अभिनेता हृतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सिने र टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा)का सदस्यहरुको लागि उक्त रकम सहयोग गरेका हुन्।
उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। जसले गरिबीको रेखामुनि रहेका ५ हजारभन्दा बढी सदस्यहरुलाई सहयोग मिल्ने छ।
‘पहिलो कोरोनाको लहरबीच पनि उहाँले सहयोग गर्नुभएको थियो। यसपटक उहाँले गरेको सहयोगले हामी एसोसिएसनका ५ हजार सदस्यलाई खोप लगाउनुका साथै गरिबीको रेखामुनि सदस्यलाई सहयोग गर्ने छौँ,’ सिन्टाका महासचिव अमित बहलले जानकारी दिए।
अभिनेता हृतिक रोशन महामारीबीच समस्यामा परेका मानिसहरुलाई निरन्तर सहयोग गरिरहेका छन्। उनले कोरोनाको पहिलो लहरबीच पनि सिने र टिभी आर्टिस्ट एसोसिएसनलाई २५ लाख सहयोग गरेका थिए।
त्यसैगरि, फ्रन्टलाइनमा काम गर्नेको स्वास्थ्य सुरक्षाको लागि मुम्बई पुलिसलाई सेनिटाइजरहरू उपलब्ध गराउनुका साथै कोभिड-१९ संक्रमितहरुको लागि अक्सिजन सिलिन्डर किन्न समेत उनले सहयोग गरिसकेका छन्।