काठमाडौं : वैशाखको पहिलो साताबाट नै देशभर कोरोना संक्रमित थपिने दर बढ्दै गएको थियो। बाँकेको नेपालगन्जमा सबैभन्दा धेरै संक्रमित देखिन थालेका थिए। वैशाख १३ गतेबाट बाँकेको नेपालगन्जमा निषेधाज्ञा गरियो। कोभिड १९ संक्रमणको दोस्रो लहरमा निषेधाज्ञाको सुरुवात त्यहीबाट भयो।
दोस्रो लहरमा हिमाली जिल्ला मनाङमा पनि संक्रमित देखिएको आशङ्का गरियो। मनाङका दुई गाउँपालिकाका १ सय ३८ जनाको कोरोना परीक्षण गरियो। जसमा २८ जना संक्रमित रहेको पहिचान भयो। वैशाख अन्तिमतिर आइपुग्दा देशभर नै कोरोनाको लहर यसरी बढ्यो कि त्यो राज्य संयन्त्रको नियन्त्रणभन्दा बाहिर गयो। काठमाडौँ उपत्यकाभित्र तीन जिल्लाभित्र सबैभन्दा धेरै संक्रमित भेटिए।
संक्रमित थपिने दर उच्च भएपछि काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा गरियो। देशको राजधानीमा नै निषेधाज्ञा भएपछि अन्य जिल्लामा पनि संक्रमण दर हेरेर निषेधाज्ञा गर्न थालियो। सीसीएमसी र मन्त्रिपरिषद्को निर्णय अनुसार यस पटक स्थानीय प्रशासनलाई नै निषेधाज्ञा गर्ने अधिकार प्रत्यायोजन गरेपछि प्रमुख जिल्ला अधिकारीहरूले नै यसको घोषणा गर्न थाले।
गाउँमा २ सय र शहरमा ५ सय कोरोनाका सक्रिय संक्रमित भेटिए सहजै निषेधाज्ञा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइयो। त्यसपछि देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा भयो। बाँकेबाट सुरु भएको निषेधाज्ञा एक महिना पूरा हुँदा नहुँदै सिंगै देश ठप्प हुन पुग्यो। ७५ जिल्लामा निषेधाज्ञा भयो। सङ्क्रमणले न त तराई भन्यो न त पहाड नै। हिमाली जिल्लाहरू पनि अछुतो रहेनन्। भारतीय सीमाना जोडिएका जिल्ला मात्र होइन, चीनको तिब्बतसँग जोडिएका जिल्ला यसको चपेटामा परे।
तर, दुई जिल्लालाई भने निषेधाज्ञाले दोस्रो लहरमा छुँदै छोएन। ती दुई जिल्लामा संक्रमितको संख्या बिस्तार भएन। हिमाल पारीको जिल्ला मनाङ र मध्य पहाडको खोटाङ निषेधाज्ञा नभएका जिल्ला हुन्।
मानिसको बसोबास कम भएको र सडक यातायातको सञ्जाल असाध्यै न्युन भएको जिल्ला हो मनाङ।
'दोस्रो लहर आउन सक्छ भन्ने हामीले जानकारी पाएका थियौं। त्यसैले पहिले देखि नै मानिसमा जनचेतना फैलाउने देखि विभिन्न कामहरू गर्दै आएका थियौँ। त्यसैको परिणाम पनि होला हाम्रो जिल्लामा अहिलेसम्म निषेधाज्ञा गर्नु परेको छैन,' मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने।
अहिले मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० जना रहेका छन्। यो पनि शुक्रवार एकैचोटी १४ जना थपिएर हो। देशमा सङ्क्रमितको सङ्ख्या औशतमा दैनिक ८ हजार देखि ९ हजार बिच धेरै समय रहिरह्यो। सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख नाध्यो। तर, मनाङमा अहिलेसम्म सबैभन्दा धेरै सक्रिय संक्रमित भएको ६८ जना मात्र हो।
'काम गर्न आएका मजदुरको परीक्षण गर्दा थपिएको हो। नत्र हाम्रो जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एकदम न्यून नै रहेको छ,' सीडीओ लामिछानेले भने।
मनाङमा अहिले पनि पसलहरू निर्वाधरुपले खुलिरहेको छ। तर, जिल्ला प्रवेश गर्न भने रोक लगाइएको छ। गाउँ फर्किने र कार्यालय आउने मानिसका लागि क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम बनाइएको छ। प्रहरीको सक्रियता बढाएर स्वास्थ्य मापदण्ड अपनाइएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।
दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मनाङमा २ जनाको मृत्यु भएको छ। उनीहरूको पोखरमा उपचारको क्रममा मृत्यु भएको हो। जसमा एक पुरुष र एक जना महिला रहेका छन्।
त्यस्तै, निषेधाज्ञा नभएको अर्को जिल्ला हो खोटाङ। प्रदेश नम्बर १ मा पर्ने खोटाङमा निषेधाज्ञा नभए पनि अहिले बजार, बैङ्क तथा यातायात चलेका छैन। स्वतस्फुर्त रूपमा चेन ब्रेक गर्न यस्तो गरिएको खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।
खोटाङमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ६८ रहेको छ। दोस्रो लहरको कोरोना संक्रम फैलिएदेखि हालसम्म १ हजार १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या अन्य जिल्लाको तुलनामा कम देखिन्छ। जसमा ७ सय २१ जना होम आइसोलेनमा छन्। २२ जना सामान्य उपचारको लागि स्वास्थ्य संस्थामा रहेका छन्।
'हामीले व्यापक रूपमा परीक्षण बढाएका छौँ। जनचेतना र परीक्षणले गर्दा पनि हाम्रो जिल्लामा संक्रमित कम भएको हो,' प्रमुख जिल्ला अधिकारी शर्माले भने।
खोटाङ जिल्लामा २ सय ३४ वटा बेड रहेका छन्। भेन्टिलेटर १ वटा छ। अहिलेसम्म सङ्क्रमणबाट ग्राहो भएर एक जना पनि भेन्टिलेटरमा गएका छैनन्। ७ वटा एम्बुलेन्सलाई थप गरेर ११ वटा पुर्याइएको छ। थप गरिएको ४ वटा एम्बुलेन्स भने खोटाङ यातायात व्यवसायी सङ्घको सहयोगमा जीपलाई रुपान्तरण गरिएको हो।
