PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पशुपतिबाट 'घाट' हटाउन विकास कोषको प्रस्ताव, सदस्य सचिव भन्छन् 'मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न हुँदैन'



रासस

पशुपतिबाट 'घाट' हटाउन विकास कोषको प्रस्ताव, सदस्य सचिव भन्छन् 'मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न हुँदैन'
फाइल फोटो: पशुपति आर्यघाटमा कांग्रेस नेता नवीन्द्रराज जोशीको अन्त्येष्टिको दृश्य

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न भन्दै नजिक घाट नराखी अन्यत्र सार्ने गरि गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ।

मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

'विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो'उनले भने।

यसअघि कोष सञ्चालक परिषद्ले पशुपति क्षेत्रको गुरुयोजना तयार पारितको परेको थियो। स्थानीयले विरोध गरेपछि गुरुयोजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिएको थियो। पछि गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको थियो। सोही पुनरावलोकन समितिमा उनले घाट हटाउने प्रस्ताव राखेका हुन्।

कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ। 'पशुपति क्षेत्र कि घाट हो' भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले प्रस्ताव गर्न लागेको हो। विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव कोषले गर्ने तयारी गरेको छ।

भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहेका ढकालले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ। आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ। पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उनको भनाई छ।

आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ। काठमाडौँ उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ।

एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ। पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन्। पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ। पहिले वाग्मती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाह हुने गरेको थियो।

पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell