PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कुवेतमा बढ्दै किरणको आत्मविश्वास : नयाँ फुटबल अनुभव गर्न पाएका छौं



मुकुन्द घिमिरे

कुवेतमा बढ्दै किरणको आत्मविश्वास : नयाँ फुटबल अनुभव गर्न पाएका छौं

काठमाडौं: विश्वकप छनोटको खेलहरु खेल्न नेपाली टोली कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोली चाइनिज ताइपेइमाथि जित निकालेको थियो। इराकसँग ६-२ को पराजय ब्यहोर्दा फुटबल विश्लेषक र समर्थकले देखाएको कमजोर पक्ष थियो डिफेन्स र किपरबीच समझदारीको अभाव। तर चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालको डिफेन्स र गोलकिपिङ दुबै उत्कृष्ट देखियो। नेपाली गोलपोस्ट सम्हालेका थिए कप्तान तथा गोलकिपर किरण चेम्जोङले।

अहिलेको नेपाली फुटबल टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ। युवा खेलाडी अर्थात अथाह जोश र सम्भावना तर अनुभवको कमी। नेपाली टोलीमा अनुभवको हिसाबले धेरै अनुभवी खेलाडीमध्येका एक हुन् किरण।

नेपाल, माल्दिभ्स र भारतबाट टप लिगमा खेलेका उनले पछिल्लो सिजन राउण्डग्लास पञ्जाबबाट भारतीय लिग खेलेका उनी लिगको उत्कृष्ट गोलकिपर बनेका थिए। लगत्तै बंगलादेश, नेपाल र कीर्गिस्तान यू २३ सम्मिलित थ्री नेशन्स कपमा कप्तानका रुपमा पहिलो उपाधि उचाले। त्यस्तै अघिल्लो महिना सम्पन्न नेपाल सुपर लिगमा उत्कृष्ट गोलकिपर बनेका चेम्जोङले आफ्नो कप्तानीमा रहेको टोली धनगढी एफसीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका थिए। अहिले उनकै कप्तानीमा नेपाली राष्ट्रिय टोली कुवेतमा छ। विश्वकप छनोटका अगाडिका खेलहरु खेल्नका लागि।

नेपाली टोलीमा यसपटक समर्थकहरुको चासो दिएर हेरेका छन्। जसको एउटा कारण हुन् प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। डिफेन्सिभ फुटबल खेल्दै आएको नेपाली टोलीलाई आक्रमणमा अब्बल बनाउने आफू नियुक्त भएको दिन बताएका उनी नेपाली फुटबल समर्थकमाझ त्यतिकै चर्चित पनि। अझ यसपटक उनले छनोट गरेको युवा टोलीले इराक र ताइपेइविरुद्ध राम्रो प्रदर्शन गरेसँगै नेपाली फुटबलमा आशाको किरण त पक्कै आएकै छ।

नेपाली टोलीका कप्तान किरण पनि यसलाई स्वीकार्छन्।

‘अहिले हाम्रो नयाँ प्रशिक्षक नयाँ टिम पनि धेरै जसो हिजो ताइपेइसँगको म्याच खेल्दा पहिलो ११ मा नयाँ खेलाडी थिए यसअघिको खेलभन्दा। चाइनिज ताइपेइको होममा खेल्दा र अहिलेको टिममा म्यासिभ चेन्ज थियो,’ चेम्जोङ भन्छन्, ‘नयाँ कोच आएपछि नयाँ फर्मेसन र नयाँ फुटबल अनुभव गर्न पाएका छौं। सबै प्लेयरहरुले पनि सेल्फ कन्फिडेन्स एकदमै हाइ भएको जस्तो लाग्छ। कोचले त्यो वातावरण बनाइदिनु भएको छ। र, नयाँ प्लेयरहरुले पनि इम्प्रेसिभ इराकसँग पनि प्रदर्शन गरेका थिए। ताइपेइसँगको म्याचमा पनि त्यसले निरन्तरता पायो।’

चेम्जोङ टिमको पछिल्लो प्रदर्शनले खुशी भएको भए पनि अझै यो पर्याप्त भने नभएको बताउँछन्। उनको बुझाइ छ : हामी खुशी छौं तर अझै इनफ भएको छैन। हामीले धेरै अघि जानु छ। हामी त्यसमा फोकस गरिरहेका छौं।

त्यस्तै पछिल्ला दुई खेलको कुरा गर्दा इराकसँगको खेल र ताइपेइसँगको खेलमा मैत्रीपूर्ण र प्रतिस्पर्धात्म खेल भएकाले केही फरक खेल भएको बताए।

‘इराकसँग रिजल्ट जे भएपनि प्रतिस्पर्धा राम्रो गरेका थियौं। त्यो फ्रेन्ड्ली थियो। ताइपेइसँग क्वालिफाइङ म्याच थियो। महत्वपूर्ण थियो,’ उनले भने, ‘ क्वालिफाइ हुने म्याच र फ्रेन्ड्ली म्याचमा फरक आइ नै हाल्छ किनभने फ्रेन्ड्लीमा कति कुरा सुधारका लागि पनि खेल्छौं भने रियल म्याचमा एउटा मिस्टेक भयो भने पनि त्यसले असर पार्न सक्छ ताइपेइसँग हामीले नराम्रो खेल्यौं भन्ने मलाई लाग्दैन।’

आफूहरुले अझै दुई ठूला खेल खेल्न बाँकी रहेकोले आफूहरु त्यसैमा केन्द्रीत रहेको बताए। नेपालको खेल्ने शैलीमा परिवर्तन भएको भने चेम्जोङ स्वीकार्छन्। उनी कोचले सबै खेलाडीलाई राम्रो मोटिभेसन गरेकाले आफूहरु उच्च मनोबलमा रहेको बताए।

‘राष्ट्रिय टोलीमा मैले खेल्न थालेको १३/१४ वर्ष भयो। अहिलेको कोचसम्म आइपुग्दा वहाँले हरेक खेलाडीहरुलाई हामी राम्रो खेल्न सक्छौं। हामी हरेक टिमलाई अट्याक गर्न सक्छौं भन्ने किसिमको कन्सेप्ट वहाँले ल्याउनु भयो र सबै प्लेयरहरुलाई त्यो खालको वातावरण बनाइदिनु भयो,’ उनी भन्छन्। सबै खेलाडीहरुको दिमागमा अहिले हामी राम्रो खेल्न सक्छौं भन्ने खालको माइन्टसेट कोचले गराइदिएकाले दुईवटा म्याच खेल्यौं खेल्दा पर्याप्त ट्रेनिङ गर्न पनि नपाए पनि राम्रो प्रदर्शन गरेको बताए।

‘राम्ररी ७ दिन ट्रेनिङ गरेर हामी यहाँ आयौं। जुन हाम्रो प्लेयरहरुले अट्याकिङ फुटबल नेपालमै १३ वर्षपछि मैले यसरी खेलेको होला। सबै नेपालीले पनि विश्लेषण गर्नुभएको होला अहिलेको फुटबल चाहिँ पहिलेको फुटबलभन्दा धेरै फरक देखियो दुइवटा गेममा,’ उनले भने, ‘पक्कै पनि मैले पनि फिल गरेको छु।’

उनले आफूले हरेक खेलाडीमा अनुभव मनोविज्ञान आत्मविश्वासी भएको महसुस गरेको दाबी गर्दै भने : हामी कुनै पनि टिमलाई अट्याक गर्न सक्छौं। पहिला डिफेन्सिभ मात्र थियो भने अहिले सबैको मोरल हाइ भएको भएको छ। हामीले स्कोर गर्न सक्छौं भन्ने भएको छ।

अब अगामी दिनमा अझ तयारी राम्रो गरेको खण्डमा यो भन्दा राम्रो प्रदर्शन गर्न सक्ने उनको बुझाइ छ।

त्यस्तै राष्ट्रिय टोलीमा पछिल्लो समय प्रतिस्पर्धा बढेको अनुभव गरेका रहेछन् उनले।

‘नयाँ खेलाडीहरमा पनि सम्भावना देखेर नै कोचले सेलेक्ट गर्नुभएको छ। उनीहरुमा राम्रो फाइटिङ स्पीरिट छ,’ उनी भन्छन्, ‘राष्ट्रिय टोलीमा प्रतिस्पर्धा पनि त्यतिकै बढेको छ हरेक पोजिसन। सेक्युर छैन। यो धेरै राम्रो कुरा हो। यसले नेपाली फुटबल टिम एकदमै बलियो बन्छजस्तो लाग्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell