PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वीरगंजमा संक्रमण घटेपछि विद्यालय खोल्न निर्देशन : असारको पहिलो साता भर्ना, दोस्रो साता घरदैलो



पहिलोपोस्ट

वीरगंजमा संक्रमण घटेपछि विद्यालय खोल्न निर्देशन : असारको पहिलो साता भर्ना, दोस्रो साता घरदैलो

वीरगंज : वीरगंजमा कोरोना संक्रमण घटेपछि सरकारी तथा निजी विद्यालय भौतिक रुपमा खुल्ला गरी पठनपाठन गराउन वीरगंज महानगरले निर्देशन गरेको छ। शुक्रवार साँझ सूचना जारी गर्दै कक्षा ८ देखि १२ सम्म माथिल्लो कक्षामा पठनपाठन शुरु गर्न गराउन निर्देशन दिइएको वीरगंजका मेयर विजय सरावगीले जानकारी गराए।

उनले भने, ‘आइतवारदेखि नै विद्यालय खोलेर सफा गर्न भनेका छौँ, बाँकी जेठ मसान्तसम्म सबै तहको निर्देशन बमोजिम नतिजा तयार पार्न भनेका छौँ, असार १ देखि विद्यालय खोलेर अन्य गतिविधि शुरु गर्न निर्देशन दिइएको छ।’

महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णद्वारा हस्ताक्षरित सूचनामा विद्यालय खोल्ने निर्देशन दिइएको छ भने शिक्षा अधिकृत हरि राउतद्वारा हस्ताक्षरित सूचनामा नतिजा कसरी तयार पार्ने बारे बारेमा उल्लेख गरिएको छ।

वीरगंज महानगरले असार १ गतेदेखि विद्यालय खोलेर असार ७ सम्म विद्यार्थी भर्ना अभियान र असार १५ सम्म घर दैलो अभियान सञ्चालन गर्न पनि भनेको छ। त्यस्तै, असार १६ गतेपछि भौतिक रुपमै कक्षा शुरु गर्न भनिएको छ। शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतका अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा पठनपाठन शुरु गरिने र पछि अवस्थ सहज बन्दै गएपछि अन्य कक्षाको बारेमा पनि विस्तारै निर्देशन आउने छ।

महानगरले स्वास्थ्य मापदण्ड पालना गर्नू पर्ने ७ वटा बुँदामा विद्यालयले विद्यार्थीहरुको अभिभावकहरुबाट विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउन लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन पानीले हात धुने व्यवस्था, स्यानिटाइजर, भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ।

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन (स्कूल बस) सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्ने र कुनै विषम स्थिति देखिएमा जानकारी गराउने जस्ता शर्त राखिएको छ। वीरगंजमा ८९ वटा सरकारी र १४० भन्दा बढी निजी विद्यालयहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell