PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कोरोना संक्रमितलाई आफैँ गाडी हाँकेर अस्पताल पुर्‍याउँछन् गाउँपालिका अध्यक्ष राई, 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय हैन'



नेत्र तामाङ

कोरोना संक्रमितलाई आफैँ गाडी हाँकेर अस्पताल पुर्‍याउँछन् गाउँपालिका अध्यक्ष राई, 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय हैन'

काठमाडौँ: जेठ १४ गते कोभिड-१९ संक्रमित सावित्रा देवकोटा घरमै बेहोस भइन्। परिवार आत्तिए। सावित्रालाई बचाउन हात-पैतला रगट्न थाले। 'बोल्ने चल्न केही भएन। अन्तिम अवस्थामा पुगेको थियो,' सवित्राका छोरा लोमशले सम्झिए, 'के गर्ने कसो गर्ने हो केही होस् आएन।'

गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन। अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो। पानी परिरहेको थियो।

'बाइक त थियो। पानी परिरहेको थियो। भुईंमा लडेकी आमालाई बाइकमा कसरी लाने?' लोमश दोधारमा परे।

वैशाख २८ गतेबाट बिरामी परेकी थिइन् ५४ वर्षीया सावित्रा। टाउको दुख्ने, गर्दन दुख्नेजस्ता लक्षण उनमा देखिएको थियो। १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भयो। त्यसपछि घरमै आइसोलेसनमा बसिन्। जडिबुटीदेखि औषधिको व्यवस्था भयो।

खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाका -२ डाँडागाउँकी उनलाई कोरोना परीक्षण गर्न गाउँपालिकाको टोली घरमै आइपुगेका थिए। गाउँपालिका १ मा रहेको कोभिड अस्पताल याम्खाको चिकित्सकको सल्लाहमै उनी होम आइसोलेसनमा बसेकी थिइन्।

गाडी खोजेको ४५ मिनेटपछि घर अगाडि सरकारी गाडी आइपुग्यो। गाडीबाट ओर्लिए गाउँपालिका अध्यक्ष भुपेन्द्र राई। उनैको गाडीमा सावित्रालाई हाले।

'अध्यक्षज्युले नै गाडी ल्याउनुभएछ। लास्टै अवस्थामा पुग्नुभएको थियो आमा। स्ट्रेचरमा लानुपर्ने थियो। त्यसरी लाँदा एक दुई घण्टा लाग्न सक्थ्यो,' लोमशले भने, 'मलाई त केही थाहा पनि छैन। अध्यक्षलाई मामाले फोन गर्नुभएको रहेछ। आमालाई बचाउन सफल भइयो।'

अस्पताल पुगेर उपचारपछि १९ गते रिपोर्ट नेगेटिभ आयो। अहिले सावित्रा घरमै आराम गररिहेकी छिन्।

+++

जेठ २१ गते बिहान राजकुमार राईकी श्रीमती कमला राई सिकिस्त भइन्। कसो गर्ने होला भनी आत्तिएका राजकुमारको घरमा गाउँपालिकाको टोली संयोगले पुग्यो। 'ज्वरो आएजस्तो थियो। टाउको पनि दुखेको थियो। चार पाँच दिन भएको थियो।,' वडा नम्बर ७ खाम्लाका राजकुमार भन्छन्, 'त्यो दिन चाहिँ जहानलाई गाह्रै भयो। कताकताबाट हो पालिकाको टोली आइपुगेछ।'

हल्का ज्वरो राजकुमारलाई पनि थियो। एन्टिजेन परीक्षणबाट पत्ता लाग्यो दुबैलाई संक्रमण रहेछ। 'कोरोना भनेपछि त हतारहतार ल्याइयो अस्पताल जहानलाई। म पनि के बस्नु खान पानी खुवाउनुपर्छ भनेर यतै आए,' याम्खास्थित अस्पतालबाट राजकुमारले भने, 'म त ठिकै छु। जहान सिरियस। अहिले अक्सिजन लाइरहेकी छिन्। ठिक हुँदैछ।'

गाउँपालिकाका संक्रमितलाई आफैँ उत्रेर यसरी सेवा दिन थालेपछि अहिले अध्यक्ष राई चर्चामा छन्। उनको विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत चर्चा हुन थलेको छ। केही दिनअघि वडा १ खामडाँडाकी ८८ वर्षीया धनकुमारी अधिकारीलाई उनले बोकेरै गाडीसम्म ल्याएको दृश्यको धेरैले तारिफ गरेका छन्।

संक्रमितलाई बोक्न कोही अघि नसरेपछि आफैँ पिपिई लगाएर उत्रेको राईले बताए। संक्रमित हुने जोखिम उत्तिकै हुन्छ नि, कतिको असजिलो महसुस हुन्छ? जवाफमा अध्यक्ष राईले भने, 'डर लागेर भो त? कोही अघि नसरेपछि, कर लागेपछि हिँड्नु परेन?'

खोटाङमा अहिले पनि निषेधाज्ञा छैन। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने यही जेठको ४ गते पहिलो संक्रमण पुष्टि भयो। त्यसपछि बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टिजेन परीक्षण गर्ने, संक्रमण पुष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनमै दिन बित्ने गरेको छ अध्यक्ष राईको।

केन्द्रको मुख ताकेर बस्ने होइन

दिप्रुङ चुइचुम्ममा अहिलेसम्म २५६ जनाको कोभिड परीक्षण गरिएको छ। जसमा ८९ जनाको संक्रमण पुष्टि भएको छ। १९ जनाले कोरोना जितिसकेका छन् भने ७० जना होम आइसोलेसनमा छन्। याम्खा अस्पतालमै उपचार भइरहेको र अहिलेसम्म कसैलाई गाउँपालिका बाहिर उपचारका लागि लानु नपरेको अध्यक्ष राईले बताए। याम्खामा बनेको अस्पताल २५ बेडको हो।

थप जटिल हुन नदिन र संक्रमण रोकथामका लागि टोलटोलमा परीक्षण सुरु भइसकेको उनले सुनाए।

'शंकास्पद बिरामीको घरघर पुगेर परीक्षण थालेका छौँ। यसमा सबै जनप्रतिनिधि खटिएका छन्,' अध्यक्ष राईले भने, 'कति चाहिँ डरले परीक्षण गराउन निस्किँदैनन्।'

गाउँपालिकाले अघिल्लो वर्ष तयार पारेको पूर्वाधारले गर्दा यसपटक कोभिडका बिरामीलाई उपचार गराउन सजिलो भएको बताउँछन् राई।

यो समय अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय नभएको उनको तर्क थियो। 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय यो हैन। रिमोट चलाएर बस्ने समय पनि हैन।'

कोभिड महामारीको बेला केन्द्र सरकार र प्रदेश सरकारको सहयोग कस्तो रह्यो त? जवाफमा उनले भने, 'यहाँ केन्द्रीय सरकार र प्रदेश सरकारको अनुभूति नै छैन। गाउँपालिकालाई सबै अधिकार दिएको छ। त्यसैले उनीहरुको मुख ताकेर बस्ने होइन। आफ्नो नागरिक बचाउन आफैँ लाग्ने हो।'

किन आफ्नै गाडी?

निर्धारित समय तालिका अनुसार वडा-वडामा एन्टिजेन परीक्षणपछि हाल बिरामी भएको खबर आएका ठाउँमा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीसहित पुग्ने र गम्भीर अवस्थाका बिरामीलाई गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्‍याउने गरिएकोछ। गाउँपालिकाको गाडी र एम्बुलेन्स चलाउनका लागि दुई जना चालक नियुक्त गरिएको छ। यही बेला एम्बुलेन्सका चालकलाई कोभिड संक्रमण भयो। अहिले उनी संक्रमणमुक्त भएर घरमा छन्। गाउँपालिकाको गाडी चालक पनि पारिवारिक समस्याले बिदामा बसेपछि आफैँले गाडी चलाएर बिरामीको उद्धारमा खट्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

भएको एम्बुलेन्स पनि पुरानो भएको र बेलाबेला बनाउनुपर्ने समस्या आइरहने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell