PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

ब्राजिलमा चाहिएको छ खोप तर सरकार 'कोपा अमेरिका' गराउने दाउमा, प्रतियोगितालाई किन भनिँदैछ 'मृत्युको प्रोजेक्ट?'



ब्राजिलमा चाहिएको छ खोप तर सरकार 'कोपा अमेरिका' गराउने दाउमा, प्रतियोगितालाई किन भनिँदैछ 'मृत्युको प्रोजेक्ट?'

ब्राजिल फुटबल टिमका कप्तान कासेमिरोले सम्पूण टिमनै ब्राजिलमा कोपा अमेरिका आयोजनको विपक्षमा रहेको बताएपछि कोपा अमेरिका आयोजनामा अन्योलता बढेको छ।

सहआयोजकबाट कोलम्बिया र आयोजकबाट अर्जेन्टिना राजनीतिक र कोभिड १९ महामारीका कारणबाट हटेपछि अन्तिम समयमा आएर ब्राजिलले प्रतियोगिता आयोजनाको जिम्मा पाएको थियो।

ब्राजिलका खेलाडीहरु प्रतियोगिताको आयोजनालाई लिएर सन्तुष्ट नभएको भन्ने समाचारहरु आइरहँदा ब्राजिलका कप्तान कासेमिरोले आफूहरु प्रतियोगिताको विपक्षमा रहेको बताएका हुन्।

‘हामी यो इश्युको बारेमा कुरा गर्न चाहँदैनौ। तर सबैलाई थाहा छ हाम्रो पोजिसन् के हो,’ इक्वेडरमाथि जित निकालेसँगै शनिवास कासेमिरोले भनेका थिए, ‘हामी स्पष्ट छौं यो सम्भव छैन। पाराग्वेसँगको खेल पछी हामी हाम्रो राय राख्नेछौं।’

जुन ५ सम्मको आँकडा हेर्ने हो भने १ करोड ७० लाख भन्दा बढी कोभिड १९ केस ब्राजिलमा देखिएको छ। जसमा ४ लाख ७० हजार भन्दा बढिको मृत्यु भइसकेको छ, जुन अमेरिका पछिको दोस्रो हो।

ब्राजिलले आयोजनाको घोषणा गर्दैगर्दा १० प्रतिशत नागरिकले मात्र भ्याक्सिन लगाएका थिए। यसअघि ब्राजिल टिमका प्रशिक्षक टिटेले प्रतियोगितामा सहभागिता जनाउने या नजनाउने भनेर फुटबल एसोसिएसनका अध्यक्षसँग छलफलसमेत गरेका थिए। यसबारेको अन्तिम निर्णय पाराग्वेविरुद्धको मंगलवारको खेल पछि आउने विश्वास लिइएको छ। ब्राजिली राष्ट्रपति जैर बोल्सोनरोका समर्थकहरुले यसविषमा प्रशिक्षक टीटेको राजीनामा समेत मागेका थिए।

त्यस्तै इक्वेडरका डिफेन्डर रोबर्ट अर्बोलेडाले साउथ अमेरिकन च्याम्पियनसिपमा सहभागिता जनाउने या नजाउने भनेर कप्तानहरु छलफलमा रहेको जनाएका थिए।

‘धेरै मानिसहरुको निधन भइरहेको छ। हामी खेलाडीका लागि होटलहरुमा जान पनि कठिन हुनेछ। किनभने त्यहाँबाट भाइरस सर्न सक्छ र पुरा टिम संक्रमित हुन सक्छ,’ अर्बोलेडाले भने।

के ब्राजिलमा प्रतियोगिता गराउने निर्णय सही हो?

कोलम्बिया र अर्जेन्टिनाले महामारीको कारण देखाउँदै प्रतियोगिताबाट हात झिक्यो। तर, राजनीतिक अस्थिरताबिच कोभिडसँग जुधिरहेको ब्राजिलको प्रतियोगिता गराउने निर्णय विरोधाभाषी देखिन्छ।

ब्राजिलमा कोभिडले सुरुबाटै ठूलो असर गरिरहेको छ भने दोस्रो लहरसम्म आइपुग्दा पनि त्यो क्रम घटेको छैन।

हाइप्रोफाइल स्टार खेलाडीहरु जस्तै अर्जेन्टिनाका सर्जियो अग्युरो, उरुग्वेका लुइस स्वारेजलगायतका खेलाडीले चासो दिँदै आवाजसमेत उठाएका छन्। त्यस्तै चिलीको राष्ट्रिय टोलीले पनि प्रतियोगिता बोइकट गर्ने सम्भावना देखिन्छ जब चिली प्रशिक्षक मार्टिन लासर्टेले भनिसकेका छन् की: ब्राजिलमा खेल्नु ठूलो जोखिम हो।

त्यस्तै प्रतियोगिता मस्कट र लोगोमा कफिनबनाएर मिमहरु पनि बनिइरहेका छन्।

प्रतियोगितालाई लिएर दक्षिण अमेरिकी फुटबल फेडेरेसनले (कोन्मेबोल) १०० मिलियन डलर बराबरको टीभी राइट बेचिसकेको छ। ब्राजिलको एउटा पत्रिकाले गरेको रिसर्च अनुसार कोपा अमेरिकाको आयोजक चारवटा शहरमा २० प्रतिशतभन्दा कम आईसीयू उपलब्ध छन्।

कोन्मेबोलले प्रतियोगिता अघि चाइनिज म्यानुफ्याकचरबाट प्राप्त हुने सिनोभ्याक भ्याक्सिनले सबै टीम डेलिगेसनलाई भ्याक्सिन पुर्‍याउनका लागि पर्‍याप्त हुने दाबी गरेको छ।

यद्यपि, यसका लागि आयोजकसँग पर्याप्त समय छैन। हप्तादिन जति प्रतियोगिता आयोजनाका लागि समयबाँकी छ भने भ्याक्सिनको दोस्रो डोज लगाउने अवधि कम्तिमा ३ हप्ताको तोकिएको छ। यसले गर्दा वर्कर, बलबोइ, बस ड्राइभर, होटल स्टाफलायतमा सुरक्षाको चुनौती त हुने छ नै।

‘यो मुर्ख कुरा हो,’ ब्राजिलियन इन्चिट्युट अफ पब्लिक ल कि प्रोफेसर मोनिका सापुकाइया भन्छिन्, ‘उनीहरु भनिरहेका छन् की ब्राजिल आउनेलाई भ्याक्सिन लगाउने छन्। अनि एयरपोर्ट, रेस्टुरेन्ट, होटलमा काम गर्नेको के हुन्छ? उनीहरुको होटलमा खेलाडी एक महिना रहन्छन् भनेर हामी आशा गर्न सक्छौं? यो उट्पटाङ कुरा हो।’

त्यस्तै ब्राजिलको विपक्षी पार्टीले महामारीबि प्रतियोगिता गराउनुको औचित्य सोध्दै सुप्रिम कोर्टमा केस नै गरिसकेको छ।

ब्राजिलको सोसियलिस्ट पार्टीका नेता कार्लोस सिकिराले प्रतियोगिताको आयोजना ‘मृत्युको प्रोजेक्ट’ भएको भन्दै आलोचना गरेका छन्। त्यस्तै सिनेटर रेनान कैलहेरोसले स्टार खेलाडी नेइमारलाई कोपा अमेरिकाविरुद्ध 'स्ट्यान्ड' लिन आग्रह गरेका थिए।

कोरोना संक्रमण नियन्त्रण र रोकथाममा असफल भएको भन्दै आलोचित ब्रालियन राष्ट्रपति बोल्सोनरोको कोपा अमेरिका गराउने निर्णयको ब्राजिल भर विरोध भइरहेको छ। ब्राजिलियनहरुले आफूहरुलाई कोपा अमेरिका भन्दा कोभिड १९ विरुद्धको खोप आवश्यक रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell