PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार तत्काल नढल्ने



पहिलोपोस्ट

माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार तत्काल नढल्ने

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रदेश नम्बर १ को शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ। 
माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेश नम्बर १ को प्रदेश सभा सचिवालयमा मुख्य मन्त्री राई नेतृत्वको सरकारलाई आफ्नो पार्टीले गरेको समर्थन फिर्ता गरिएको जानकारी दिएका हुन्।

नेता आङ्बोले सर्वसत्तावादी र तानाशाही शैलीमा अघि बढिरहेका प्रधानमन्त्रीका केपी शर्मा ओलीका अन्ध समर्थक र पिछलग्गू भएको सरकारलाई समर्थन गर्न कुनै पनि नैतिक धरातलमा उभिएको राजनीतिक दलको विवेकले नदिने बताए।

उनले मुख्यमन्त्री राई र उनी नेतृत्वको सरकार पनि भ्रष्टाचार र कमिसनको दलदलमा जाकिएको भन्दै रोष प्रकट गरे।

प्रदेश नम्बर १ को प्रदेश सभामा माओवादी केन्द्रका १५ सांसद् छन्। कुल ९२ सदस्य भएको प्रदेश सभामा नेकपा एक भएमा एक्लै सरकार बनाउन पुग्ने गरी ५१ सांसद् छन्। प्रदेश सभामा सरकार गठनका लागि सामान्य बहुमत ४७ भए पुग्छ। त्यस्तै नेपाली काङ्ग्रेसका २१ सदस्य छन्। यसरी तत्काल राई नेतृत्वको सरकारमा सङ्कट देखिएको छैन।

नेकपाको माधवकुमार नेपाल पक्षले छुट्टै दलको गठन गर्‍यो भने प्रदेश सभामा माधवपक्षीय सांसद् कति जना हुन्छन् भन्ने स्पष्ट खाका आइसकेको छैन। 

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको संसद् विघटनविरूद्ध उभिएका माधवपक्षीय १९ सांसदले माओवादी केन्द्रसित मिलेर पुस १२ गते मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल भएपछि एमाले सभासदहरूले आफ्नो हस्ताक्षर फिर्ता गरेका थिए।
प्रदेश सभाको अधिवेशन भोलि सोमबारबाट सुरु हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell