PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमालेको एकता आह्वानमा ओलीको भित्री चालबाजी : के नेपाल समूहमा आउँदैछ फाटो?



प्रकाश भण्डारी

एमालेको एकता आह्वानमा ओलीको भित्री चालबाजी : के नेपाल समूहमा आउँदैछ फाटो?

काठमाडौं : सरकारको बागडोर सम्हालिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाहीको डण्डा वर्षाउन थालेपछि वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले ओलीसँग मिल्नै नसकिने भन्दै १० बुँदे निर्णय सार्वजनिक गरे आइतवार। १० बुँदे सार्वजनिक भएको केही घण्टा नबित्दै आफू एक कदम पछि सरेर भए पनि ओलीले अन्तत: पार्टी एकताका लागि अपिल गरेका छन्।

बाहिर प्रस्ट देखिन्छ, नेपाल-खनाल समूहले अर्को पार्टी गठनका लागि तीब्र तयारी थालेपछि पार्टीमा हालीमुहाली चलाएका ओली एक कदम पछि हाटेर एकताको अपिल गरेका हुन्।

तर नेपाल-खनाल समूहसँग आक्रोशित रहँदै आएका ओली किन भए त 'यु टर्न'? किन चाले यस्तो रणनीति? यसबारे धेरैले सशंकित नजरअन्दाज लगाउन थालेका छन्।

आरोपप्रत्यारोपमा उत्रिरहने ओलीले यसपटक एकताका लागि ६ बुँदे प्रस्ताव नै पेश गरेका छन्। पार्टीलाई २०७५ जेठ ३ गते अघि फर्काउने, विवाद कार्यदलबाट मिलाउने, यसअघिका कमि कमजोरीलाई लिएर कुनै कारवाही नगर्ने ओलीले प्रतिवद्धता प्रस्तावमा छन्। तर, त्यसका लागि ओलीले नेपाल समूहमाथि प्रस्ट शर्त पनि तेर्स्याएका छन्। त्यो हो - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदन फिर्ता। नेपाल समूहका २६ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै राष्ट्रपतिलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका थिए। यता प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता भएको रिटमा नेपाल खनाल पक्षका २३ जनाले हस्ताक्षर गरेका थिए।

यो कदमपछि नेपाल समूहका नेपालसहित स्थायी कमिटी सदस्य भीम रावललगायत ११ जनालाई ओलीले पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो। आइतवार भने ओलीले कारवाही नगर्ने प्रतिवबद्धता जनाएका छन्।

नेपाल खनाल समूहमा विवाद बढ्ने

यसरी बेलाबेला कारवाहीको डण्डा बर्साउने र नेताहरुलाई तर्साउने नीति अपनाएका ओलीले एकताको प्रस्तावको रणनीति अघि बढाएपछि नेपाल समूहमा भने विवाद बढ्ने देखिएको छ।

नेपाल समूहका दोस्रो तहका नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलगायतका नेताहरु एमालेमै संघर्ष गर्नुपर्ने भन्दै नयाँ पार्टी बनाउन नहुने पक्षमा उभिएका छन्। उनीहरुले ओली पक्षका नेताहरुसँग हिमचिम पनि बढाएका छन्। हिमचिम बढेसँगै उनीहरुमाथि ओली समूहमा जान लागेको आरोप लाग्न थालेको छ। यद्यपि नेपाल खनाल समूहको केन्द्रीय कमिटिको बैठकमा वार्ताको इमान्दार पहल गरेको स्पष्टीकरण दिएका छन् उनीहरुले।

नेपाल समूहमा विग्रह ल्याउने हतियार

ओलीले आफू अप्ठेरोमा परेका बेला विपक्षीलाई अलमलामा पार्न विभिन्न 'मुभ' चाल्ने गरेका छन्। प्रतिनिधि सभामा वैशख २७ गते विश्वासको मत लिनुअघि पनि ओली एक कदम पछि हटेर वार्ताको लागि तयार भएका थिए। ओलीको त्यो बेलाको रणनीति आशिंक रुपमै भए पनि सफल भएको थियो। नेपाल समूहले तीब्र तयारी गरेको सामूहिक राजीनामालाई अल्मलाएर रोक्न सफल भएका थिए ओली।

नेपाल समूहका नेताहरुलाई कारवाही गरेकै भए पनि ओलीले दोस्रो तहका नेतामार्फत वार्ताको कार्ड फालेका थिए। जसमा नेपाल समूहका दोस्रो तहका नेताहरु सहमत भएको बताइएको छ। यद्यपि नेपालले ओलीको वार्ताको औचित्य नभएको विहीवार र शुक्रवार भएको केन्द्रीय कमिटीको बैठकमा बताएका थियो। ओलीको 'वार्ता कार्ड' आफ्नो समूहलाई थप कमजोर बनाउने रणनीति भएको नेपाल समूहका नेताहरुको भनाई छ। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नो समूहले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय फिर्ता लिनुपर्ने बटमलाइन बनाएकाले ओली त्यसका लागि तयार नभएको बताइन्। 'प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्‍यो। कारवाही गरिएका नेताहरुको कारवाही पनि फिर्ता हुनुपर्‍यो। नभए ओलीले हाम्रो समूहमा भएको शक्तिलाई कमजोर बनाउन पनि वार्ता र सहमतिका लागि पहल गरिरहेका छन्,' उनले भनिन्।

नेपाल समूहका नेताहरुको बुझाइमा ओलीको २०७५ जेठ ३ मा फर्कने सहितको अपिल पनि आफ्नो समूहलाई कमजोर बनाउने उद्देश्यले आएको बताउछन्।

पूर्व माओवादीबारे ओली मौन

ओलीले विज्ञप्तिमा जेठ ३ अघिको कमिटीलाई क्रियाशिल बनाउन आफू सहमत भएको बताए पनि माओवादी त्यागेर एमालेमा आएका नेताहरुको नेताहरुको बारेमा खासै केही उल्लेख गरेका छैनन्। यसो त विज्ञप्तिको पहिलो बुँदामा पूर्व माओवादीका नेताहरुलाई पनि समेटेर लैजानुपर्ने छनक दिएका छन् ओलीले। 'नेकपाको केन्द्रीय कमिटीको सदस्यमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर स्थायी कमिटी र केन्द्रीय कमिटी गतिशिल हुनेछन्,' विज्ञप्तिमा उल्लेख छ।

ओली र खनाल-नेपाल समूहको विवादमा माओवादी नेताहरु व्यवस्थापनका विषयमा समेत विवाद हुँदै आएको छ। ओली कुनै पनि हालतमा उनीहरुलाई अहिले कायम  रहेकै कमिटीमा निरन्तरता दिने पक्षमा छन् भने नेपाल-खनाल समूह पुरानो कमिटीलाई मान्यता दिएर अघि बढे उनीहरुसँग नयाँ तरिकाले डिल गर्नुपर्ने पक्षमा छ।

किन हटे ओली एक कदम पछि?

ओली समूहका नेताहरुका अनुसार ओलीले नेपालसँग एकताका लागि अन्तिम पहल गरेका हुन्। तर, उनको यो रणनीतिक कदम भएको उनी निकट स्रोतको दाबी छ। नेपाल समूहको केन्द्रीय कमिटी हुँदै शनिवार सम्पन्न स्थायी कमिटी बैठकमा नेताहरुको धारणा र नेपाल समूहले अब चाल्न सक्ने कदमलाई मध्यनजर गरेर एकताको आह्वान गरिएको हो। 'अध्यक्षले त जहिले पनि एकताका लागि पहल गर्नुभएको छ। यो पनि अहिले जो पार्टी एकताप्रति सकारात्मक हुनुहुन्छ त्यसलाई लक्षित गरेर ल्याएको हो,' ओली निकट स्रोतले भन्यो।

ओलीले प्रस्तावमार्फत नेपाल समूहमा रहेका युवा नेताहरुलाई तान्न यस्तो कदम चालेको स्वयं नेपाल समूहका नेताहरुले बताइरहेका छन्। नेपाल, खनाल र रावललगायत ११ जना नेतालाई पार्टीबाट हटाउने निर्णय फिर्ता नलिएरै एकताका लागि आह्वान गर्दा नेपाल समूहका नेताहरु सशंकित भएका हुन्।

ओलीले नेपाल समूहको साना भेलालाई रोक्न चैत २ गते पुरानो पार्टी कार्यालयमा वार्ता गरेका थिए। तर, नेपाल समूह कार्यकर्ता भेला रोक्न तयार भएन। यस्तै, मेरियट होटलमा ओली र नेपालबीच वैशाख ८ र ९ गते एक्ला एक्लै वार्ता भएको थियो। उक्त वार्तामार्फत नेपाल समूहलाई अलमल्याउने ओलीको रणनीति भएको नेपालले बताउँदै आएका छन्।

ओलीको प्रस्तावले नेपाल समूहमा यसरी आउन सक्छ बिग्रह

नेपाल समूहका नेताहरुले ओलीको विज्ञप्ति आएपछि त्यसको विश्लेषण आइतवार साँझै गरेका थिए। औपचारिक धारणा सार्वजनिक नगरेको नेपाल समूहले स्थायी कमिटीको बैठकपछि मात्रै ओलीलाई जवाफ दिने भएको छ। ओलीसँग नेपाल-खनालसँग परामर्श नै नगरी वार्ता गरेर ओली समूहमा जान लागेको भन्दै यसअघि पनि नेपाल समूहमा विवाद उत्पन्न भएको थियो। आइतवारको ओलीको विज्ञप्तिले ओली समूह प्रवेश गर्नेका लागि फेस सेभिङ हुन सक्ने नेपाल समूहका कतिपय नेताको मत छ।

त्यसैलाई पुष्टि गर्नेगरी नेपाल समूहभित्रका नेताहरुको मत भने ओलीको विज्ञप्तिपछि बाझिएको छ। आफ्नो धारणा सार्वजनिक गरेका नेताहरुको भनाई एक अर्कासँग बाझिएको हो।

नेपाल-खनाल समूहका योगेश भट्टराईले ओलीको आह्वानको स्वागत गर्दा रामकुमारी झाँक्री विरोधमा उत्रिएकी छन्।

भट्टराईले एकताको पहल सकारात्मक भएको भन्दै आफ्नो धारणा फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

'एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ। कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ,' उनले भनेका छन्।

तर, झाँक्रीले भने ओलीको प्रस्तावलाई ओलीले झुक्याउनका लागि गरिएको प्रचारबाजी भएको दाबी गरेकी छन्। उनले यो ओलीको चालबाजी चरो थाप्ने प्रयासमात्र भएकोतिर इंगित गरेकी छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले ओलीको विज्ञप्तीका सार एकताका लागि नभएको दाबी पेश गरेकी छन्। 'यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ,' उनले भनेकी छन्। ओलीले अदालतमा बिचाराधिन मुद्दा फिर्ता लिनुपर्ने भनेर राखेको शर्त कुनै हालतमा पुरा नहुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell