PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अक्सिजन उत्पादन र खपतबारे दैनिक नागरिकलाई जानकारी गराउन र प्रभावकारी व्यवस्थापन गर्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

अक्सिजन उत्पादन र खपतबारे दैनिक नागरिकलाई जानकारी गराउन र प्रभावकारी व्यवस्थापन गर्न उच्च अदालतको आदेश

काठमाडौं: उच्च अदालत विराटनगरले अक्सिजन उत्पादनदेखि खपतसम्मको विवरण दैनिक रुपमा नागरिकलाई उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ।

निवेदक विमल साहले मुख्यमन्त्री र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले एक साताभित्रै अक्सिजनको सूचना विवरण दैनिक रुपमा उपलब्ध गराउन आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘दैनिक रूपमा अक्सिजनको उत्पादन, उपलब्धता एवं सिलिण्डरको अवस्था, खपत समेतको विवरण पारदर्शी रूपमा दैनिक/तत्काल स्पष्ट रूपमा समेत नागिरकहरुले समेत जानकारी पाउने गरी अद्यावधिक सूचना प्रणाली स्थापना गर्नु गराउनु र अक्सिजन अभावन नहुनेगरी यो निवेदको टुंगो नलागेसम्म प्रभावकारी व्यवस्थापन र वितरण गर्नु गराउनू।’

अस्पतालमा वा आइसोलेसन केन्द्रहरूमा संक्रमित विरामीहरूको उपचारमा चाहिने अक्सिजन एवं खपत हुने मात्रा अनुरुप उत्पादन, व्यवस्थापन र वितरणमा सन्तलन ल्याउन दैनिक रूपमा पारदर्शी सूचनाको व्यवस्था र अद्यावधिक प्रणाली अपनाएमा नचाहिने रूपमा अक्सिजन सिलिण्डर कहाँ, के, कति राखिएको छ, खाली सिलिण्डर कहाँ, कति, कसले राखेको छ, विरामीको संख्याको अनुपातमा कहाँ, के, कति नपुग छ तत्काल दैनिक रूपमा जानकारीमा आउने र सोबाट अक्सिजन सिलिण्डर व्यवस्थापन र वितरणमा प्रभावकारी मद्दत पुग्न जाने भएकाले यो आदेश पाएको मितिले ७ दिनभित्र सूचना दिने व्यवस्था मिलाउन प्रदेश सरकारलाई भनिएको छ।

मुद्दाको सुनुवाइमा निवेदकतर्फबाट अधिवक्ताहरू सन्नीकुमार साह, कुनाल सिंह चौहान, ओमनारायण श्रेष्ठ, विमल गौतम, अन्ताज हुसैन र उमेशकुमार मण्डले बहस गरेका थिए। त्यस्तै विपक्षी तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिरक्षा बहस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell