PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोलाहल मच्चिएको ५ मिनेट पछि मेसेज आयो – कोरोना रिपोर्ट नेगेटिभ



पूजा पन्थी

कोलाहल मच्चिएको ५ मिनेट पछि मेसेज आयो – कोरोना रिपोर्ट नेगेटिभ

पेशाले पत्रकार भएपछि महामारीको बहाना बनाउँदै कहाँ पाइयो र कुना पस्न? खट्नै पर्‍यो, सूचना लिन अनि दिन पनि।

महामारी फैलियो। सँगै फैलियो डर, त्रास र अभाव। लकडाउनका कारण भोकै परेकाहरू पैदले हिँडेर घर फर्किरहेका देखि घर फर्कने समेत अवस्था नभएकाहरूको आवाज बनियो- समाचारमार्फत्। त्यस्ता खबरको प्रभाव राम्रै पर्‍यो। पालिकाहरुले आ-आफ्ना स्थानीयलाई लिन सवारीसाधन पठाउन लागे। केहीले सडक यात्रुलाई खाना खुवाउन। केहीले गन्त्यव्यसम्म पुर्‍याउन।

तर, महामारीले नै पत्रकारको जीवनमा पारेको मारबारे को बोल्नु?

गत वर्ष संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा नै हो मैले काम गर्ने संस्था पनि आर्थिक भारमा परेको। समस्या बिच सूचना सम्प्रेषणमा जुट्यौं हामी। कारण – समस्या सुन्न र सम्बोधन गर्न सक्ने निकायकाहरू पनि राजनीतिक खिचातानीको मारमा थिए।

तत्कालीन प्रदेश ५ को राजधानी दाङ पुग्ने भनेपछि सिंगो बुटवल आन्दोलित थियो। यहाँका संघ संस्थाले दैनिकजसो आन्दोलनमा उत्रिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध गर्न थाल्यो। नेकपाका यस क्षेत्रका नेता कार्यकर्ताले पनि दबाब दिइरहेका थिए।

पत्रिका र अनलाइनमा काम गर्ने भएपछि रिपोर्टिङ त गर्नैपर्‍यो। संक्रमणको डर ममा पनि थियो। डर बिच जिम्मेवारी निभाइयो। तर, केही दिनमै आन्दोलनमा सहभागी पत्रकारमा संक्रमण भएको थाहा पाएपछि भने आत्तिएँ।

गत असोज १८ गते रातिदेखि हो मलाई केही कोरोनाको लक्षण देखिएको। शंका लागेपछि काममा निस्कने कुरै भएन। बिस्तारै मलाई ज्वरो आयो, टाउको अस्वभाविक हिसाबले दुख्यो। डाक्टरको सल्लाहमा तीन दिन औषधि खाएँ। तर, समस्या कम भएन। अन्तत: म पीसीआर गर्न गएँ।

मेरा श्रीमान् पनि पत्रकार। हामी दुवै बुटवलमा डेरा गरी बस्छौं। म परीक्षणका लागि जाँदा कोठामा श्रीमानले गुर्जो ल्याउनु भएछ। त्यतिबेला गुर्जोलाई कोरोनाको औषधि मानिन्थ्यो। गुर्जो खाँदैमा कहाँ भाग्दो रहेछ र कोरोनाको त्रास? शरीर त पल्टियो तर निन्द्रा परेन। त्रास र पीडाले आँखा बन्द गर्नै दिएन। मनमा अनेक कुरा खेले। हरेक दिन रिपोर्टिङबाट फर्कँदा ठूला आँखा पारेर हेर्ने छिमेकीले के ठान्लान्? रिपोर्ट पोजेटिभ आयो भने समाजले कस्तो व्यवहार गर्ला? कुन दृष्टिले हेर्ला? मैले काम गर्ने मिडियाले मलाई फेरि काम गर्न बोलाउला/नबोलाउला?

नतिजा पर्खिरहँदा निकै आत्तिएकी थिएँ म। श्रीमानले ढाड्स दिँदा पनि मन कहाँ मान्नु?

पीसीआर परीक्षणका लागि स्वाब दिएको भोलिपल्ट दिउँसो – शीतल हावा खोज्दै छतमा गएका थियौं हामी। त्यतिखेर आएको एउटै मेसेजले मलाई छाँगाबाट खसाए सरह भयो।

‘डियर पूजा, योर कोभिड १९ रिपोर्ट वाज पोजेटिभ।’

मेसेज पढिसक्दा हातखुट्टा लुगलुग काम्न थाले। कतिखेर आँखाबाट बर्ररर आँसु झरे त्यो पनि पत्तो पाइँन मैले।

संक्रमण भएकै कारण सामाजको घृणा र कार्यालयको निस्कासनमा पर्ने डरले भित्रभित्रै खाइरहेको थियो मलाई।

अर्को दिन बिहान श्रीमान् प्रदीप मेरो रिपोर्ट लिन र आफ्नो पीसीआर परीक्षण ल्याब जानुभयो।

उहाँलाई स्वाब दिएर फर्कँदासमेत कुनै लक्षण देखिएको थिएन। मेरो सीटी भ्याल्यू २१ रहेछ। त्यस जानकारी मलाई भन्दा पहिले घरबेटी र वडाअध्यक्षलाई दिइसक्नु भएछ। त्यसपछि हाम्रो सम्पर्कमा आएकाहरूले पनि परीक्षण गरुन् भन्ने आशयले सामाजिक सञ्जालमार्फत् संक्रमण देखिएको सत्य सुनाएँ।

लगत्तै फोन र मेसेजको ओइरो लाग्यो। कसैले फोन गर्दा तर्सन्थेँ। कसैसँग बोल्दा रुन्थेँ। सामाजिक सञ्जालमा लेख्दै गर्दा सोच्नु पर्दो रहेछ - आफूबाट टाढा रहेका परिवार र आफन्तमा राम्रो सन्देश जाँदैन।

जे होस्, म होम आइसोलेसनमै बसेँ। मेरो स्वास्थ्यमा सुधार भइरहेको थियो। तर, प्रदीपलाई एक्कासी ज्वरो आयो। सिटामोल खानुभयो तर आधा घण्टाको अन्तरालामा शरीरको तापक्रम ९९ बाट १०१ फरेन्हाइट पुगेको थियो।

भोलिपल्टदेखि हामीमा कुनै ऊर्जा बाँकी रहेन। रातिको ज्वरोले होला, श्रीमान् कमजोर हुनुभयो। म यतिकै गलिसकेको थिएँ। भोक महसुस भयो। मुख सुख्खा। कसले पकाउने? के पकाउने? भन्ने विषयमा अल्झियौं हामी। परिवारको अभाव खट्कियो।

गलेको शरीर लतार्दै उठ्नुभयो प्रदीप। कुकरमा खिचडी सिट्ठी लगाउनु भएछ र अमलेट बनाउनु भएछ। तर, अचम्म – मैले ती दुवै खानेकुराको बास्ना महसुस गरिँन। खाना चाखेर हेरेँ। स्वाद पनि थिएन। त्यतिखेरसम्म श्रीमानले भने स्वाद र बास्ना दुवै मेसो पाउनु भएको सुनाउनु भयो। पर्खाइ त उहाँको रिपोर्टको थियो।

पर्खँदै गर्दा सहकर्मीले पनि आफूमा संक्रमण पोजेटिभ देखिएको सुनाए। नियमित सम्पर्कमा रहेका उनी र ममा संक्रमण पुष्टि भएपछि प्रदीपमा नहोला भन्न सकिएन। तर, मनमनै कामना भने उही थियो – उहाँको रिपोर्ट नेगेटिभ आओस्। तर, चाहेजस्तो कहाँ हुँदो रहेछ र? रिपोर्ट पोजेटिभ आयो।

घरबेटीले भनेका थिए – दुवैलाई संक्रमण भए अन्त कतै बस्ने व्यवस्था गर्नुहोला।

हामीले सहकर्मी (कार्यकारी सम्पादक) लाई फोन गर्‍यौं। सल्लाह भयो बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको एन्फा आइसोलेसनमा बस्ने। आवश्यक सामान तयार गर्‍यौं। कार्यकारी सम्पादकले मोटरसाइकल मार्फत् मलाई र मेरा श्रीमानलाई पालैपालो आइसोलेसन केन्द्रमा लिएर जानुभयो।

यो त्यही आइसोलेसन थियो जुन सुरुवाती अवस्थामा तयार हुँदा म स्वयं पुगेर रिपोर्टिङ गरेको थिएँ। फर्कँदै गर्दा मनमनै कामना गरेकी थिएँ – यहाँ कोही आइबस्न नपरोस्।

आफै त्यहाँ पुगियो, समाजभन्दा पर। त्यहाँ रहँदा कोही आफ्ना छैनन्। केही आफ्नो छैन भन्ने महसुस भएको थियो।

त्यहाँको योगा गर्ने ग्राउण्ड नजिकै करिब २० जना पुरुष थिए। अलि पर अर्को हल अगाडि १० जना पुरुष। महिला कसैलाई पनि नदेख्दा म संकोच मान्दै अगाडि बढेको क्षण अझै सम्झन्छु। कतै मधुर आवाज सुनेको थिएँ – नयाँ संक्रमित आयो, मास्क लगाउनु।

मेरो आँखामा टिलपिल आँशु देखेर होला एक जना सहायक प्रहरी निरीक्षकले भन्नु भयो – हजुरहरूलाई पनि संक्रमण भएछ है? अब बसुन्जेल रमाइलो गरेर बस्नुपर्छ।

हामी आइसोलेसनमा पुगेकै दिन हो नेपालमा संक्रमितको संख्या एक लाख पुगेको।

हामी पुग्दा रात परेको थियो। कोठा सफा गरेर पल्टन के खोजेका थियौं, टिनिनिनी… घण्टी बज्यो।

शरीरको तापक्रम नाप्ने बेला भएको रहेछ। त्यहाँ हरेक कार्य गर्ने समयको जनाउ घण्टीको आवाजले दिने रहेछ। हामीले पनि दिइएको थर्मोमिटरले ज्वरो नाप्दै नाम र तापक्रम टिपायौं।

खानाका लागि आ-आफ्नो थाल, कचौरा, गिलास नलगेका हामीले प्याक गरिएको खाना आएपछि पो झसङ्ग भयौं। जसोतसो खाउँ भाँडा भोलि मगाउँला भन्ने थियो। तर, स्वाद बिनाको खाना उल्टी भयो। अरुचीसँगै रुन मन लागिरहेको थियो।

अर्कोदिन बिहान ६ बजे घण्टीको आवाजले ब्युउँझायो। योगको समय रहेछ त्यो।

त्यहाँको वातावरण रोचक थियो। बिचमा जाली लगाएर संक्रमित बस्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बस्ने ठाउँ छुट्टाइएको। योग गुरुले पहिला त बाहिरैबाट योगा गराउनुहुन्थ्यो रे! पछि उहाँ आफै संक्रमित हुनुभएछ।

करिब डेढ घण्टाको योग पछि १० मिनेट लामो नाचगान। वारि हामी नाच्थ्यौ, पारि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी।

दोस्रो घण्टी तापक्रम नाप्ने जनाउ सहित बज्थ्यो। त्यसको केही बेरमा बिहानी खाजाको।

खाजापछि खाना खाने समयको बिचमा कोही नुहाइधुवाइ गर्ने। कोही परिवारसँग भिडियो कलमा भुल्ने। कोही गीत सुन्दै हुन्थे कोही गफमा मस्त।

दिउँसो एक बजे आयुर्वेदिक चिया, दुई बजे खाजा, पाँच बजे नाचगान, छ बजे तापक्रम मापन र सात बजे खाना समय हुन्थ्यो। खाली समय ब्याडमिन्टन खेलेर, साथीभाइ–घरपरिवारसँग गफगाफ, किताब पढ्ने र समाचार लेखरै बित्यो। त्यहाँ रहँदा मेरा लागि सबैभन्दा कष्टकर थियो, खानाको सामना गर्नु। अरुचीकै कारण मेरो तौल घटेको थियो। ती दिन सम्झदा भक्कानो अझै फुट्छ।

हामी गएको तेस्रो दिन बुटवल उपमहानगरपालिका ८ वडा अध्यक्ष कमलप्रताप थापा पनि आइसोलेसनको सदस्य बन्नुभयो। आउँदा हतास देखिनुहुन्थ्यो उहाँ। दोस्रो दिनबाट योगा, नाचगान र चिरपरिचित अनुहारसँगको गफगाफले अनुहारको रङ फेरिदियो। त्यहाँ आउने प्राय सबैको हालत त्यस्तै थियो।

हामी त्यहाँ गएको करिब एक सातापछि केही संक्रमितले हामीकहाँ आएर खानाको विषयमा गुनासो गरे। पत्रकार भएकाले खाना व्यवस्थित बनाउन घच्घचाउँछन् भन्ने आशा रहेछ उनीहरूको। खानाको गुणस्तर मलाई मात्र चित्त नबुझेको होइन रहेछ। अनुभव र गुनासो बमोजिम हामीले उपमहानगरामा कुरा गर्‍यौं। तत्काल नगरपालिकामा सञ्चालित क्यान्टिन आइसोलेसनमा सञ्चालनमा आयो।

ताजा र फ्रेस खाना पाइने भएपछि त्यहाँ बसेका सबै दङ्ग। केही दिनकै सही निकटता बढ्दो थियो। घरजस्तै बनिसकेको थियो आइसोलेसन। १४ औँ दिनको बिहान पीसीआर परिक्षण गर्न बाहिर निस्कयौँ। बाहिर निस्कदा पिंजडामुक्त भएजस्तो लाग्यो। आकाशमा उडिरहेको पन्छीले सायद त्यस्तै अनुभव गर्छ होला। मनमा छुट्टै उमंग थियो।

सीपी खनाल, प्रदीप, म र बुद्ध टेलिभिजनका लेखापाल गोबिन्द कुमाल ल्याबमा गयौँ। केही समय लाइनमा बसेर स्वाब दियौं। आइसोलेसनमा फर्किएर रिपोर्ट पर्खन थाल्यौं।

दशैं सुरु भइसकेको थियो। तर, त्यो वर्ष हाम्रो कुनै चाड थिएन। त्यसैले आइसोलेसनबाट निस्किएर केही दिन विश्राम गर्ने र घुम्न जाने योजना बन्यो। म निकै उत्साहित थिएँ। सुनाइ रहेकी थिएँ, 'रिपोर्ट आएपछि त पूरा बुटवल बजार घुम्ने हो। यहाँ बस्दा खान नपाएको सबै चिज खाने हो।'

त्यहीबेला सीपी दाइ र प्रदीपको मोवाइलमा एकै चोटि मेसेज आयो। रिपोर्ट – नेगेटिभ।

मेरो र गोविन्दको मोबाइलको घण्टी भने बजेन। दिउँसोसम्म ढुक्क भएकी म अलिकति विचलित भएँ। कसैले भनेको थियो – पोजेटिभ हो भने मेसेज केही ढिला आउँछ।

म त रुन थालेछु। एकैछिन पछि त्यहाँ भिडभाड जस्तै भयो। सबैले मलाई सम्झाउन थाले। थुम्थुमाउन थाले। कसैले भने - रोएर रिपोर्ट छिटो आउने हो र? कोलाहल मच्चिएको ५ मिनेटपछि रिपोर्ट नेगेटिभ भन्ने सन्देश आयो। यस पटक खुशीले चिच्याएँ। नाच्न र गाउन थालेँ। लाग्यो जीवनमा ठूलै जित हासिल गरेँ।

अर्को दिनको बिहानीले ऊर्जा नै बेग्लै। घर जाने हतारो उस्तै। दिउँसो १ बजे हामी आइसोलेसनमा बसेको प्रमाणपत्र आयो र हाम्रो बिदाइको समय भयो। आवश्यक सामान बुझाएर त्यहाँबाट निस्किँदै गर्दा फूल र अबिर लगाइदिए। खुशी र दु:ख मिश्रित थियो, निस्किँदै गर्दाको भाव। मनमनै कामना गरेकी थिएँ – सबै चाँडै संक्रमणमुक्त होउन्।

डेरा पुगेपछि थाहा पायौँ, हाम्रो छिमेकका अधिकांश घरमा संक्रमितहरू थिए। अनि मनमनै सोचेँ, अब त पत्रकार कोरोना सार्ने माध्यम हुन् भन्ने नसोच्लान्। ठूला आँखा पारेर नहेर्लान्।

कोठा स्यानिटाइज र अन्य सरसफाइ, आराम गरेर बित्यो दशैँ। पर्व सकिएपछि बल्ल गयौं अफिस। बिस्तारै दैनिकी सामान्य बन्दै गयो। कोरोनाविरुद्ध खोपको दुवै डोज लगायौँ।

चैतमा पुन: भारतमा कोरोनाको नयाँ भेरियन्ट आयो भन्ने सुन्दा मनमा डर लागेको थियो। अक्सिजन अभावको कारणले मृत्यु भइरहेको सुनिरहेका थियौँ। चैत दोस्रो साताबाट नेपालमा पनि दोस्रो भेरियन्ट (युके) देखियो भन्ने समाचारहरू आए। मन अत्ताल्लिन थाल्यो। केही जानकारहरू भन्न थाले - दुवै चरणको खोप लगाएकालाई कुनै ठूलो समस्या हुँदैन।

हामीले त लगाएका थियौँ तर सर्वसाधारण? भन्ने प्रश्न मनमा खेलिरह्यो। लुम्बिनी प्रदेशका कोभिड अस्पताल भरिए, वैशाख नलाग्दै। अक्सिजन अभाव देखिन थाल्यो। अहिलेसम्म पनि सरकारले पर्याप्त अक्सिजन ल्याएको दाबी गरिरहँदा बिरामीहरुले पाएका छैनन्।

कोरोनाको त्रासकै बिचमा चलिरहँदा वैशाख दोस्रो साताबाट विभिन्न जिल्लामा निषेधाज्ञा जारी भयो। म फेरि फ्ल्यास ब्याकमा पुगिरहेछु। हामी सचेत नहुने र सुरक्षा मापदण्ड पालना नगर्ने हो भने हामीलेजस्तै पीडादायी अनुभव अरु कतिले भोग्नु पर्ला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell