PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीलाई कांग्रेसले नै तानाशाह बन्न सघाएको शेखरको आरोप, बहुल राष्ट्रवाद संविधानविपरीत



अनन्तराज न्यौपाने

ओलीलाई कांग्रेसले नै तानाशाह बन्न सघाएको शेखरको आरोप, बहुल राष्ट्रवाद संविधानविपरीत

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रवादसम्बन्धी भनाइ क्षम्य हुन नसक्ने बताएका छन्।

केन्द्रीय सदस्य कोइरालाले संविधानको भावना र मर्मका प्रतिकूल हुने कुनै पनि धारणा क्षम्य हुन नसक्ने बताएका हुन्।

आइतबार बिहान कोइराला निवास विराटनगरमा स्थानीय संवाददाताहरूलाई नेता कोइरालाले महतोका भनाइमा आफ्नो प्रतिक्रिया जनाए।

उनले नेपालमा बहुल राष्ट्रवादको स्थापना हुन नसक्ने विचार व्यक्त गरे।

डाक्टर कोइरालाले नेपाल एक बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै यस भाषा, जाति, संस्कृति र धर्मको बहुलतालाई नेपालको संविधानले रक्षा गरेको धारणा प्रकट गरे।

सञ्चारकर्मीहरूसित उनको प्रतिक्रिया छ, ‘उहाँहरूको दस्तावेजमा के छ त्यो आफ्ना ठाउँमा छ। तर मुलुकको संविधानलाई स्वीकार गरेर उहाँ यो मुलुकको उपप्रधानमन्त्री भइसकेपछि संविधानअनुारको धारणा अगाडि आउनुपर्छ। संविधानको मूल्य, मान्यता र मर्मविपरीत हुने गरी आएका विचार क्षम्य हुन सक्तैनन्।’

कोइरालाले नेपाली जनताले बहुल राष्ट्रवादलाई स्वीकार गर्न नसक्ने बताए।

ओलीलाई काङ्ग्रेसले बनायो तानाशाह

कोइरालाले ओलीले एक तानाशाहका रूपमा शासन गरिरहेको आरोप लगाउँदै ओलीलाई तानाशाहको स्वरूपमा ल्याउन नेपाली काङ्ग्रेसले नै सघाएको जिकिर गरे।

उनले भने, ‘आफ्नो शासनकालको आरम्भमा ओलीजीले सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई आफूमातहत राख्नुभयो। त्यो बेला प्रतिपक्षी दल नेपाली काङ्ग्रेस मौन रह्यो। त्यसपछि ओलीजीको मनोबल बढ्दै गयो। प्रधानमन्त्रीको मनोबल बढाउन नेपाली काङ्ग्रेसको भूमिका छ।’

कोइरालाले ओलीले सम्पत्ति शुद्धीकरण लगायतका निकाय आफूमातहत ल्याउने बेलामा नेपाली काङ्ग्रेसले सदन अवरूद्ध गरेर सडक आन्दोलन गर्नुपथ्र्यो भने।

उनले ओलीले मनपरी गर्दा पनि आफ्नो पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह नगरेको भन्दै दुःख प्रकट गरे।

ओली अहिले कम्बोडियन मोडलमा जान खोजिरहेको र विपक्षीलाई सखाप पार्ने हिसाबले बङ्गलादेशको मोडलमा चुनाव गराउन लागेको कोइरालाको भनाइ छ।

केस कोइरालाले ओलीले आफू प्रधानमन्त्री हुनुअगाडि नै प्रचण्डलाई व्यङ्ग्य गर्दै सत्ता कब्जा कसरी गर्ने भनेर एक–दुई गाउँ भाषण गरेको र पटकपटक कम्बोडियाको समेत भ्रमण गरेको स्मरण गरे।

उनको कथन थियो, ‘ओलीमा आफू तानाशाह बन्ने इरादा चुनावअघि नै पलाइसकेको थियो।’

चुनावमा शंका

डाक्टर कोइरालाले कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुनर्गठन गरेर चुनाव नगर्ने तयारी गरिरहेको दाबी गरे।

‘पुनर्गठन इन्टरेस्टिङ छ’, उनको धारणा छ, ‘अहिलेको संविधान निर्माण र जारी हुँदा यसको उग्र प्रतिरक्षा ओलीजीले गर्नुभएको हो। त्यस्तै संविधानको उग्र विरोध गर्नेमा राजेन्द्र महतोजी लगायत हुनुहुन्थ्यो। अहिले के बाध्यता पर्यो, दुबै एकै ठाउँमा आएका छन्। त्यसैले मङसिरमा हुने निर्वाचन ओलीजीबाट हुन्छ कि हुँदैन भन्नेमा शङ्का छ।’

कोइरालाले प्रधानमन्त्री ओली राजेन्द्र महतोलगायतसित एक ठाउँ भएर दक्षिणपन्थी शक्तिको नेतृत्व गरिरहेको, माधव–झलनाथले वामपन्थी धार अँगालेको र आफ्नो पार्टी नेपाली काङ्ग्रेस सधैँझै मध्यमार्गी पन्थमा रहेको चर्चा गरे।

उनले नेपाली काङ्ग्रेस संविधान र लोकतन्त्रको रक्षाका लागि मात्र माओवादीसित सँगै जानसक्ने तर चुनावी मैदानमा एक्लै जाने घोषणा गरे।

संसद् पुनःस्थापना हुन्छ

केन्द्रीय सदस्य कोइरालाले १ सय ४६ सांसद नै अदालतमा सशरीर गएर निवेदन दर्ता गराएको अहिलेको अवस्थामा प्रतिनिधि सभाको पुनःस्थापना हुने विश्वास प्रकट गरे।

उनले भने, ‘संसदको पुनःस्थापना भए पनि जाने त चुनावमै हो। किनभने यो संसद् अब चल्न सक्तैन भन्ने देखिइसक्यो। तर ओलीजी भरसक चुनावै नगराउने अनि गराए पनि स्वतन्त्र र निष्पक्ष नगराई बङ्गलादेशी मोडलमा गर्ने तयारीमा हुनुहुन्छ। त्यसैले शेरबहादुरजीको नेतृत्वमा नयाँ चुनावी सरकार बनाउनुपर्छ अनि चुनावमा जानुपर्छ भन्ने मेरो धारणा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell