PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

'अण्डर डग' भन्दै धेरैले जोर्डनलाई जित्न सक्दैन भनिरहेका छन्, तर नतिजा मैदानको प्रदर्शनले दिनेछ : प्रशिक्षक अलमुताइरी



पहिलोपोस्ट

'अण्डर डग' भन्दै धेरैले जोर्डनलाई जित्न सक्दैन भनिरहेका छन्, तर नतिजा मैदानको प्रदर्शनले दिनेछ : प्रशिक्षक अलमुताइरी
फोटो: एन्फा

काठमाडौं: कुवेतमा रहेका नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको खेलमा जितको लक्ष्यका साथ उत्रने बताएका छन्। उनले यसअघि चाइनिज ताइपेइसँगको खेलमा जतिकै जोर्डनविरुद्धको खेलमा पनि तयारी गरेकाले आफ्नो लक्ष्य जित निकाल्दै अंक जोड्ने हुने बताएका हुन्।

‘धेरैले हामीलाई अण्डरडग भन्दै जोर्डनविरुद्ध जित्न नसक्ने भनिरहेका छन्। तर हरेक म्याज ०-० गोलमा सुरु हुन्छ र नतिजा मैदानको प्रदर्शनले दिन्छ। सुरुबाटै हाम्रो लक्ष्य जित्नेमा रहनेछ,’ प्रशिक्षक अलमुताइरीले जोर्डनसँगको खेलको पूर्वसन्ध्यामा भने, ‘एसियन कप क्वालिफायर्समा क्वालिफाइ हुने हाम्रो लक्ष्य हो। र त्यसका लागि हामीले जोर्डनलाई हराउनु पर्छ।’

टिमको तयारीलाई लिएर अलमुताइरीले भने: हामीले जोर्डनविरुद्धको खेलका लागि त्यति नै तयारी गरेका छौं जति चाइनिज ताइपेइविरुद्धको खेलका लागि गरेका थियौं।

त्यस्तै जोर्डनका मुख्य प्रशिक्षक भिटल बोर्केलमन्सले आफूहरुले तीन अंक लिने अपेक्षा गरे पनि फुटबलमा जे पनि हुन सक्ने बताएका छन्।

‘हामी सबैले तीन अंकको अपेक्षा गरेका छौं। तर यो फुटबल हो। जे पनि हुन सक्छ,’ प्रशिक्षक भिटलले भने, ‘मैले नेपालले इराक र चाइनिज ताइपेइसँग खेलेको हेरेँ। उनीहरुको खेलको स्तर र खेल्ने तरिका फेरिएको छ।’

नेपालले सोमबार (भोलि) बेलुकी पौने १० बजे जबेर अल अहमेद स्टेडियममा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। यही स्टेडियममा सम्पन्न यसअघिको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो।

जोर्डनसँग पछिल्लोपटक मैदानमा भेट्दा नेपाली टोली ३-० ले पराजित भएको थियो। फिफा वरीयतामा जोर्डन ९५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell