रपतिको 'कोपा अमेरिका' खेलाउने योजना, अदालतले सोध्यो कारण
ब्राजिलका राष्ट्रपति, तस्बिर : रोयटर्स

ब्राजिल कोभिड १९ को महामारीका कारण धेरै प्रभावित हुने देशहरुमध्ये एक हो। यो संकटका बिच ब्राजिलमा कोपा अमेरिका कप आयोजना गर्ने सरकारले तयारी थालेको छ। संक्रमण नियन्त्रण र रोकथाममा असफल भएको भन्दै आलोचित ब्रालियन राष्ट्रपति जैर बोलसानारोको उक्त निर्णयको ब्राजिल भर विरोध भइरहेको छ।

संक्रमणबिच फुटबल आयोजना गराउने निर्णयको विरुद्ध अदालतमा परेको मुद्दा समेत दायर भएको छ। सो मुद्दाको सुनुवाइ गर्दै ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति जैर बोलसानारो सरकारलाई प्रतियोगिता गर्नुपर्ने कारण पेश गर्न निर्देशन दिएको छ। अदालतले पाँच दिनभित्र कारण पेश गर्न भनेको छ। 

अर्जेन्टिनामा कोभिडको दोस्रो लहरका कारण लकडाउनको अवस्था आएपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेबोल)ले अन्तिम समयमा ब्राजिलमा कोपा अमेरिका गराउने निर्णय गरेको थियो। जसलाई बोलसानारोले सहर्ष स्वीकार गरेका थिए। उनले मंगलवार अर्जेन्टिना प्रतियोगिताबाट पछिपरेसँगै आफूहरु प्रतियोगिताका लागि तयार रहेको बताएका थिए।

यता, ब्राजिलको विपक्षी वर्कर्स पार्टीका नेता रिचार्डो लेवान्डोस्कीले संक्रमणबिच प्रतियोगिता गर्ने सरकारको फैसलाविरुद्ध मुद्दा उठाएसँगै फेरि प्रतियोगितालाई लिएर अन्योल उत्पन्न भएको छ। तर, बोलसानारोले ब्रासिलियामा समर्थकहरुसँगको कुराकानीमा आफूले स्वास्थ्यमन्त्री मार्सेलो क्वोइरोगासँग चार हप्ते प्रतियोगिताबारे छलफल गरेर प्रतियोगिता आयोजना गर्ने निष्कर्षमा पुगेको जनाएका छन्।

ब्राजिलमा ४ लाख ६९ हजार भन्दा धेरै मानिसहरुको कोरोना संक्रमणका कारण निधन भएको छ जुन अमेरिकापछिको दोस्रो हो। विज्ञहरुले कोरोनाको अर्को वेभ आउनसक्ने चेतावनी दिइरहेका छन् भने अस्पतालमा अहिले पनि ८० प्रतिशतबढि आईसीयू कोभिड संक्रमितबाटै भरिएका छन्।

ब्राजिलमा प्रतियोगिताको उद्घाटन खेल जुन १३ मा सुरु हुने तय भएको छ भने  समापन जुलाई १४ मा हुने बताइएको छ। यद्यपि, अझै प्रतियोगिता आयोजना हुने शहरहरुको निर्क्योल हुन सकेको छैन।

यसअघि कोलम्बिया र अर्जेन्टिनामा संयुक्त रुपमा प्रतियोगिता हुने निर्धारण गरिएको थियो। तर कोलम्बियामा सरकार विरुद्ध आन्दोलन चर्कियो र कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै सबै खेल अर्जेन्टिनामा गराउने तयारी भएको थियो। पछि अर्जेन्टिनामा पनि महामारीको संक्रमण बढेछि खेल ब्राजिलमा गर्ने सहमति भएको थियो।

यता,प्रतियोगितामा सहभागीहरु राष्ट्रहरुले नै ब्राजिलको अवस्था प्रति सन्देश व्यक्त गरेका छन्। 

कोलम्बियाका फुटबलरहरुको संघले ब्राजिलको स्वास्थ्य अवस्थाप्रति चासो देखाउँदै बिहीवार विज्ञप्ति निकालेको छ।

‘खेल भेन्युको परिवर्तनबारे कोलम्बियाको राष्ट्रिय टिमका खेलाडीले चासो दिएका छन्। खास गरि ब्राजिलको जटिल स्वास्थ्य व्यवस्थाप्रति,’ विज्ञप्तिमा भनिएको छ, ‘कन्मेबोलको यो निर्णयले फुटबलरहरुमा स्वास्थ्यको जोखिमका कारण अनिश्चितता पैदा भएको छ।’

आयोजक ब्राजिलले भने प्रतियोगिताको समयमा समर्थकहरुलाई मैदान प्रवेशको अनुमति नदिने र प्रतियोगितास्थलमा स्वास्थ्य प्रोटोकलको कडाइ गरिने ग्यारेन्टी गरेका छन्।

हाल ब्राजिलमा कूल जनसंख्याको ११ प्रतिशत भन्दा कमलाई मात्र भ्याक्सिनेसन  गरिएको छ। २०२० मै हुनुपर्ने यो प्रतियोगिता कोभिड महामारीका कारण १ वर्ष पछि सरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell