PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल-खनाल समूहले पारित गर्‍यो ४ बुँदे प्रस्ताव, अरु के-के छन् निर्णय



प्रकाश भण्डारी

राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल-खनाल समूहले पारित गर्‍यो ४ बुँदे प्रस्ताव, अरु के-के छन् निर्णय

काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको बैठकले विभिन्न चार बुँदे प्रस्ताव पारित गरेको छ। भर्चुअल माध्यमबाट बिहीबार र शुक्रबार भएको केन्द्रीय कमिटीको छलफलको प्रस्तावलाई शनिबार बसेको स्थायी कमिटीबाट अनुमोदन गरिएको हो। बैठकले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको आलोचना गर्दै चार बुँदे प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन।

महतोले  पदभार ग्रहणका क्रममा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ। 'सरकारमा जाने बित्तिकै नेपाल बहुल राष्ट्र भनेर राष्ट्रघाती अभिव्यक्ति आएको छ। यसको भर्त्सना गर्दै फिर्ता लिन माग गरिएको छ,' शाक्यले भनिन्।

उनका अनुसार ओलीले वार्ताका नाममा अलमल्याएको भन्दै अब वार्ता गरेर अलमल नगर्ने पनि निर्णय भएको छ। ओलीसँग वार्ता गरेर बस्दा आफ्नो समूहमा भएको शक्ति पनि कम हुँदै गएकाले नयाँ पार्टी निर्माणका लागि अघि बढनुपर्ने नेपाल समूहले प्रस्ताव पारित गरेको हो।

चुरे क्षेत्रबाट ढुंगा/गिट्टी निकासीबारे सरकारी नीतिको पनि नेपाल-खनाल समूहले  विरोध गरेको छ। उक्त नीतिको आलोचना गर्दै आफ्नो संगठनका नेताहरुलाई विरोधमा उत्रिन अपिल गरिएको हो।

'यो त बजेटमा आउनै हुँदैनथ्यो। वातावरण नै विनास गर्ने यो नीतिबाट सरकार पछि हटनुको विकल्प छैन्,' उनले भनिन्।

यस्तै,कोभिड-१९ महामारी नियन्त्रण गर्न सरकार असफल भएको र महामारीका कारण जनजीवन अस्तव्यस्त भएकाले सरकारले सहजीकरण गर्न नसकेको नेपाल समूहको निष्कर्ष छ।

ओलीले आफ्नो समूहमाथिको प्रहारलाई कायमै राखेको पनि स्थायी समितिको निष्कर्ष छ।

वार्ताका नाममा ओलीले नेपाल-खनालसहित वार्ता टोलीका प्रमुख भीम रावललाई कारबाही गरेर वार्ताबाट ओली पछि हटेकाले नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको शाक्यको भनाइ छ। यद्यपि तत्काल औपचारिक वार्ता र नयाँ पार्टी गठन दुबै अघि नबढने नेपाल समूहले बताउँदै आएको छ।

सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म कुनै कदम नचाल्ने नेपाल-खनाल समूहको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell