PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

इराक र ताइवानविरुद्ध गोल गरेका विष्ट भन्छन् : प्रेसर लिएको छैन, हामी अन्तिमसम्म फाइट गर्छौं



पहिलोपोस्ट

इराक र ताइवानविरुद्ध गोल गरेका विष्ट भन्छन् : प्रेसर लिएको छैन, हामी अन्तिमसम्म फाइट गर्छौं

काठमाडौं : नेपाली फुटबल टोली यतिबेला विश्वकप छनोट अन्तर्गतको खेल खेल्न कुवेतमा पुगेको छ। इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले कुवेतमा बिहीवार सम्पन्न खेलमा चाइनिज ताइपेइविरुद्ध जित निकाल्यो। यी दुवै खेलमा गोल गर्ने नेपाली खेलाडी थिए अन्जन विष्ट।

दुवै खेलमा सुरुवाती अग्रता बनाएका बिष्ट ताइपेइ विरुद्धको खेलमा जित्ने लक्ष्यको साथ उत्रिएको र प्रशिक्षकको रणनीति अनुसार खेल्न सक्दा जित निकाल्न सकिएको प्रतिकृया दिए।

‘पहिलो चाहीँ गोल भन्दा नि हाम्रो जित्नु लक्ष्य थियो। कोचले बनाएको रणनीति अनुसार हामी खेल्न सफल पनि भयौं। हामी जित्छौं भनेर गइसकेपछि जित्नकै लागि खेल्छौं,’ बिष्टले भने, ‘जित्ने मनस्थिति भएपछि गोल त जसरी नि निस्किहाल्छ। जित्नु छ भने गोल त हान्नु पर्छ। हिजो मैले हाने। अरु दिन अरुले हान्छ। मुख्य लक्ष्य जित्नु थियो। त्यसको लागि हाम्रो कोचले जे भन्नु भएको थियो हामीले त्यही गर्‍यौं।’

विश्वकप छनोटको समूह बीमा रहेको नेपालले ६ खेल खेल्दा २ जित निकालेको छ भने बाँकी खेलमा फराकिलो हार ब्यहोरेको छ। नेपालले निकालेको दुवै जित ताइवानविरुद्ध नै हो। ताइवानविरुद्धको पहिलो लेगमा पनि नेपालले २-० गोल अन्तरले नै जित निकालेको थियो। जसमा बिष्टले नै दुवै गोल गरेका थिए। अब नेपालले प्रतिस्पर्धा गर्न बाँकी टोली एसियाली फुटबलका अब्बल टीमहरु नै छन्। अब नेपालको अर्को प्रतिस्पर्धी हो जोर्डन्। त्यसपछि अस्ट्रेलिया।

बिष्ट आफूहरुले यसको लागि तयारी गरिरहेको बताउँछन्।

‘अब जोर्डन र अस्ट्रेलिया धेरै राम्रो छन्। हामी त्यसको लागि स्टेप बाइ स्टेप गइरहेका छौं। हामी अन्त्यसम्मै फाइट गर्नेछौं,’ उनले भने, ‘मलाई त्यस्तो प्रेसर लाग्दैन किनभने गेममा छिरिसकेपछि मेरो पोजिसन नै त्यही छ गोल हान्नकै लागि खेल्ने हो। टीमले जित्नका लागि खेल्ने हो,’

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमार्फत एउटै कुरामा जोड दिइरहेका हुन्छन्, उनको आग्रह हुन्छ: खेलाडीलाई दबाब नदिनु बरु मलाई गाली गर्नु।

 

यसैको प्रभाव हुन सक्छ बिस्टले पछिल्लो खेलहरुमा दवाब महसुस गरेका छैनन्। ताइपेइसँगको खेललाई स्मरण गर्दै भने: प्रेसर थिएन। गोल निस्कियो।

त्यसैले पनि डिफेन्सिभ मुडमा देखिने नेपाली टोली पछिल्ला दुई खेलमा अट्याकिङ मुडमा देखिएको छ। नेपाली समर्थकमाझ चर्चामा रहने प्रशिक्षक अलमुताइरीको आगमनसँग बिष्टले खेलको रणनीतिमापनि केही फरकपन पाएका रहेछन्।

‘जुन हामीलाई कोचले ट्रेनिङमा सिकाउनु भएको हामीले खेल्ने स्ट्राटेजी, हामीले खेल्ने प्याट्रन, स्टाइल सबै फरक छ नि त अपोनेन्टहरुलाई डोमिनेन्ट गरिरहेका छौं। त्यो फरक छ,’ उनले भने।

नेपाल विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो स्थानमा छन्। समूहमा नेपालले ६ खेल खेल्दै ६ अंक जोडेको छ। यसअघि सबै 'अवे' खेल खेलिसकेको नेपालले अब 'होम गेम'का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। यसअघिको खेलमा पनि नेपालले चाइनिज ताइपेइमाथि २-० कै जित निकालेको थियो।

समूह बी मा ५ खेलबाट १५ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

अब नेपालले जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell