काठमाडौं : सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलाएन्सले नेपाललाई सय वटा अक्सिजन कन्सेन्ट्रेटर दिएको छ। कोभिड १९ महामारीको दोस्रो लहरले देशलाई आक्रान्त पारेको अवस्थामा संसारभर रहेका नेपाली र संघसंस्था मिलेर अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा एलासन्सको तर्फबाट वरिष्ठ विमान चालक विजय लामाले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सेन्ट्रेटर हस्तान्तरण गरेका थिए। सामाग्री हस्तान्तरण कार्यक्रममा एलायन्सका तर्फबाट पूर्व क्रिकेट कप्तान पारस खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ , एलायन्सका नेपाल संयोजक पुकार बमलगायतको उपस्थिति थियो।
प्रहरीले उक्त सामाग्रीहरु दुर्गम ठाउँहरूमा ढुवानी गर्न समन्वय गर्ने जनाएको छ।
दिनहुँ संक्रमित भएका नेपालीहरुको पीडामा मल्हम लगाउनको लागि यो एलाइन्सको गठन गरिएको र सहयोग संकलन गरी उपलब्ध गराइरहेको एलाइन्सकी अन्तरास्ट्रिय संयोजक प्रगति घिमिरेले बताइन्।
'हामी देशविदेशबाट नेपालका लागि लागिपरिरहेका छौँ। देशलाई सहयोग गर्नुपर्ने यो भन्दा कठीन घडी सायदै आउला,' उनले भनिन्।
हाम्रो सानो प्रयास नेपालका राष्ट्रिय संयोजक पुकार बमले यो अभियानको उद्देश्य संसारभरीका सहयोगी नेपालीहरुको साधन श्रोत प्रयोग गरेर छिटो भन्दा छिटो नेपालका आवश्यक स्थानमा राहत पुर्याउनु रहेको बताए।
