PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संक्रमण घटे पनि निषेधाज्ञा लम्बिँदा व्यवसायी असन्तुष्ट, ‘अब मोडालिटी परिवर्तन नभए हामी बर्बाद हुन्छौ’



पहिलोपोस्ट

संक्रमण घटे पनि निषेधाज्ञा लम्बिँदा व्यवसायी असन्तुष्ट, ‘अब मोडालिटी परिवर्तन नभए हामी बर्बाद हुन्छौ’

वीरगंज : वीरगंजका उद्योगी व्यवसायीले कोरोना संक्रमण घट्दै गएकाले निषेधाज्ञा खुकुलो गर्नुपर्ने माग राख्दै आएको भए पनि स्थानीय प्रशासनले निषेधाज्ञा पुनः १० दिन लम्ब्याएको छ। यसअघि जेठ २० सम्मका लागि लगाइएको निषेधाज्ञालाई अब जेठ ३० सम्म पुर्‍याइएको हो।

यसरी संक्रमण दर घट्दै गएको अवस्थामा समेत निषेधाज्ञा अझ लम्ब्याइँदै जाँदा यसले अर्थतन्त्रमा असर गरेको भन्दै वीरगंजका व्यवसायीले चिन्ता जाहेर गरेका छन्। यससँगै, लगातारको निषेधाज्ञाले उद्योग व्यवसायमा गहिरो असर परेको भन्दै अब निषेधाज्ञाको मोडालिटी परिवर्तन नभए व्यवसायीहरु बर्बाद हुने बताए।

पर्सामा पछिल्लो समय कोभिड-१९ बाट संक्रमित हुने क्रम घट्दो अवस्थामा देखिएको छ। यसका बाबजुद प्रशासनले निषेधाज्ञा थप्ने क्रम जारी राख्दा अन्य अर्थ-सामाजिक क्षेत्रमा प्रतिकूल असर परिरहेको व्यवसायीहरुको भनाइ छ। 

लामो समय निषेधाज्ञाले उद्योगी व्यवसायीलाई उधारोमा बेचेको पैसा बजारमा फँसेको, बैंकको ऋण तथा ब्याज, कर्मचारीको तलब-ज्याला भुक्तानीमा कठिनाइ र उत्पादित समान बिक्री नहुँदा बिग्रने जस्ता समस्याले पिरोलेको छ।

बुधवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा वीरगंजका उद्योगी व्यवसायीहरुले अब वीरगंज बजारलाई वैकल्पिक रुपमा खुला गर्ने ढाँचामा जानुपर्ने सुझाएका थिए। तर, चिकित्सकहरुले नमानेपछि डीसीसीएमसीमा निषेधाज्ञा थप समयका लागि जारी राख्ने नै निर्णय भएको बैठकमा सहभागी एकजना उद्योगीले बताए। यो उचित निर्णय नभएको उनको भनाइ छ।

‘अहिले वीरगंजमा संक्रमण र मृत्युदर घटिसकेको छ, नयाँ केस फाट्टफुट्ट मात्र आइरहेको छ। अस्पतालहरुले संक्रमितको उपचार राम्रोसँग गरिरहेका छन्, अक्सिजनको अभाव पनि छैन,’ उनले भने, ‘एक महिनादेखि बजार र यतायात बन्द हुँदा उपभोग्य तथा अन्य समानको आपूर्तिको श्रृंखला टुटेको छ, अब यसलाई विस्तारै माथि उठाउनु पर्छ।’

अहिले पर्सामा दैनिक नयाँ संक्रमितको संख्या १० भन्दा तल ओर्लिएको छ भने मृत्यु दर पनि घटेको छ। लामो समयदेखि व्यापार-धन्दा बन्द हुँदा कोरोनाले नमरे पनि उद्योगी व्यवसायी तथा मजदुर र पसले बर्बाद हुने तर्क उनले बैठकमा राखेका थिए।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफू पनि निषेधाज्ञालाई नरम पारेर जाने इच्छा बैठकमा सुनाएका थिए। तर, बैठकले अझै कमसेकम एक हप्ता कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेपछि यसको अवधि थप भएको बुझिएको छ।

हाल पर्साका १४७ जना कोभिडका बिरामी वीरगंजका विभिन्न अस्पतालमा उपचाररत छन्। पर्सा जिल्लाभर कुल दुई हजार नौ सय जना होम आइसोलेसनमा छन्। प्रदेश २ मा भरमा १० हजार तीन सय सक्रिय संक्रमित रहेको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell