PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानको खाद्यान्न सहयोग



पहिलोपोस्ट

कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानको खाद्यान्न सहयोग

काठमाडौं : कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले खाद्यान्न सामग्री सहयोग गर्न थालेको छ।

प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिरहेको छ। अभियानको पहिलो चरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा सम्पूर्ण सामग्री वितरण गराइएको अध्यक्ष रमेश बिजीले जानकारी दिए।

कोरोनाको दोस्रो लहरबीच आपतमा परेका संगीतमा आबद्ध सबै कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग अभियान शुरु गरेको बिजीले बताए। प्रतिष्ठानकै कार्यालयबाट नै राहत वितरण गरिरहेको समेत उनले सुनाए।

‘अहिलेसम्म सय जना जतिले राहत लगिसक्नु भएको छ। एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा लगायत दैनिक उपभोग्य सामाग्री वितरण गरिरहेका छौँ। साथै माक्स र सेनिटाइजर समेत छन्। नाम टिपाएको ब्यक्तिहरुले राहत लगिरहनुभएको छ,’ उनले बताए।

पहिलो चरणको राहत वितरणमा करिव चार/पाँच सय जनाले नाम दर्ता गराएको अध्यक्ष बिजीले जानकारी दिए। अझै पनि समस्यामा रहेकाहरुलाई सम्पर्कमा आउन  समेत उनले आग्रह गरेका छन्। 

यो महामारीको बेला आफू बाँच्ने र अरुलाई पनि बचाउन पर्छ भन्ने उद्देश्यका साथ प्रतिष्ठानले यो अभियान शुरु गरेको अध्यक्ष बिजीको भनाइ छ। रोगबाट आफैँ जोगिनुहोस् र भोगबाट हामी बचाउन्छौँ भन्ने अभियानको नारा रहेको बताउँछन् उनी।

कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell