PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सकसमा वाग्मती प्रदेशको बजेटः मन्त्रालयले तयारी सक्यो तर, प्रदेशसभा बैठकको छैन टुंगो



निशा गुरुङ

सकसमा वाग्मती प्रदेशको बजेटः मन्त्रालयले तयारी सक्यो तर, प्रदेशसभा बैठकको छैन टुंगो

हेटौंडाः वाग्तमी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ। असार १ गते प्रदेशसभामा बजेट पेस हुँदैछ। चालु वर्षको भन्दा बजेटको आकार बढ्ने जनाइएको छ।

कोरोना महामारीबीच चालु वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो। आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी बजेट ५५ अर्ब रुपैयाँ हाराहारीको हुनेछ।

प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतका अनुसार प्रदेशका १३ वटै जिल्लामा कागज उद्योग, कृषि औजार उत्पादन कारखाना, कृषि ऋणलाई थप व्यवस्थित गर्ने, उत्पादनमा आधारित अनुदानलगायत विषय बजेटको प्राथमिकतामा पार्न सुझाव दिइएको छ।

मन्त्रालयले बजेटको तयारी अन्तिम चरणमा रहेको जनाएको छ। मन्त्रालयगत रूपमा प्राप्त सिलिङलाई इन्ट्री गर्ने काम भइसकेको छ।

प्रदेशसभा अन्योलमा

प्रदेश सरकारले सदनमा आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुने जानकारी गराएका थिए।

तर, सिद्धान्त र प्राथमिकता पेस भएसँगै बैठक सूचना जारी नभएसम्मका लागि स्थगित छ। बैठक कहिले बस्ने टुंगो छैन। बैठक बस्ने अवस्था नभए अध्यादेशबाटै बजेट ल्याउने तयारी पनि सरकारले थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell