PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लुम्बिनीमा मात्रै १७५३ जनाको मृत्यु : साढे तीन महिनामा सवा दुई लाख जना भारतबाट नेपाल प्रवेश, परीक्षण चाहिँ ५ हजारको मात्र



विधुर ढकाल

लुम्बिनीमा मात्रै १७५३ जनाको मृत्यु : साढे तीन महिनामा सवा दुई लाख जना भारतबाट नेपाल प्रवेश, परीक्षण चाहिँ ५ हजारको मात्र

काठमाडौं : लुम्बिनी प्रदेशमा कोभिड-१९ को संक्रमणबाट एक हजार ७५३ जनाको मृत्यु भएको छ। यो नेपालको कूल मृत्युको २२.४७ प्रतिशत हो। प्रदेशमा शनिवार साँझसम्म ७७ हजार ३१५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा हाल ६ हजार १४६ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ। 

 

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये हालसम्म सबैभन्दा बढी संक्रमण रुपन्देही जिल्लामा पुष्टि भएको छ। रुपन्देही जिल्लामा आरटी-पीसीआर परीक्षणका क्रममा २५ हजार ८८१ र एन्टिजेन परीक्षणका क्रममा एक हजार ६४० गरी २७ हजार ५२१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 


त्यस्तै, प्रदेशमा हाल एक हजार ३७३ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, प्रदेशमा सबैभन्दा बढी मृत्युदर गुल्मी जिल्लामा ३.३२ प्रतिशत छ। गुल्मीमा हालसम्म दुई हजार २०१ जनामा संक्रमण पुष्टि भएको मध्ये ७३ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ४१९ जना संक्रमित पुष्टि भएको कपिलवस्तुमा २.८५ प्रतिशतको मृत्यु भएको छ। 

लुम्विनी प्रदेशको रुकुम पूर्वमा हालसम्म आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका कसैको पनि मृत्यु भएको छैन।  रुकुम पूर्वमा २० जना सक्रिय संक्रमित छन्। आरटी-पीसीआर परीक्षणका क्रममा त्यहाँ ११४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, रुकुम पूर्वमा ७७२ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएकोमा १३ जनाको मृत्यु भएको छ। 

६६ प्रतिशत पुरुषको मृत्यु
प्रदेशमा मृत्यु भएका मध्ये ६६ प्रतिशत पुरुष छन्। आर्टी पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भई मृत्यु भएका एक हजार ४७४ जना मध्ये ९७३ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ५०१ जना महिलाको मृत्यु भएको छ। 
मृत्यु हुनेमध्ये सबैभन्दा बढी रुपन्देहीका १६० महिला र २७३ पुरुष छन्। त्यस्तै बाँके जिल्लामा १२५ महिला र १६८ पुरुषको मृत्यु भएको छ। 


मृत्यु हुने मध्ये १६ वर्ष देखि ५९ वर्ष सम्मका ६२ प्रतिशत 
यसै बिच मृत्यु भएका मध्ये सबैभन्दा बढी १६ वर्ष देखि ५९ वर्ष उमेर समूहका छन्। यस समूहका ६२ प्रतिशतको मृत्यु भएको छ। १६ वर्ष देखि ५९ वर्ष उमेर समूहका ९२२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। यो मृत्यु आरटी-पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएकाको मृत्यु हो। त्यस्तै, १५ वर्ष उमेरभित्रका २ र ६० वर्ष माथिको उमेर समूहका ५५० जनाको मृत्यु भएको छ। 

साढे तीन महिनामा दुई लाख १९ हजार नेपाल प्रवेश साढे पाँच हजारको मात्र परीक्षण
यसै बिच गत चैत ११ गते देखि सीमा नाकामा स्थापित हेल्थ डेस्क मार्फत् दुई लाख १८ हजार ७०७ जनाको स्क्रिनिङ गरिएको निर्देशनालयले जनाएको छ। 

प्रदेश अन्तर्गतका तीन वटा ठूला नाकामा स्थापित हेल्थ डेस्क मार्फत स्क्रिनिङ गरिएको हो। जसमध्ये सबै भन्दा बढी बाँकेको जमुनी नाकाबाट एक लाख ८४ हजार ९७३ जना नेपाल प्रवेश गरेका छन्। जसमध्ये दुई हजार ९७९ जनाको मात्र परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ८.५९ प्रतिशत अर्थात २५६ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै रुपन्देहीको बेलिहिया नाकाबाट नेपाल प्रवेश गर्ने १९ हजार ६१९ जना मध्ये दुई हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४.१ प्रतिशत अर्थात ८४ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै कपिलवस्तुको कृष्णनगर नाकाबाट नेपाल प्रवेश गरेका १४ हजार ११५ जना मध्ये ४७० जनाको मात्र परीक्षण भएकोमा १३.४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जुन ६३ जना हो। 

भारतबाट नेपाल प्रवेश गर्ने परीक्षण गरिएका मध्ये ७.३३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell