बागलुङ : विद्यार्थीलाई स्वअध्ययनतर्फ उत्प्रेरित गर्न बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम शुरु गरेको छ। लक्षित वर्ग उत्थानअन्तर्गत गाउँपालिका र सामुदायिक रेडियो बिहानीको साझेदारीमा शनिवारदेखि उक्त कार्यक्रम शुरु गरिएको हो। अबदेखि हरेक बिहान १० देखि ११ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रम खुला प्रतियोगितात्मक हुने गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिकाभित्रका इच्छुक विद्यार्थी तथा लोक सेवा तयारी गरेर बसेका सबैले भाग लिन पाउनेछन्।
प्रश्नहरू लोक सेवा आयोगले निर्धारण गरेको खरिदार वा सो समूहको पाठ्यक्रमबाट सोधिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए। प्रतियोगिताका विजेतालाई गाउँपालिकाले लोक सेवाका अध्ययन सामग्रीसहित पुरस्कार प्रदान गर्ने उनको भनाइ छ।
विद्यार्थीले रेडियोले उपलब्ध गराएको टेलिफोन नम्बरका माध्यमबाट कार्यक्रममा भाग लिन सक्ने प्रबन्ध मिलाइएको छ। प्रश्नपत्र निर्माण र त्यसको गोपनियता कायम गर्ने जिम्वेवारी रेडियोले लिएको स्टेशन प्रमुख शेखर थापाले बताए।
‘आउँदो असार मसान्तसम्म यो कार्यक्रम नियमित चल्छ’, उनले भने।
रेडियोसँग मिलेर गाउँपालिकाले ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’ पनि सञ्चालन गर्दै आएको छ। विद्यार्थीमा स्वअध्ययनसँगै प्रतिस्पर्धी भावनाको विकास गराउने, विषयगत शिक्षकलाई सक्रिय बनाउने आदि उद्देश्यले सञ्चालित सो कार्यक्रम छोटै अवधिमा प्रभावकारी देखिएको छ।
यस्ता कार्यक्रमले स्थानीय सञ्चारमाध्यमको सदुपयोग र सबलीकरणमा पनि टेवा पुग्ने गरेको छ। सोका लागि गाउँपालिकाले रेडियोलाई आर्थिक सहायता पनि उपलब्ध गराउने गरेको छ। कोरोना महामारीको विषम स्थितिमा गत वर्ष रेडियोबाटै वैकल्पिक सिकाइ सहजीकरण र एसईई दिने विद्यार्थीका लागि तयारी कक्षा पनि सञ्चालन गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत थापाले शिक्षालाई पहिलो प्राथमिकता दिएर गाउँपालिकाले लगानी बढाएको बताए। जीवनपर्यन्त सिकाइ प्रवर्द्धनका लागि सूचना, प्रविधिको प्रयोगलाई जोड दिइएको उनको भनाइ छ। बरेङले शैक्षिक क्षेत्र सुधारका लागि ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ पनि सञ्चालन गरेको छ।